‘विद्या भण्डारी व्यक्तिको राष्ट्रपति हुनुभयो’

२०७७ पौष १५ बुधबार १४:२७:०० मा प्रकाशित

 तपाईँको पार्टीको हालखबर के छ ?    

 हाम्रो पार्टी तीन समूहमा विभक्त थियो केही अगाडिसम्म । पछि मिलेर दुईवटा भयौं । अहिले दुईबाट एक भएका छौं । अब सशक्त ढंगले क्रियाशील हुनेगरी गृहकार्य गरिरहेका छौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जुट्ने फुट्ने, जुट्ने फुट्ने धेरै भयो नि !

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता अग्रज सबैले निर्दलीय पञ्चायतमा काम गर्नु भएको थियो । त्यसो भएतापनि बहुदलीय प्रजातन्त्र आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नामका दुइ संगठन स्थापना भए । पञ्चायतमै पनि बुझिनेगरी समूह गठन गरी पक्ष विपक्ष भएर काम गर्ने चलन थियो । समूहगत क्रियाशीलता त्यतिबेला पनि    थियो । बहुदलीय व्यवस्थाको भावनामा नेताहरु अभ्यस्त हुँदैगर्दा पनि समूहहरु नै क्रियाशील भैरहे, मिल्दै पनि गए । यो फुट्ने र जुट्ने संस्कृति राष्ट्रिय राजनीतिकै चरीत्र जस्तो लाग्छ । नेपाली कांग्रेस नै हेरौं । फुट्यो अनि फेरि जुट्यो । तत्कालिन एमाले र माओवादी कै इतिहास पनि फरक छैन । त्यसकारण राप्रपामा मात्र फुटको खेल भएको छ भन्न मिल्दैन । हाम्रा राजनीतिक दलहरुमा समाजकै एक किसिमको समस्या सरेको छ, प्रतिविम्बित भएको जस्तो लाग्छ ।

तपाईँ राप्रपामा  पछिल्लो पुस्ताको नेता हुनुहुन्छ । संगठन भित्र कति छन् तपाईँको पुस्ताका मानिस ?    

  धेरै छन् । जुन रुपमा पहिला विद्यार्थी र नयाँ पुस्ताका युवाहरु राप्रमा आउँथे, अहिले पनि त्यो आकर्षण छँदैछ । विद्यमान संगठनमा पनि मेरो पुस्ताका सयौं साथीहरु क्रियाशील हुनुहुन्छ । कतिपय त विभिन्न तहको नेतृत्वमै पनि क्रियाशील हुनुहुन्छ । अरु पार्टीबाट पनि युवाहरु आई नै रहेका छन् ।

राप्रपामा नयाँ पुस्तालाई आकर्षित गर्ने र वैकल्पिक शक्ति हुने कार्यक्रमहरु के के छन् त ?

केही वर्ष अगाडि सनातन हिन्दु राष्ट्र वा हिन्दु राष्ट्रको कुरा गर्दाखेरी मान्छे त ठीकै हो तर कुरा मिलेन भनि तर्क गर्थे । राजसंस्था आवश्यक छ भन्दा यसो भन्थे । अब बेलायतका युवराजले किन कुरा बुझेका छैनन् होला र ? जापानमा राजा किन छैनन् होला र ? त्यहाँ विकास छ त ।  प्रजातन्त्र पनि छ भनि तर्क गर्थे तर त्यो आधारमा कुरा गर्दै जाँदा अहिले बहुसंख्यक जनता र युवा पक्ति राजसंस्थाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नारा जुलुस लागेका छन् । बाइक ¥यालीमा आएका छन् । ठूलो सम्भावनाको ढोका खुलेको छ हाम्रो पार्टीमा । राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो नयाँ युवा पुस्ताको भावनालाई पुरै साथ दिनुपर्छ, दिएका पनि छौं । अब नयाँ बाटो खुलेको छ । 

 दुइतिहाई शक्ति भएको दलले सरकार चलाउन सकेन, प्रतिनिधिसभा बिघठन नै भयो । अहिले सर्वोच्चमा मुद्वा चलिरहेको छ । अब के देखिन्छ भावी राजनीतिको मार्ग ?

