क्रिटिक्स अवार्ड मंसिर ६ मा  

२०७४ कार्तिक २८ मंगलबार १३:३९:०० मा प्रकाशित

काठमाडौं, २८ कात्तिक । नेपाल चलचित्र समीक्षक समाज फिक्सनले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । आगामी मंसिर ६ मा  शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्न लागेको हो । 

केही प्राविधिक कारणले  तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको जानकारी नेपाल चलचित्र समीक्षक समाजले प्रेस विज्ञप्ति मार्फत गराएको छ । दुई वर्षमा प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा सर्वोत्कृष्ट हुने चलचित्र, निर्देशक, कलाकार र प्राविधिकलाई अवार्ड प्रदान गरिन लागेको हो ।

२०७३ सालमा प्रदर्शन  भएका फिल्महरु मध्ये सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार सेतो सूर्य, पटकथा  मीन भाम र अविनाश विक्रम शाह कालोपोथी, सम्पादन डेभिड वार्कर सेतो सूर्य, छायांकन अजिज जम्बाकिन कालोपोथी, अभिनेता बिपिन कार्की जात्रा र माओत्से गुरुङ पुरानो डुङ्गा , सर्वोत्कृष्ट अभिनेत्री केकी अधिकारी लभ सासा घोषित भएका छन् । 

त्यस्तै २०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद, निर्देशक दीपेन्द्र के खनाल पशुपतिप्रसाद, पटकथा  खगेन्द्र लामिछाने पशुपतिप्रसाद, छायांकन शैलेन्द्र डी कार्की कबड्डी कबड्डी, अभिनेता सौगात मल्ल फन्को, र अभिनेत्री  रिस्मा गुरुङ कबड्डी कबड्डी घोषित भएका छन् ।

२०७१ सालका विजेताको नाम यस अघि नै घोषणा भइसकेको थियो । जसअनुसार सर्वोत्कृष्ट फिल्म ‘कबड्डी, निर्देशक निश्चल बस्नेत टलकजंग भर्सेज टुल्के, पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा कबड्डी, अभिनेता दयाहाङ राई कबड्डी, अभिनेत्री प्रियंका कार्की सुन्तली, छायाङकन अन्ड्रा बेलिसिया सुन्तली, सम्पादन बनिस शाह र मिलन श्रेष्ठ तान्डव  र पाश्र्व संगीत जेसन कुँवर टलकजंग भर्सेज टुल्के उत्कृष्ट घोषित भएका थिए ।

‘प्राविधिक कारणले क्रिटिक्स अवार्ड घोषणा र वितरण कार्य समयमा गर्न नसकिएको र यसपटक तीन वर्षको अवार्ड एकसाथ वितरण गरिरहेको, ‘नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले बताए  । ‘नेपालमा निर्माण् भइरहेका राम्रा कथा र संस्कृति बोेकेका फिल्मलाई प्रोत्साहन गर्न  अवार्डको आयोजना गरेको पनि उनले जानकारी दिए । 

ताजा खबर