समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

२०७७ पौष १८ शनिबार ०९:५८:०० मा प्रकाशित

– विसं २०३७ सालमा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ ।


केन्द्रको वार्षिक साधारणसभाका अवसरमा शुक्रबार केन्द्रीय कार्यालय विशालनगरमा आयोजित कार्यक्रममा भौतिकतामा डुबेको समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन विभिन्न गतिविधि गर्ने प्रस्ताव पारित भएको हो । सो अवसरमा आध्यात्मिक चिन्तक एवं केन्द्रका आजीवन सदस्य डा चिन्तामणि योगीले भौतिक सुख सुविधालाईमात्र ध्यान दिने र आध्यात्मिक उन्नति प्रगतिमा वास्ता नगर्ने प्रवृत्ति मानिसमा बढ्दै जाँदा तनाव बढेकाले समाजलाई आध्यात्मिकरुपमा डाेर्याउन केन्द्रले नेतृत्वदायी भूमिका खेल्ने बताए ।


व्यक्ति व्यक्तिका तनावले समाजमा विभिन्न किसिमका नकारात्मक प्रभाव पार्ने गरेकाले व्यक्तिलाई सकारात्मक बनाउन आध्यात्मिक शिक्षा, योग, ध्यानजस्ता गतिविधिलाई अघि बढाइनुपर्नेमा उनले जोड दिए । केन्द्रका अध्यक्ष ज्योत्स्ना राज्यलक्ष्मी थापाले समाजलाई आध्यात्मिकरुपमा डाेर्याउने शिक्षा दिने उद्देश्यले धर्म, संस्कृति, अध्यात्मलगायत सकारात्मक भाव बोकेका पुस्तक राखेर पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिइन् । पुस्तकालयसँगै योग अभ्यास, प्राणायाम, ध्यान, भक्ति सङ्गीत लगायत गतिविधि गर्ने गरी साधारणसभाले नीति पारित गरेको पनि उनले बताइन् ।


पुस्तकालय स्थापनाका लागि केन्द्रले आध्यात्मिकलगायत सकारात्मक सन्देश दिने पुस्तक सङ्कलनसमेत शुरु गरेको छ । २२ जना आजीवन सदस्य रहेको केन्द्रको उद्देश्य मन पर्नेका लागि आजीवन एवं साधारण सदस्यता खुला गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।


विसं २०३७ मा भारतस्थित ऋषिकेशका प्रसिद्ध आध्यात्मिक गुरु शिवानन्दले हाल केन्द्रीय कार्यालय रहेको स्थलमा नेपालेश्वर मन्दिर स्थापना गरेका थिए । मन्दिर स्थापना गराउन केन्द्रकी संस्थापक अध्यक्ष स्व भेष राज्यलक्ष्मी सिंहले शुरुमा १० आना जग्गा दान दिएकी थिइन् । विसं २०३७ देखि नै नेपालेश्वरसहित राधाकृष्ण, हनुमानलगायत भगवानको मन्दिरमा पुजारी राखी नित्य पूजा आराधनासमेत हुँदै आएको छ ।


विसं २०६८ मा संस्थापक अध्यक्ष सिंहले थप एक रोपनी जग्गा र त्यसमा बनेको साढे दुई तले घरसमेत केन्द्रका नाममा दान गरेकी थिइन् । दाता सिंहले यहाँबाट आध्यात्मिक गतिविधि गरी समाजलाई अध्यात्म मार्गमा डो¥याउने उद्देश्यले घरजग्गा दान गरेको र त्यसअनुरुपका नै गतिविधि गर्न लागिएको केन्द्रका सचिव फणिराज सिलवालले जानकारी दिए ।
 

ताजा खबर