आज नेपाली राजनीति तरल अवस्थामा छ । देश संकटको सुरुङमा छि¥यो ।  देशको राजनीति, संविधान संकटग्रस्त भयो भनिसकेका छन् धेरैले । सार्वजनिक रुपमा आएको छ यस्तो प्रतिक्रिया । हैन, यो ट्रयाक अगाडि बढिरह्यो भने प्रधानमन्त्री हट्ने वा जवाफदेही हुने अवस्था पनि छैन । राष्ट्रपति विद्या भण्डारीको भूमिका त्यतिकै विवादास्पद छ । जे प्रकरणमा पनि विवादास्पद नै देखियो । उहाँ निस्पक्ष हुनुहुन्न । त्यो सम्मानित संस्थामा रहने व्यक्ति आलोचनामा पर्नु हुँदैन थियो । उहाँ त पार्टीगत गुटगत मात्र होइन व्यक्तिगत स्वार्थका लागि नै प्रयोग भैदिनुभयो । उहाँ व्यक्तिको पो राष्ट्रपति जस्तो देखिनुभयो अब त ।

सर्बोच्च अदालतको बिचाराधीन रहेको बिषयमा म केही प्रतिक्रिया दिन चाहन्न । तर राजनीतिक तहमा भन्ने हो भने जनमतको घोर अपमान भएको छ । जनतामा निराशा छाएको छ । जनता विकल्प खोज्न वाध्य भएका छन् । अब हामीले विगतका राजनीतिक त्रुटीहरु सच्याउन तयार हुनुपर्छ । सिंगो नेपाली समाजले इतिहासदेखि एकताको प्रतीक मानिआएको राजसंस्था सहितको बृहत सहमतिको सरकार निर्माण गर्नुपर्छ । सत्ताको खिचातानीले सधैं नै जनमतको अपमान हुँदै आएको थियो । एकपटक जनताले कम्युनिष्टको शासन पनि भोगे व्यहोरे । अब कोही पनि कसैको बारेमा भ्रममा बसिरहनुपर्ने अवस्था छैन । सकियो त्यस्तो भ्रमित तुल्याउने राजनीतिको जमाना, अब यसरी चल्दैन । 

राजसंस्था आवश्यक छ

मलाई के लाग्छ भने अब शिलशिलाबद्व कुरा गर्दा शान्ति प्रकृया र संविधान निर्माण गर्दा त्रुटी भएकोले पद्वति फेरिनु पर्छ । राष्ट्रिय मेलमिलापको आधारमा हिजोका कोर्स र गल्तिहरु सच्याउँदै नयाँ मार्गचित्र बनाउने बेला आयो । सबैले आफ्ना असफलता र गल्ती स्वीकार गर्ने बेला आयो जस्तो लाग्छ । राजनीतिक पक्षहरुलाई भेला गरी राजसंस्थाको सम्बोधन हुनुपर्छ । राजसंस्था भनेको प्रजातन्त्र अनुकूलको राजसंस्था भनेको हो हामीले । जस्तै बेलायतमा पनि राजसंस्था हटेको बेलाथ्यो । बेलायता के भएको थियो भने त्यहाँ पुनस्र्थापना भनियो । सांसदीय व्यवस्थालाई सुदृढीकरण गर्न प्रतिगमन भन्ने शब्द नै वकालत गरिएन । त्यसलाई पुनस्र्थापना भनियो । त्यसलाई संवध्र्दनवाद भनियो । त्यो पाटोको समर्थन गर्दा पनि सबैलाई ठाउँ मिलेको थियो । बेलायतीले राजसंस्था पुनस्थापित गर्न ‘रेस्टोरेसन’ भने प्रगतिशील भाषामा अनि जनताले पनि सहर्ष स्वीकार गरे र त्यो संस्था आजसम्म लोकप्रिय भएर चलिरहेको छ ।

नेपालमा चैं नकारात्मक धारणाले ‘पुनरुत्थान वा प्रतिगमन’ भनेर तीतो पोख्ने गरेको सुनिन्छ । आखिर अग्रगमन भनिएको शासन पनि त चल्न सकेन, हेर्दाहेर्दै चलाउन नसकेर घुँडा टेकिसकेको देखियो त ! यही भएर देशभरी राजसंस्था पुनस्थापनाको माग भैरहेको हो । सबै राजनीतिक दलले जनताको यो भावना र भाषालाई बेलैमा बुझेको नै राम्रो हुन्छ भन्ने मेरो भनाई हो ।

तपाईंको बिचारमा यहाँ पनि बेलायती मोडल लागू गर्दा शान्ति हुन्छ भन्ने हो ? 

त्यो पनि आधार हो । त्यही भएर मैले उदाहरण दिएको हुँ ।

अहिले नेपालको राजनीतिक अवस्था तरल छ । यही बेला मित्र राष्ट्रका उच्च तहका मानिसहरुको आवागमन बढेको छ । किन यस्तो दोडधुप भैरहेको होला ?

