‘अरुले असम्भव छ भनेको निर्वाचन गराएँ’

२०७७ पौष २३ बिहीबार १७:०३:०० मा प्रकाशित

कर्मयोगीको कुरा गर्दा मलाई एउटा कथाको याद आयो — कुनै जंगलमा ठूलो आगो लागेको थियो । त्यो आगलागीबाट वच्न जङ्गलका सबै जनावरमा भागाभाग भयो । जंगलको राजा सिंह पनि बेतोडसँग भाग्दैगर्दा एउटा कुनै सानो चरो आगोको लप्कोतिर हान्निदै उडेको देख्छ । सबै जनावर आगोबाट बच्न भाग्ने, चरो भने आगोतिरै हान्निएको देख्दा डढेलोप्रति सचेष्ट गराउँदै उसले चरोलाई पनि भाग्न सुझाव दिन्छ । चरोको कुरो अर्कै रहेछ — चरो त चुच्चोमा पानी बोकेर आगो निभाउन पो हिँडेको रहेछ । चराको मूर्खताप्रति सिंह हाँस्यो तर चराको जवाफले उसलाई एकपटक सोच्न वाध्य तुल्यायो—चराले जवाफ दियो— “परिणाम आफ्नो ठाउँमा छ, प्रयाश मेरो हो ।” 

बद्री पहाडीको योगदानलाई सोही चराको विम्वात्मक श्रुतिसँग जोड्न चाहान्छु । वास्तवमा जताततै दुषित रहेको बर्तमान समाजमा यस्तै निष्ठावान र निस्वार्थ चरोको अपेक्षा यो मुलुकले गर्दैछ— निस्वार्थ कर्मवीरको खाँचो झनै खट्किएको छ ।

एसएलसी पास गरेपछि दुर्गमको प्राथमिक विद्यालयको शिक्षकबाट १५ बर्षको उमेरदेखि शुरु भएको मेरो सार्वजनिक जीवनमा देशभित्रको सवैभन्दा पछिल्लो जिम्मेवारी द्वन्द्व–ब्यबस्थापनसँग जोडिएको २०६४ को पहिलो संबिधानसभा निर्वाचन सम्पन्न गरी मुलुकलाई निकास दिनु रहेको थियो । त्यो निर्वाचन कति जटिल र कठीन अबस्थामा सम्पन्न हुन सक्यो, सो कुराको विश्लेषण गर्न यहाँ उचित ठान्दिन, जुन इतिहासको बिषय बनिसकोछ । फेरि पनि, त्यो परिस्थितिका सुक्ष्म पूर्वावलोकन आजको यस क्षणमा समेत सान्दर्भिक रहेकोले त्यसको केही कुरा भन्न चाहान्छु ।

त्यो निर्वाचन अरु नियमित निर्वाचन जस्तो कसले सरकार बनाउने भन्नेमा मात्र सीमित थिएन । कुनै दलको हार–जीत भन्दा पनि देशलाई शान्तिको बाटोमा लाने कि द्वन्द्वमै फर्काउने भन्ने पेचिलो सवालमा केन्द्रित थियो । सवै खालका प्रतिकूल पृष्ठभूमिमा नेपालभित्र वा बाहिरी संसारले समेत चुनाव असम्भव छ भनिरहेको अबस्थामा मेरो नेतृत्वमा रहेको निर्वाचन आयोगले सवैको साथ र सहयोगमा सफलतापूर्वक निर्वाचन सम्पन्न मात्र गरेन, अपितु, यो निर्वाचनले दशक लामो द्वन्द्वको अन्त समेत गरायो । नेपालमा समावेसी प्रतिनिधित्वको नयाँ इतिहास स्थापित ग¥यो । निर्वाचित निकायलाई मुलुककै प्रतिबिम्बित हुनेगरी समावेशी बनाउन तथा सदियौंदेखि प्रतिनिधित्वबाट वञ्चित रहेको लिङ्ग, वर्ग, समूह, क्षेत्रको समानुपातिक प्रतिनिधित्वको जग बसाउन पनि सक्यो । नयाँ इतिहास निर्माणको क्रममा आफ्नो पक्षबाट जो सकेको भूमिका निर्वाह गर्न पाएँ, त्यसमा गौरव लाग्दछ । साथै, ती दिन सम्झदा कहिलेकाहीँ सपना देखे जस्तो पनि लाग्दछ ।

