पाथीभरा क्षेत्रको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश

२०७७ पौष १४ मंगलबार ०९:५०:०० मा प्रकाशित

– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।


हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले जानकारी दिए । उनले भने, “ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ । आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ ।” 


पाथीभरा मन्दिरको संरचनामाचाहिँ डढेलोले असर नगरेको महतले जानकारी दिए ।


सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँचपटक जोरपोखरीबाट पानी ल्यएर आगो नियन्त्रण प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको निर्देशक काफ्लेको भनाइ थियो ।


आज बिहान कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोक्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा सोमबारदेखि नै संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजङ्घा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । 


शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । 


बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।
 

ताजा खबर