राजसंस्था रहँदासम्म यहाँ यस्तो विदेशी चलखेल थिएन । अहिले त प्रधानमन्त्रीको शयनकक्षमा समेत विदेशी दूतहरु पुगिरहेका छन् । जसले जतिखेर पनि प्रधानमन्त्री र राष्ट्रपति भेटिरहेका छन् । ज्यादै चासो र हस्तक्षेप बढेको छ ।  राजसंस्था रहँदा यस्तो प्रत्यक्ष हस्तक्षेप देखिएको थिएन । अहिले त मलाई के लाग्छ भने भारत र चीनको प्रत्यक्ष संग्लग्नता देखियो । त्यो उनीहरुको र हाम्रो हितमा पनि भएन । त्यसकारण भू–राजनीतिक हिसाबले राजसंस्थाको सन्तुलित भूमिका स्थापना गर्नुपर्छ । हामीलाई विग्रेको बाटोमा फर्काउन सहयोग मिल्छ । नेपालमा राजनीतिक स्थिरता बनाईराख्न राजसंस्था अनिवार्य पक्ष हो, यसो हुनसकेमा हाम्रा छिमेकीहरु भारत र चीनको पनि हित नै हुने छ ।   

 अब यो राजनीतिक प्रणाली चल्दैन नयाँ मार्गचित्र बनाउनु पर्छ भन्नुभयो । कस्तो देख्नुभएको छ भविष्य ?

राजनीति भनेको सम्भावनाको खेल हो । यो संविधान निर्माण पछिको राजनीति अन्योलमा गएको छ । हामीले अहिले अँगालेको व्यवस्था कहिले पनि देशको हितको व्यवस्था होइन । २०६२ देखि २०६३ मा ५ वर्षको युवा १९ वर्षको भयो । २० को ३४ भयो त्यही मानिस अहिले सडकमा उत्रेर राजा आउ भनिरहेको छ । देशभरी बहुसङ्ख्यक युवाहरु यसरी नै निस्केका छन् । त्यो ताजा खबर हो । अव भनिन्छ राजा बन्ने मानिसले नाराबाजी गरे । प्रदर्शन भयो । जनमत भयो । संघीयता ल्याउन साथ जातीय समस्या समाधान हुन्छ । नयाँ नेपाल बन्छ । समावेशी बन्छ । त्यो प्रपोगण्डा हावी भयो । तर परिणाम भने शून्य । यही भएर युवा पुस्ता परिवर्तनको सोच राखेर सडकमा निस्केको छ, जसलाई यी राजनीतिक दलहरुले चिन्न बुझ्न र सम्बोधन गर्न जरुरी छ ।

यदि यस्तो हो भने तपाईंहरु किन छलफल गर्नुहुन्न ?  

हामीले छलफल गर्दै आएको छौं । यो काम जसले गरे पनि भो । प्रधानमन्त्रीले गर्दा पनि भो । सडकबाट आएको हो । केपी ओली प्रधानमन्त्री नहुँदा हामीले माग राखेकै हो । हाम्रो विज्ञप्ति नै आएको छ । यो काम जसले शुरु गरेपनि भयो ।

२०६२/६३ सालको आन्दोलन सकिएपछि बैशाख ११ गते तत्कालीन राजाले प्रतिनिधिसभा पुनःस्थापना भएको घोषणा गर्नु भएको हो । अब पनि राजनीतिक सहमतिमा कोर्स करेक्सन गर्न सकिन्छ, जुन आजको आवश्यकता भैसकेको छ । सर्वपक्षीय छलफलबाट यो हुनसक्छ । त्यसो भएमा देशमा विकराल परिस्थिति आउँदैन । नेपाल थप कमजोर हुनबाट जोगिन्छ ।

नेपालमा राजनीतिक परिपक्वता हुन नसक्ने कारण के देख्नुहुन्छ तपाईं ?

अहिलेको परिस्थितिमा नैतिकतामा ह्रास आएको छ । हामी जनताका प्रतिनिधि हौं भोटको मूल्याङ्कन हुनुपर्छ । नेतालाई सुधार्ने हो भने जनता सुध्रिनुप¥यो । द्वन्दपछिको समाज हेरौं न त्यो अराजकता तर्फ गएको देखिन्छ । भोटिङ्गतर्फ हेरौं न अनुशासनहीनता तर्फ गएको देखिन्छ । हाम्रो समाजमा पैसा कमाएमा मान्छे ठूलो । पत्रकार, वकिल, मन्त्री, जिएम भएर पनि पैसा नकमाउँदा तपाईंलाई नैतिक घाटा हुन्छ र ? के यसरी आदर्शविहीन समाज बन्छ ?

दल भन्दा बाहिर निस्केर हेर्दा कुन नेताको सम्झना हुन्छ ?    