यो पदमा मेरो नियुक्ति भएपछि मसँग दुई भिन्न बिकल्प थिएः पहिलो– सरकारले निर्वाचनसम्बन्धी कानून, प्रणाली र तिथिमिति तोकेपछि तदनुसार प्राबिधिक तयारी गरी निर्वाचन सम्पन्न गर्ने । दोश्रो– जताततै व्याप्त प्रतिकूलताको पृष्ठभूमिमा निर्वाचनको वातावरण निर्माणका लागि थप प्रोएक्टिभ भूमिका पनि निर्वाह गर्ने । दोस्रो थप भूमिका पनि म आपैंmले रोजेँ जुन जोखिमपूर्ण र कठीन थियो । नियुक्ति भएको दिनदेखि नै प्रणाली तथा कानून–निर्माणका साथै निर्वाचन–तिथि तोक्नको लागि सरकारलाई निरन्तर दवाब दिनुप¥यो । दल तथा सरकारकै अलमलले संविधानद्वारा तोकिएको मितिमा चुनाव नहुने परिस्थिति देखिएपछि अब यो सम्भब छैन भन्न अग्रसर हुनुपर्यो । त्यतिखेर मिडियाले हेडलाइन नै बनाएका थिए— ‘राजनीतिक दललाई भन्दा निर्वाचन आयोगलाई निर्वाचनको हतारो’ भनेर !

राष्ट्रलाई अप्ठेरो परेको बखत पाएको यो जिम्मेवारीको निर्वाह गर्दा संबिधान र प्रचलित कानूनबाहेक कसैलाई पनि चिन्न जरुरी ठानिएन । एक किसिमको मूख्र्यायाइँ नै जस्तो देखिने गरी तत्कालीन कार्यबाहक राष्ट्र प्रमुखको समेत भूमिकामा रहेका प्रधानमन्त्री लगायत सवै दलका शीर्ष नेतृत्वलाई पटकपटक आयोगमा बोलाई मिडियालाई साक्षी राखी समयमै आ–आफ्नो क्षेत्रबाट निर्वाह गर्नुपर्ने काम सम्पन्न गर्न सम्झाउने वा नगरेमा परिणाम भोग्न चेतावनी दिने समेतका काम भए निर्वाचनको बाताबरण बनाउने सो क्रममा । त्यस्तै, निर्वाचन कानून बनाउँदाका बखत पनि संसदीय समितिमा निर्वाचित निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न निकै रस्साकस्सी गर्नुप¥यो  । परिणाममा समावेसी सुनिश्चित नहुने कानूनले समस्या समाधान नहुने र त्यस प्रकृतिको चुनावले मुलुकलाई फेरि द्वन्दमा धकेल्ने कटु यथार्थ प्रष्ट थियो । त्यस्तो कानूनको आधारमा गरिएको चुनावको औचित्य नभएको प्रष्ट्याउँदै आपूmबाट त्यस्तो निर्वाचन हुन नसक्ने, बरु राजिनामा दिएर अर्कै टीम नियुक्तिका लागि मार्गप्रशस्त गरिदिनेसम्मका अडान दोह¥याउनु परेको थियो ।

मूलतः निस्पक्ष, तटस्थ र पूर्ण पारदर्शी हुँदै सवैलाई साथ–साथ लिएर गरिएका प्रयाशले नै त्यस्तो कठीन परिस्थितिलाई सहज रूपमा व्यवस्थापन गर्न सकियो । सबैको अपनत्वको अनुभूत हुने वातावरण निर्माण, बोलेका कुरालाई परिणामबाट देखाउने काम आफूभन्दा माथि उठेर गरिएको प्रयत्न तथा खासगरी संस्थाको उच्च शाख राख्न गरिएका प्रयाश पनि यस सफलताका पक्ष थिए । आम नागरिकको मन जित्न नागरिकसँग नजिक हुन जरुरी छ भन्ने मेरो अटूट मान्यता थियो ।

