पाथीभरा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

२०७७ पौष १ बुधबार १०:११:०० मा प्रकाशित

– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 


आफूलाई भारतको राजस्थानमा जन्मिएको बताउने योगीले बिहानै सञ्चो नभएको बताएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए । तर अस्पताल नपुग्दै निधन भइसकेको बताइएको छ । 


‘बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढक्ढकाएर सोध्यौं, “सञ्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो” भन्नुभयो, त्यसपछि हतारहतार उपचारकालागि सदरमुकामतर्फ हिड्यौं, अस्पताल आइपुग्दा निधन भइसकेको थियो’, मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । 


योगीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रकृया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
 

ताजा खबर