नेताको कुरा गर्दा गणेशमान सिंहको चर्चा गर्न मन पराउँछु । उहाँको राजनीति त मैले हेर्न पाइन तर विगत हेर्दा उहाँको राजनीति म राम्रो मान्छु । अर्को नेतामा कृष्ण प्रसाद भट्टराई । जस्तै पर्दा पनि उहाँले पार्टी छोड्नु भएन । अब मनमोहन अधिकारीको छुट्टै पहिचान छ ।    यिनै नेताहरु हुन् जसलाई नेपाली समाजले सम्झन्छ  ।

तर पछिल्लो पुस्ताका नेताले अग्रजको अनुशरण गर्न सकेन नि होइन ?
 
आमूल परिवर्तन चाहिन्छ । नयाँ सोच धारणा चाहिन्छ । हामी बहुदलीय प्रजातन्त्र मान्दै आएको हैन । यसमा पत्रकारिताको पनि साथ चाहिन्छ । सहि सुझाव दिने । स्वतन्त्र प्रेसको भूमिका सराहनीय छ । ट्राभल, वकिल र घरघरमा सबै नेता हुँदा खासै चुनावको महत्व पर सरेको ठानेको छु । तर प्रोफेसरले पनि त्यही गर्छन् । अहिले बौद्विक क्षेत्र, समाज र राजनीतिज्ञबीचको दूरी पर गएको देख्छु । ट्राभल, ट्रेकिङ्ग सबै चुनावको लाइनमा छन्, सबैलाई दलीय राजनीति नगरी भएकै छैन । हामीहरुलाई यस्ता घटना सामान्य लाग्न थालिसकेको छ । त्यो गलत काम हो । नागरिक समाज भन्ने लाइन हटिसक्यो । केन्द्र र स्थानीय तहको तालमेल मिलेको छैन । व्यक्तिकरण हावी छ । गुटकरण ज्यादा छ । सबै क्षेत्रमा राजनीतिकरण गर्नु भएन नि ।

किन यति चाँडै प्रतिनिधिसभा विघठन गर्नुपरेको होला ?

एउटा सिद्वान्त छ । कुनै पनि घटना कर्ता, प्रभाव र प्रतिफल छ । संवैधानिक त्रुटीहरु पनि छन् । जस्तै केही ३÷५ जना नेताले संविधान बनाउनुभयो । भागबण्डाको राजनीति छ भनिन्छ । हेर्दाखेरी चेक एण्ड व्यालेन्स देखियो भनिन्छ हैन ! त्यो नेकपामा हेर्नुहोस है ! प्रधानमन्त्रीको कुर्सीको लागि सांसदमा कुरा उठाउनुपर्ने हो । भाषणमा पक्ष विपक्ष गरेर नाराबाजी गर्दै हुनुहुन्थ्यो । उहाँलाई कोरोनाको पनि वास्ता भएन । जनताको समृद्वी र स्थायीत्वको बारेमा वास्ता गर्नु भएन । प्रधानमन्त्री भन्नुहुन्छ उहाँकै साथीहरुले काम गर्न दिनुभएन रे । किन पार्टी एकता गरेको त ? नमिल्नेगरी भएको एकता नै अहिले उहाँहरुलाई घाँडो भएको देखियो । सत्ताको लुछाचँुडी एकमात्र कारण हो ।

अब के हुनुपर्छ त ?

 प्रजातन्त्र ठीक बाटोमा आउनुप¥यो । मानव विकास सूचाङ्क हेर्नुस्, ह्यापिनेस इन्डेक्स् हेर्नुस, प्रजातन्त्र सूचाङ्क हेर्नुस्, भ्रष्टाचार कम भएको सूची हेर्नुस्, आर्थिक सूचाङ्क हेर्नुस् । सबै अर्थ वृद्वि भएको देशमा राजतन्त्र सुदृढ भएको देश छ । मूलभूत कुरा के भने कुन राजनीतिक शासन पद्वति हो त्यो मूलभूत कुरा रहेछ ।

 हाम्रो देशको गठन, परम्परा, धर्म, संस्कृति छ त्यसपछि राजसंस्थाको मुद्वा उठान भएको हो । त्यो क्रमिक विकासक्रम हो । एक दिनमा एउटा भएको होइन । क्यानडामा एकैचोटी विकास भएको होइन । क्यानडा एउटा स्वतन्त्र राष्ट्र हो ।   बेलायतका महारानीलाई राष्ट्रप्रमुख मान्छन् भने त्यसको कारण छ नि ! जापानमा हेरौं त्यसको माने छ । त्यो नेपालमा पनि लागु छ । त्यो पूर्व संरचना हो ।    

( राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सगुनसुन्दर लावतीसँग दृश्य टेलिभिजनले गरेको वार्तालापको सम्पादित अंश हो यो । यसको विस्तृत विवरण हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला- https://youtu.be/T6ZM1W-3M2M)  

 
 


  
 

ताजा खबर