निर्वाचन संसारभरि नै आलोचना सहनुपर्ने काम हो भनिन्छ । थोरैले जित्छन्, हार्ने धेरै हुन्छन् । जित्नेले जितिहाले, हार्नेले किन हारेँ भनेर स्वमूल्याङ्कन नगरी आफूलाई आयोगले हराएको भन्ने पगरी गुथाई दिन्छन् । २०६४ को निर्वाचनबाट यो तथ्यको अनुभव म स्वयंले गरेँ । निर्वाचनका दिन मतदान नसंिकदैदेखि देश–बिदेशबाट यस्तो असम्भव काम पूरा गराएको भन्दै बधाइ दिनेको तँछाड–मछाड थियो । आयोगको तारिफ गर्नेको ओइरो थियो । हामीलाई धन्यवाद ज्ञापन गर्न भ्याइनभ्याई थियो । अनि, जब परिणाम आउन थाल्यो, तब धेरैको भाषा, बोली र व्यवहारमा यूटर्न आउन थाल्यो । मलाई कुनै नौलो लागेन, आफ्नो प्रतिवद्धता पूरा गर्न सकेकोमा म सन्तुष्ट थिएँ ।

यो पदमा मेरो ६ बर्षको नियुक्ति थियो तर उपनिर्वाचन लगायतका सवैकाम सकाएर सो निर्वाचनबाट समेत प्राप्त अनुभवलाई समेटी निर्वाचनको समुच्च पाटोमा सुधार गर्न ५ वर्षे दीर्घकालीन रणनीति तथा त्यसलाई कार्यान्वयन गर्ने मोटामोटी स्रोत र साधनको समेत ब्यवस्थागरी साढे तीन वर्ष कार्यकाल बाँकी छँदै राजिनामा गरी पदबाट अलग भै  स्वतन्त्र जीवन निर्वाह गर्ने बाटो रोजें । नेपालको समकालीन पदीय दुनियाँमा यसरी यति ठूलो पद त्यागेर वीचैमा बहिर्गमनको बाटो रोज्नु एउटा पागलपन नै थियो । पद नभए पनि सम्मानका साथ वाँचिन्छ भन्ने सन्देश मेरो अन्तरात्माले दिई नै रह्यो र सोही प्रेरणामा मैले पद त्यागेँ ।

माथिल्लो पदमा पुगेको मानिस सर्वज्ञ हुन्छ र उसले थप अध्ययन गर्नुपर्दैन भन्ने सोचले जकडेको मान्यताको विपरीत मैले यो बहिर्गमनसँगै थप पढाइको कठीन बाटो रोजेँ । यो पद छाडेर मलाई घाटा भएन, बरु व्यावसायिक जीवनको अर्को आयामको उजागर भयो । परिणामतः विश्वशान्ति तथा निर्वाचन शुद्धीकरणको अभियानको भूमिकामा संसारका बिभिन्न भागमा संलग्न हुने मौका अहिलेसम्म नै मिलिराखेको छ । विश्वप्रशिध्द शान्तिदूत र शान्ति र स्थिरताका संबाहकहरुसँग सहकार्य गर्ने सिक्ने मौका मिलो । यो संलग्नताले मलाई अन्तर्राष्ट्रिय समुदायसँग परिचित मात्र गराएन कि, कतिपय अवसरमा नेपाललाई पनि चिनायो ।

यसै क्रममा समसामयिक नेपाली परिवेश र परिस्थितिलाई हेर्न सहायक हुने केही प्रतिनिधिमूलक पात्रको सामान्य चित्रण गर्न चाहन्छु– 

