पहाड खनेर पानी निकालेपछि बसाइँ सरेका स्थानिय गाउँ फर्किए

२०७७ पौष १६ बिहीबार १०:००:०० मा प्रकाशित

– टीका पराजुली २०३२ सालमा विवाह गरेर सोयाक आउँदा खानेपानी लिन दैनिक एक घण्टा हिँड्नु पथ्र्यो । पानी पर्याप्त पाउने नपाउने टुंगो हुँदैन थियो । सोही कारण उनको परिवार इलामको सोयाकबाट बसाइँ सरेर बेंसी झरे ।


खानेपानीको अभाव दिनानुदिन बढ्दै गएपछि, पराजुली मात्र नभएर सिंगो गाउँका अधिकांश स्थानिय झापा लगायत पानीको सुविधा हुने क्षेत्रमा बसाइँ सर्न थाले । गाउँ नै रित्तिने देखेपछि इलाम नगरपालिकाले डिप बोरिङमार्फत पानी निकाल्ने र गाउँलाई पुनः गुल्जार गर्ने सोच बनायो । 


नगरपालिकाको ११ नम्बर वडामा पर्ने सोयाक गाउँ निकै सुख्खा क्षेत्रमा पर्दथ्यो । डिप बोरिङले पनि समस्या समाधान होला नहोला टुंगो थिएन । तर नगरपालिकाले पहाड खनेर डिप बोरिङ गरेर पानी निकालेरै छोड्यो । नगरपालिकाले पानी निकाल्न साथ, बसाइँ सरेका अधिकांश स्थानिय पुनः गाउँ फर्किएका छन् । 


गाउँ फर्किने स्थानियमा टीका पराजुली पनि हुन् । उनी अहिले ७० वर्ष पुगिन् । बुढेसकालमा भएपनि उनी सोयाक फर्किइन् । लामो बाटो पानी बोक्नु नपर्ने भएपछि पुनः गाउँ फर्किएको उनले बताइन् । अहिले बोरिङबाट घरमै पानी झरेपछि भने पराजुलीलाई “जीवनले काँचुली” फेरिएझैँ भएको छ । 


एक वर्षअघि रू दुई करोड ४७ लाख ८० हजारको लागतमा बोरिङको काम शुरु गरिएको थियो । जिल्लामै पहिलो परीक्षण भएकाले सफल हुने÷नहुनेमा द्विविधा थियो तर नगरको परीक्षण सफल भएपछि गाउँले खुसी भएका छन् । 


सोयाकमा जमिनमुनि करिब १२३ मिटर खनिएको छ । तर ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ । 


गाउँमा सडक, बिजुली सबै विकासका पूर्वाधार पुगे पनि खानेपानी नभएपछि स्थानीयवासी चिन्तित थिए । पानीको समस्या सुल्झिएपछि गाउँमा फर्किनेको सङ्ख्या बढेको स्थानीयवासी नरेन्द्र आचार्यले बताए । आचार्य पनि पानीको समस्याले विस्थापित व्यक्ति थिए । 


उनी यही समस्याले गाउँ छाडेर बेँसीमा बस्दै आएका थिए । तर पछिल्लो समय बस्तीमा पानी झरेपछि फेरि गाउँ फर्किने तरखरमा रहेको आचार्यको भनाइ छ । यहाँका अधिकांश परिवार पानीको समस्याले झापातर्फ बसाइँ सरेका थिए । 


झापाको छेउ भएकाले पनि गाउँले पानीको सुगमताका लागि त्यतै सरेका हुन् । पानीका लागि यो भन्दा पहिले पनि विभिन्न प्रयत्न चलेका थिए तर कुनै पनि योजना सफल भएनन् । गाउँमा पानी ल्याउन खोलाको पानी मोटरबाट ल्याउनेदेखि कुवाको पानी सङ्कलन गर्ने कामसमेत गरियो तर कुनै काम सफल भएको थिएन । 


नगरको पछिल्लो प्रयत्न सफल भएपछि गाउँमा सिँचाइका लागि पनि पानी पुग्ने वडाध्यक्ष रविन एक्तेनले बताए । कुनै समय खानेपानी समस्याले १८ घरपरिवार अन्यत्र बसाइँ सरेका थिए । हाल खानेपानीका लागि एक लाख ६० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण भएका छन् । 


वितरणका लागि चेम्बर, वास आउट चेम्बर एउटा÷एउटा, भल्व बक्स चेम्बर सात वटा, एयर भल्व चेम्बर दुईवटा, सोलार सिस्टम १५ दशमलव ७५ किलोवाट रहेका छन् । बोरिङका लागि आवश्यक पर्ने सबै फिटिङको काम र एउटा घर निर्माण भइसकेको इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले जानकारी दिए ।

उनका अनुसार मेधश नजिक बेँसी क्षेत्र भएकाले कम गहिराइमै पानी निकाल्न नगर सफल भएको हो । अहिले आयोजना १०० घरका लागि हो । अर्को पटक थप गर्दै लगिने नगरपालिकाले जनाएको छ ।
 

ताजा खबर