गाउँमा पहिलोपटक चिकित्सक आउँदा स्थानिय खुशी

२०७७ पौष १३ सोमबार ०९:३२:०० मा प्रकाशित

– भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्र धौलागिरि गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलोपटक डाक्टर पुगेका छन् । धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो ।  


पुस ८ गतेदेखि लागू हुने गरी डा एकराज भण्डारीलाई नियुक्त गरिएको ताकमका वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिइन् । “कोभिड अस्पताल सञ्चालन गर्नका लागि डाक्टरसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भनिन्, “छिट्टै कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ । अहिलेकै जनशक्तिलाई निरन्तरता दिएर नियमित अस्पताल सञ्चालन गर्ने योजना छ ।” 


अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाले शुक्रबार बिहान स्वागत गरेका छन् । पहिलोपटक गाउँपालिकामा डाक्टर आएकामा स्थानीयवासी खुशी भएका छन् । 


ताकम स्वास्थ्यचौकीको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँ गाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । 


अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रू ७० लाख पठाएको छ । भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का आह्वानको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए ।  


कोरोना अस्पताल सञ्चालन गर्न यसअघि अन्नपूर्ण र मालिका गाउँपालिकाले डाक्टर नियुक्त गरेका छन् । मङ्गला र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि डाक्टर पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रू १० लाख बजेट पठाएको थियो । 


आवश्यक मेडिकल बेड, विस्तारा, अक्सिजनलगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । रू चार लाख ५० हजार तलब, रू ५० हजार औषधि र रू पाँच लाखको बेडसहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो । 
 

ताजा खबर