जुन बखत नेपालमा भूतपूर्व पदाधिकारीले के पाउने, के नपाउने वा थोरै–धेरै जस्ता विवाद उत्कर्षमा थिए, त्यो समयमा म जेनेभामा स्वीट्जल्र्यायाण्डकी पूर्व राष्ट्रपति रुथ डेरिफुस लगायत अन्य पूर्व सरकार प्रमुख वा राष्ट्र प्रमुखसँगको एउटा कार्यक्रममा थिएँ । कुनै एक दिन, साँझको कार्यक्रम सकिएपछि उनै पूर्व राष्ट्रपति र म सँगै निस्कियौं । बाहिर आएपछि, ऊनीसँग बिदा हुनुअगाडि एउटा सामान्य शिष्टाचारवश उनी गएपछि बाटो लाग्छु भनेर उनीसँगै अडिएँ । पूर्व राष्ट्रपतिको हैसियतले उनलाई लिन सरकारी गाडी आउला भन्ने मैले ठानेको थिएँ । त्यहाँ भएको एकैछिनको भलाकुसारीपछि पो म छक्क परेँ– उनी त्यहाँबाट १० मिनेट पैदल हिँडी २० मिनेटको रेलयात्राबाट घर जाने रहिछन् । मेरो जिज्ञासामा उनले त्यतिखेर आपूm सार्वजनिक जिम्मेवारीमा नभएकोले जनताको राजस्वको उपभोग गर्ने अधिकार पनि आपूmमा नभएको कुरो प्रष्ट पारिन् । स्वीटजरल्याण्ड जस्तो अति सम्पन्न मुलुकले पूर्व राष्ट्र प्रमुखहरुलाई नसकेर यो सुबिधा नदिएको पक्कै होइन !

आयरल्याण्डकी पूर्व राष्ट्रपति मेरी रविन्सन र म एउटा मिसनमा सह अध्यक्षको हैसियतले संलग्न थियौं । उहाँको सादगीपन, सरलता, सामान्य जीवन, गहन अध्ययन र रहन सहन देख्ता उनी पूर्वराष्ट्रपति हुन् भनेर कल्पनासम्म पनि गर्न नसकिने पाउँथें म । अरुलाई अह्राउने हैन, जुनसुकै काम पनि आफैँले गर्न अग्रसर हुने न कुनै अहम्, न कुनै बडप्पन ! अन्तरात्मादेखि नै त्यसै श्रध्दा जाग्ने व्यक्तित्व थियो उनको ।
 
यो क्रममा मैंले सर्वाधिक आदर गरेका र सहकार्य समेत गरेका स्वर्गीय कोफी अन्नानको विषयमा केही थोरै नै भए पनि यहाँ उल्लेख गर्न चाहन्छु– अन्नानलाई म एउटा आदर्श पात्रको रुपमा हेर्दछु, जस्ले मलाई विश्वास गरेर उनको टीममा समावेश भई केही योगदान दिने मौका पनि दिए । उनमा सरलता, सहजता, विवेचनाको अद्भूत क्षमता जस्ता अनेकौं दुर्लभ गुण उदाहरणीय छन् । आफ्नो सुख र सुविधाको वास्ता नगरी अरुको समस्या र दःुखलाई प्राथमिकता दिने उनको नैसर्गिक प्रकृति नै थियो । सधैं विश्व–शान्तिका वारेमा सोच्ने अन्नानलाई राष्ट्र संघको महाचिवबाट निवृत्त भएपछि आफ्नो मुलुकको राष्ट्रपतिको पद स्वीकार गर्न अनुरोध गरिएको थियो । यस्तो उत्कृष्ट अवसरलाई पनि अत्यन्त सहजताका साथ त्यागी सामान्य नागरिकका हैसियतले विश्व–शान्तिको काममा आजीवन आफूलाई समर्पण गरे उनले । त्यागीको खडेरी परेका बखत त्यस्ता नेताको सम्झना मात्रले पनि केही शीतलता   दिन्छ ।

बिभिन्न मुलुकमा काम गर्दा वा यात्राको दौरानमा कतिपय सरकार प्रमुखले यात्राको ब्यवस्थापन आफैं गरेको, जहाजमा सामान्य नागरिक सरह जहाँ जुन सीट खाली छ त्यसैमा बसेको, सार्वजनिक सवारी प्रयोग गरेको, आफ्नो ब्यक्तिगत काममा सरकारी साधन र श्रोत प्रयोग नगरेको वा आफ्ना सामानको आफैंले बोकेको वा व्यवस्थापन गरेको जस्ता कुरा सम्झँदा हामी र हाम्रामा त्यो चेत छिटो आवस् भनेर प्रार्थना गर्ने बाहेकको विकल्प के नै छ र ?

