स्वावलम्बी बन्न रमेशबाट सिकौं (भिडियो कथा)

२०७७ पौष २ बिहीबार १३:४५:०० मा प्रकाशित

काठमाडौं । साथीसँग ललितपुरको दक्षिणी ग्रामीण क्षेत्रमा डुल्न गएका रमेश श्रेष्ठ हाल भारदेउका नामी कृषि व्यवसायी बनेका छन् । आउनेजाने क्रम बढेपछि स्थानीयबासीले यतै केही गर्नुहोस् भने । छेवैको सानो खोल्साले रमेशको ध्यान आकर्षित गर्यो ।

उनले यस खोलामा रेन्बोट्राउट माछा पाल्ने सोच बनाए । स्थानीय लामाको करिव डेढ रोपनी जमिन भाडामा लिए  र सुरु गरे ट्राउट फार्म । २०६६ सालमा उनले ७ लाख रुपैयाँ लगानीबाट ट्राउट फार्म खोलेका हुन् । आजका दिन उनको फार्ममा १८ वटा रेस वे छन् । तिनमा करिव ३ टन माछा उत्पादन गर्न सकिन्छ ।

सात लाखमा सुरु भएको उनको फार्म अहिले करोड रुपैयाँको बनेको छ । यसबेला माछाको दाम प्रतिकिलो ११ सयदेखि १३ सय पर्छ । प्रतिकेजी ११ सय नै भए पनि उनको वार्षिक व्यापार ३० लाखभन्दा बढी नै हुन्छ । यसमध्ये भूरा, दाना र कामदारका लागि आधा रकम खर्च गरे पनि उनी वार्षिक १४ देखि १५ लाख रुपैंयाँ आर्जन गर्छन् । त्यसो त अनुभवीहरु यस माछा पालनमा ६० प्रतिशत फाइदा हुने बताउँछन् ।

तर यो कमाइ भनेजति सजिलो चाहिँ छैन । यो माछा बगुवा चिसो पानीमा मात्र बस्न सक्छ । यस्तो पानीमा अक्सिजन बढी हुन्छ । त्यस्तै यसलाई अत्यन्तै सफा वातावरण चाहिन्छ । फार्ममा फोहोर भए यो सखाप हुन्छ । दैनिक रेस वे सफा राख्नुपर्छ । रमेशलाई यी बिषयमा राम्रो जानकारी छ । त्यस्तै समयमा खान नदिए साथी नै खाइदिन्छ । यो मांसाहारी माछा भएकाले आफ्नै साथी पनि खाइदिन्छ । वर्षा याममा खोलाको पानी धमिलो हुन्छ । त्यस्तै रेसवेको तापक्रम बढ्ने खतरा पनि अर्को समस्या हो । त्यस्तै माछालाई लाग्ने रोग तथा चाराचुरुंगी र पानी सापबाट पनि जोगाउनुपर्छ । रमेशको दैनिकी यिनै माछाको स्याहारमा बित्छ । दानाका लागि कच्चा पदार्थ सबै भारतबाट ल्याउनु पर्ने वाध्यता पनि अर्को समस्या हो ।

जति नै समस्या भए पनि महेनतीका लागि यो एउटा राम्रो व्यवसाय हो । रमेश अझ फार्म ठूलो बनाउने योजनामा छन् । ट्राउट खेति गरे वर्षको २ देखि ४ लाख कमाइका लागि अन्यत्र लाग्नु नपर्ने रमेशको अनुभव छ । यसका लागि उनी जोकोहीलाई पनि सहयोग गर्न तयार छन् । 

रमेशको पौरखको कथा थाहा पाउन यो लिङ्कमा क्लिक गरौं– https://www.youtube.com/watch?v=7HLFcUEBugk  

 


 

ताजा खबर