आँखा उपचार केन्द्र सञ्चालनमा 

२०७७ पौष ११ शनिबार ११:००:०० मा प्रकाशित

– चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योती संघ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना– ४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । 


केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताइन् । भरतपुर आँखा अस्पतालमा पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गरिने बताइन् ।


वडा नम्बर ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना गाउँपालिकामात्र नभई छिमेकी जिल्ला गोरखाको गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले पनि सुविधा पाउने बताए । नेपाल नेत्रज्योती संघका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफाभन्दा पनि सेवाको भावनामा देशभर १२१ स्थानमा केन्द्र सञ्चालन गरिरहेको बताए । 


उनले आँखा उपचार केन्द्रमा कम्तीमा ७५ प्रतिशत आँखाको रोगको उपचार हुने बताए । कर्मचारी र व्यवस्थापन खर्चका लागिमात्र सेवाग्राहीबाट न्यून शुल्क लिने उनको भनाइ छ ।  
 

ताजा खबर