हाम्रोमा जीवनको प्रत्येक पाइलामा राजनीतिक दलसँग आबध्द नभई बाँच्न मुस्किल पर्ने मात्र होइनकि मर्दाका मलामी समेत नपाउने जस्तो अवस्था छ । हाम्रो जस्तै प्रजातान्त्रिक प्रणाली सयौं बर्षदेखि प्रयोग गर्दै आएका मुलुकमा निर्वाचनको समय वा विशेष कारण परेको बखतबाहेक अरु सामान्य अबस्थामा दलहरु प्राय अदृश्य अवस्थामा हुन्छन् शीतनिद्रामा सुतेका सर्प जस्तै । सन् २००९–१० ताका हार्वार्ड विश्वविद्यालयमा बिद्यार्थी भएर बस्ता त्यहाँका प्रमुख दलका नेता वा अध्यक्ष को छन् भनेर सोधनी गर्दा ९९ प्रतिशत अमेरिकी साथीबाट थाहा छैन भन्ने जवाफ मिल्थ्यो ।

त्यस्तै, आफ्नो कार्यकाल सकिएपछि त्यस्ता पदाधिकारी फेरि तेही सत्ता र राजनीतिक तानामानामा नलागी आ–आफ्ना व्यवसाय सम्हाल्न वा निवृत्त जीवनतर्फ लागेको देखें । जटिल अवस्थामा बाहेक आफूपछि सत्तामा आएका दल वा ब्यक्ति बिशेषका बारेमा टीका टिप्पणी गरेको विरलै सुन्न, देख्न पाइन्छ । दुःखका साथ भन्नु पर्छ, केही अपबादबाहेक हाम्रो नेतृत्व नाङ्गो बादशाहको स्थितिमा पुग्दासम्म सत्तामै रमाउन खोज्दछ ।

क्यानडाका जोइ क्लार्क ४० बर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए तर एक बर्ष नबित्तै प्रधानमन्त्री पदबाट हातधुन पुगे । त्यसपछि उनी कहिल्यै त्यो पद पुनप्र्राप्तिमा लागेनन्, बरु आफूलाई अध्ययन, अध्यापन र अन्तर्राष्ट्रिय शान्तिको कार्यमा लगाएर अहिले ८१ बर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । त्यति कलिलै उमेरमा प्रमबाट बाहिरिएपछि फेरी त्यसमा किन चाहना भएन भन्ने मेरो जिज्ञासामा क्षमतावान् र योग्य व्यक्ति मुलुकले पायोभने आपूm किन वाधक बन्ने भन्ने उनको जवाफ थियो । बिकसित मुलुकको मात्र होइन, अफ्रिका लगायतका अन्य गरीव मुलुकका पनि यस्ता उदाहरण छन् । प्रार्थना गरौं, ढिलो चाँडो हाम्रो नेतृत्वबर्गमा पनि यस्तो भावना जागृत हुन सकोस् !

वामपन्थी आन्दोलनबाट राष्ट्रपति भएका उरुग्वेका पूर्व राष्ट्रपति होज मजिकाले सरकारी निवास मात्र होइन, सवै खालका शान सौकत त्यागेर आफ्नो पूर्ववत् अवस्थालाई निरन्तरता दिने उदाहरण प्रस्तुत गरेको समाचार हामीमध्ये धेरैलाई ज्ञात छ । 

हाम्रै सार्कको कुरा गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्रीका लागि भनी व्यवस्था गरिएका महङ्गा गाडी र हेलिकप्टर लिलाम गरेर सोको पैसा राजस्वमा जम्मा गराए । स्वेडेन जस्तो सम्पन्न मुलुकका प्रधानमन्त्री सामान्य एउटा अपार्टमेण्टलाई आफ्नो सरकारी निवास बनाउन मै खुसी देखिन्छन् ।

अगुवा वा विशेष पात्रको व्यवहार र भूमिकाले कस्तो फरक पार्छ भन्ने यी केही उदाहरण मात्र हुन् ।

