‘सर्ट फिल्म फेस्टिभल’ मा २१ नेपाली फिल्म 

२०७४ कार्तिक २८ मंगलबार १५:३७:०० मा प्रकाशित

काठमाडौं, २८ कात्तिक । छोटा फिल्महरूको महोत्सव ‘एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’ मा यो वर्ष नेपालबाट २१ वटा छोटा फिल्म छानिएका छन् । कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म हुने पाँचौं संस्करणको यो फेस्टिभलमा नेपाल सहित ४३ मुलुकका ९९ वटा फिल्म  देखाइनेछन् । फिल्म फेस्टिभल कुमारी हलमा ४ दिनसम्म चल्नेछ ।

‘लेट लियर बि लाइट’ नारा दिएर हुन लागेको फेस्टिभलमा विभिन्न सामाजिक मुद्धाका ३३ सर्ट फिल्म मध्ये विशेष छनौटमा परेका १४ फिल्म नियमित प्रदर्शन गरिने र साथै काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायरमा पनि खुला प्रदर्शन गरिनेछ ।

फेस्टिभलमा ‘परिपक्व परिवर्तन’, ‘सिनेमाको भविष्य’ का गरी ३७ सर्ट फिल्म देखाइनेछन् । ‘परिपक्व परिवर्तन’ मा २० सर्ट फिल्म देखाइनेछ भने अप्रचलित अभिव्यक्ति बोकेका, गहन काल्पनिकता बोकेका तथा केन्द्रित कथन शैलीलाई आत्मसाथ गरिएका सर्ट फिल्मलाई पनि समेटिएको छ । यो श्रृंखलामा मनिषा कोइरालाको नेतृत्वमा इटालीका पाओलो बेटोलिन र बंगलादेशका मोस्ताफा सार्वर फारोकी सम्मिलित निर्णायक समिति छ ।

त्यस्तै ‘सिनेमाको भविष्य’ मा १७ फिल्म देखाइने छन् । विद्यार्थीहरुले बनाएका फिल्म प्रदर्शन गर्ने यो श्रृंखलामा अभिनेत्री नम्रता श्रेष्ठको नेतृत्वमा बंगलादेशका अबु साहेद इमोन र नेपालकै यज्ञश सम्मिलित निर्णायक समिति बनाइएको छ । फेस्टिभलमा विशेष छनौटमा परेका ११ बंगलादेशी फिल्मलाई तीन सहायक खण्डमा प्रदर्शन गरिनेछ ।

फेस्टिभलको पहिलो दिन नेपाली निर्देशक रोशन ठकुरीको ‘सिल्भर ब्याङगल’ सहित अष्ट्रियाका पल सेउफ्लेको ‘टेष्ट अफ लभ’, इरानको काभी माजाहेरीको ‘रिटो’ र चिनियाँ निर्देशक क्वी याङको ‘ए जेन्टल नाइट’ देखाइने छ ।

फेस्टिभलको अन्तिम दिन नेपाली निर्देशक रइसप्रसाद खत्रीको ‘क्युरियस गर्ल’, स्पेनका जुआन्जो गिमेनेजको ‘टाइम कोड’, ब्राजिलका दर्बारा वाग्नेर, बेञ्जामिन डे बुर्साको ‘यु आर सिइङ थिङ्स’ र जर्जियाका गेगा खेमलेजको ‘८ मिनेट्स’ देखाइने छ ।
 

ताजा खबर