७१० सङ्क्रमित थपिए, १,१७५ निको भए,१२ को निधन

२०७७ पौष ४ शनिबार १८:११:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना छन् । विगत २४ घण्टामा चार हजार ७८० को पिसिआर परीक्षण गरिएको थियो । 

थपिएका सङ्क्रमणसँगै मुलुकभर सङ्क्रमतिको सङ्ख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । सङ्क्रमितमध्ये ३४।५ प्रतिशत महिला र ६५।५ प्रतिशत पुरुष छन् । हालसम्म आठ हजार ८४० सक्रिय सङ्क्रमित छन् । 

१,१७५ निको भए

आज एकै दिन एक हजार १७५ जना निको भइ घर फर्किएका छन् । अहिलेसम्म निको हुने सङ्ख्या दुई लाख ४२ हजार ५६७ पुगेको छ । नेपालमा निको हुने दर ९५।८ प्रतिशत पुगेको छ । 

सङ्क्रमितमध्ये २८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा २३ जना, प्रदेश नं २ मा ११ जना, वागमती प्रदेशमा १०६,  गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेश सात जना र सुदूरपश्चिम प्रदेशमा सात जना उपचाररत रहेका छन् ।
 
यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा चार, प्रदेश नं २ मा एक, वागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशमा दुई जना उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार ८३४ जना र क्यारेन्टिनमा ४२१ जना रहेका छन् । 

उपत्यकामा २८७ थपिए

यस्तै आज काठमाडौँ उपत्यकामा २८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १२१ जना महिला र १६६ जना पुरुष छन् । सङ्क्रमति शून्य भएको जिल्ला मनाङ र ५०० भन्दामाथि सङ्क्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र कास्की हुन् । 

१२ को निधन

यसैगरी सङ्क्रमणबाट विगत २४ घण्टामा १२ जनाको निधन भएको छ । आज निधन भएकासहित सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७७७ पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये ०।७ प्रतिशत निधन भएका छन् । रासस

ताजा खबर