हालैको अमेरिकी राष्ट्रपतिको निर्वाचन त्यही रहेर यो निर्वाचनको बिबिध पाटो नजिकैबाट हेर्ने र बुझ्ने मौका पाएँ । त्यसको पनि एउटा प्रतिनिधि विम्व यहाँ उल्लेखनीय ठान्दछुः निर्वाचन नजिकै भएको सन्दर्भमा सर्वोच्च अदालतको रिक्त न्यायाधीश नियुक्त गर्न हुन्न भन्ने तीब्र बिरोध हँुदाहँुदै पनि ट्रम्पले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त मात्र गरेनन्, आफ्नो मान्यताको पक्षमा बहुमत पनि पु¥याए । परेको बेलामा आपूmले नियुक्ति गरेको न्यायाधीशले आपूmलाई सहयोग गर्ला भनेर उनले यो नियुक्तिमा हतार गरेका थिए । निर्वाचनपछि मतगणनाका क्रममा ऊनले गैर प्रजातान्त्रिक अनेकौं हर्कत देखाएको कुरा सर्वत्र जाहेरै छ । आफ्नो पराजय हुन थालेको थाह पाउँदै जाँदा केही राज्यको मतको बैधतालाई चुनौती दिंदै उनको तर्पmबाट सर्वोच्च गुहारियो । अदालत आप्mनै पक्षमा छ भनेर ट्रम्प ढुक्क देखिन्थे तर अदालतले रत्तिभर पनि ढिला नगरी ट्रम्पको माग अस्वीकार गरिदियो र प्रजातन्त्रको मर्म बचायो । अदालत संविधान, कानून र प्रजातन्त्रको पक्षमा उभियो, ट्रम्प हेरेको हेरै भए । यसले देखाउँछ, कुनै बखत निर्वाचित पदाधिकारीमा सनक चढेर सर्वसत्तावादी हुन खोज्ने प्रवृत्तिलाई दुत्कार गरी प्रजातन्त्रको मर्म मर्न नदिन अदालतले कसरी भूमिका खेल्न सक्तछ भन्ने । स्मरणीय छ कि यतिखेर हाम्रो अदालत यस्तै परीक्षाको घडीमा छ ।

अब थोरै नेपाल सन्दर्भका कुरा गरौं । बिगत केही दशकको दौरानमा हामीले अत्यन्त कठीन र अस्थीर राजनीतिक अवस्थामा समेत धैरै सकारात्मक उपलब्धी हासील गरेका छौं । मुलुकमा पटक्कै केही नभएको होइन । हाम्रा आर्थिक वा सामाजिक सूचकाङ्क द्वन्द्वको समयमा समेत सकारात्मक रहन सके । शिक्षा र स्वास्थ्यको छेत्रमा हामीले ठूलै फड्को मारेका छौं । मरुभूमीकरणको बाटोमा लागेको मुलुकलाई हरियालीयुक्त बनायौं । भौतिक पूर्बाधारको संजालभित्र करिवकरिव मुलुकको सवै भागलाई जोड्ने अबस्थामा पुग्न लागेका छौं । नयाँ पुस्ताको नेतृत्वदायी भूमिकामा अनेकौं नवीनतम सोचले आकार ग्रहण गरी सेवा र उत्पादनका क्षेत्रमा महत्वपूर्ण योगदान दिन थालेको छ । आम नागरिकमा जागरणको स्तर ह्वात्तै बढेको छ । नागरिक समाज शसक्त बनेको छ । समावेसी प्रजातन्त्रलाई अभ्यासमा ल्याउन सकिएको छ । मुलुकका सामू देखा परेका ठुल्ठुला चुनौतीको आफैले ब्यबस्थापन गर्ने हैसियतमा रह्यौं । सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पु¥याउन सक्यौं । यी र यस्तै तमाम उपलब्धीका बाबजूद पनि मुलुकमा ब्याप्त कुशासन र नेतृत्वको गैर जिम्मेवारपनाले गर्दा यी उपलब्धी पनि छायामा परेका छन् । गरिवी र बेरोजगारीले मुलुक आक्रान्त छ । अधिकांश युवा यो मुलुकमा भविष्य नदेखेर विदेशिन बाध्य छन् । जसलाई भेटे पनि पहिलो भनाइ नै मुलुक त खत्तम भयो भन्ने बाक्यांशबाट कुराकानीको थालनी हुन्छ । निराशा, असन्तुष्टी र आक्रोसको ज्वाला क्रमशः थामी नसक्ने मोडतर्फ लागेको संकेत देखापर्दछ ।

यसो हुनुमा मुख्यतया माथिल्लो तहको र त्यसमा पनि राजनीतिक बृत्तको जिम्मेवारीमा रहने व्यक्तिले जवाफदेही नबनी आपूmले जे गरे पनि हुने भन्ने प्रवृत्तिको विकास नै प्रमुख कारक मानिन्छ । बिना लगामको घोडा जस्तै जुनसकै अपराध गरेपनि दण्डित हुनु नपर्ने जस्ता प्रवृत्ति मौलाए । भ्रष्टाचार र भ्रष्ट आचरणको सम्मान तथा, इमान्दार र नैतिकबानको चीरहरण हुनु तथा निष्ठावान् नागरिकले अपमानित हुनुपर्ने अबस्था पनि यहाँको दुर्नियति हो । सरकार सवै जनताको होइन, केवल दल वा गुटको मात्र भएको अनुभूत आम नागरिकमा पाइन्छ । जवाफदेहिता र पारदर्शीता नीतिमा मात्र सीमित हुनु, दण्डहीनताले प्रश्रय पाउनु, कानूनी राज्यको धज्जी उडाइनु, असल शासन भाषणमा मात्र सीमित रहनु आदि यहा“का संस्थागत अभ्यास भइसके । हरेक क्षेत्रको अति राजनीतीकरण, प्रजातन्त्रको खम्बाका रुपमा रहेका संस्थाहरूको अति क्षयीकरण तथा तेजोबध समेत यो मुलुकको अवनतिको कारण हु“दैछ । सत्ता, शक्ति र पैसा भए जे गर्दा पनि हुन्छ भन्ने मानसिकता व्याप्त छ । राज्य संचालनमा ननस्टेट एक्टर्सहरुको नियन्त्रण यो मुलुकका लागि अर्को दुर्भाग्य हो । यस्ता अबस्थाले आम नागरिकमा कल्पनै गर्न नसकिने नैराश्यता बढाएको छ । अन्तर्राष्ट्रिय स्तरमा हामी ज्यादै बदनाम भएका छौं यसैले हाम्रो शाख पनि गिरेको छ । ब्यबस्था र ब्यक्तिको परिवर्तन भए पनि उही मानसिकताको निरन्तरता नै यी परिणामको कारक तत्व हो भन्ने मेरो बुझाई छ । त्यो समयको मीठो कल्पना र अहिलेको अवस्था हेर्दा मनमा अनेकौं प्रश्न उठ्ने गर्छन् । के यस्तै समय देख्नका लागि त्यो प्रयाश गरिएको थियो त ?

गतिलो नेतृत्व यो मुलुकले पाउने हो भने मुलुकको चौतर्फी सुधार गर्न त्यति गारो पनि देख्तिन म । संसारमा हामी जस्ता बिरलै मुलुक छन्, जहाँ एउटा सानो भूगोलमा अपार प्राकृतिक श्रोत, साधन पाइन्छन् । विश्वका दुई ठूला बजारका वीचमा छौं हामी । नेपालप्रति सारा संसारको माया छ । नेपालको भलो भएको देख्न र त्यसमा सहभागी हुन चाहनेको संख्या उल्लेख्य छ । नेतृत्वले बाटो बिराउन खोजे पनि निर्वाचन प्रकृयाबाट सत्ता हस्तान्तरणको सुन्दर पक्ष हामीले अभ्यास गर्दै आएका छौं । आपसमा जतिसुकै कटुतापूर्ण व्यवहार भए पनि हाम्रा राजनीतिक दलका नेताहरूवीच आपसी भेटघाट, छलफल र सम्वादबाट समस्याको सम्बोधन गर्न अभ्यस्त छन् । नयाँ र युवा पुस्ताले विविध क्षेत्रमा आशाका किरण देखाएका छन् । राज्य सञ्चालनका लागि चाहिने न्यूनतम संस्थागत संरचना मुलुकभर रहेका र कृयाशील पनि छन् । नागरिक जागरणको पाटो सशक्त छ, युवा जनसंख्याको बाहुल्यता रहेको छ । सवैभन्दा ठूलो कुरा भनेको भरपर्दो र बिश्वास गर्न लायकले नेतृत्व लिने अवस्था पाएमा उसको नेतृत्वमा समाहित भई मुलुकको बिकासमा प्रतिबध्दतापूर्वक लाग्ने नेपालीको ठूलो बिशेषता छ ।

माथिका यावत् धरातलीय यथार्थमा अब, यतिखेर मुलुकमा एउटा इमान्दार, आफूभन्दा माथि उठेर सोच्न र काम गर्न सक्ने, नेपाल र नेपालीलाई उच्च प्राथमिकतामा राखी सुशासन प्रत्याभूत गर्ने भरोसामन्द कर्मयोगी नेतृत्वको खाँचो छ । यसका लागि समेत हाम्रा केही संरचना, प्रकृया र प्रणालीमा रहेका अबरोध हटाई सुशासनको बाटोमा लैजाने प्रतिवद्धतासहित सुधारको कदम अविलम्ब उठाउनु अपरिहार्य भइसकेको छ । हाम्रो आफ्नै अनुभवले देखायो कि– ब्यवस्था वा व्यक्ति परिवर्तनमात्र प्रयाप्त रहेनछ, पात्रको प्रबृत्ति ठूलो रहेछ । देशमा ब्याप्त अब्यवस्थाको सुधारका क्षेत्र धेरै छन् तापनि तत्काल प्राथमिकता दिनुपर्ने थोरै कुराको संकेत गर्न चाहन्छु ।

हालको निर्वाचन प्रणाली र प्रकृया सक्षम, उर्जाशील, युवा नेतृत्वले शासकीय नेतृत्व पाउन सहयोगी छैन, त्यस्तै, हालको निर्वाचन प्रणाली मुलुकले धान्नै नसक्ने महङ्गो एवं क्षेत्रमुखी रह्योे, यसमा तत्काल सुधारको खाँचो छ । त्यस्तै, सवै क्षेत्रलाई जिम्मेवार बनाउने संसद स्वयं सारै कमजोर रह्यो, दलको छायाँमा विलायो । खासगरी मतदाता तथा नेतामुखि हालको अबस्थाले संसद र सांसदलाई कमजोर बनायो, तसर्थ त्यस्तो निर्वाचन प्रणाली परिबर्तनका साथै, सांसदबाट मन्त्री नबनाउने र दलको संसदमा न्यून नियन्त्रणको ब्यवस्था गर्न आवश्यकता देख्तछु ।

त्यस्तै, राजनैतिक दल नुध्रिएसम्म सुशासन सपनामात्र रहने भयो, त्यसैले दलभित्रैको सुशासनको पूर्ण प्रत्याभूति, सोको पालनाको अनुगमन तथा कार्वाहीको लागि थप कानूनी व्यवस्था गर्न र समाजका हरेक क्षेत्रमा भएको अति राजनीतीकरणको अन्त्य गर्न–गराउन जरुरीछ ।

प्रजातन्त्रका आधारस्तम्भ तथा सन्तुलन र नियन्त्रणको भूमिकामा रहेका संवैधानिक आयोग, निकाय वा अदालतले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्ने गरी त्यस्ता संस्थामा सक्षमहरुको नियुक्ति हुने निश्चित गर्न तीनको छनौट प्रणलीमा सुधार, र मुलुकमा ब्याप्त विसङ्गतिबाट भावी पुस्तालाई बचाउन सदाचार र नागरिक कर्तव्य विषयक शिक्षा प्राथमिक तहदेखि नै पाठ्यक्रममा समावेश गरी लागू हुनुपर्दछ ।

यी र यस्तै सुधारका लागि समुच्च राष्ट्र र खासगरी नागरिक समाजले उच्च दवावमूलक भूमिका बढाउनुु पर्ने देख्दछु । 

(निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त पोखरेलले मानव अधिकार तथा शान्ति समाजले स्थापना गरेको ‘कर्मयोगी बद्री पहाडी समाज सेवा पुरस्कार’ ग्रहण गरेपछि २०७७ पुस २२ गते व्यक्त गरेको बिचारको सम्पादित अंश/ तस्बिर साभार- माईरिपब्लिका)
 

ताजा खबर