भाजपाका विदेश विभाग प्रमुख ‘चौथाइवालेको निमन्त्रणा र भेटघाटले सत्तारुढ नेकपाभित्र फेरी विवाद

२०७७ मङ्सिर ३० मंगलबार ११:३३:०० मा प्रकाशित

काठमाडौं। भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमणलाई लिएर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र फेरी खैलाबैला उत्पन्न भएको छ ।

यसअघि भारतकै गुप्तचर निकाय ‘रअ’ का प्रमुखको नेपाल भ्रमण र भेटघाटको विषय पनि नेकपाभित्रको विवादको एउटा कारण बनिरहेको छ।

त्यो विवाद चर्किएका बेला भएको चौथाइवालेको नेपाल आगमन पछिल्ला दिनमा भारतको विभिन्न क्षेत्रका उच्च अधिकारीहरूबाट भएको चौथो भ्रमण बन्न पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वसभामुख सुवास नेम्वाङसँग भेट गर्नुभएका भारतीय नेता चौथाइवालले ओलीलाई पद त्याग गराउन तम्सिएका नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गर्न आवश्यक ठान्नुभएको देखिएन।

प्रचण्ड नेपाललाई नभेट्नुको कारण

विदेश विभागका उपप्रमुख विष्णु रिजालको बुझाइ छ, “विदेश भ्रमणमा जाने अतिथिको भेटघाट आयोजकको इच्छाअनुसार नै हुन्छन्। सल्लाह बेगरका कार्यक्रम हुँदैनन्। सायद आयोजकबाट अतिथिलाई जे(जे भनियो त्यसै अनुसार नै भेटघाट नभएको होला।”

महासचिव पौडेलको निमन्त्रणमा आफू नेपाल भ्रमणमा आएको चौथाइवालेले जनाउनुभएको छ।

तर भ्रमणबारे विदेश विभागलाई जानकारी समेत नदिइएको रिजालको भनाइ छ। उहाँका अनुसार नेकपाको भारतीय जनता पार्टीसँग औपचारिक सम्बन्ध पनि छैन।

भाइचारा सम्बन्ध रहेको चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाले यसअघि गरेको भर्चुअल कार्यक्रमबारे पनि पार्टीको विदेश विभागलाई जानकारी दिइएको थिएन।

रिजाल भन्नुहुन्छ, “पार्टीभित्र विधि(विधान र पद्धति अनुसार चलौँ भन्ने आवाज उठेको कारण पनि त्यही हो। यदि यो विभाग अरू कुनै नेतालाई महत्त्वपूर्ण लाग्छ भने त्यही नेताले राखेपनि हुन्छ। तर एउटा विभागको काम पनि अर्कैले गर्ने हो भने त्यो विभागका मान्छेका काम त विरोध गर्नु बाहेक के बाँकी रहन्छ र ?”

पौडेलको निम्ता कि चौथाइवालेकै अग्रसरता ?

परराष्ट्रमन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री ज्ञवाली

नेकपा नेताहरूका अनुसार चौथाइवालेसँग महासचिव पौडेलको सम्पर्क र सम्बन्ध केही वर्षदेखिको हो।

प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईका बुझाइमा दुवैजनाबीच अनौपचारिक फोनवार्तामा ुचौथाइवालेले आउँछु भनेपछि पौडेलले हुन्छु भन्नुभएको हो।

उहाँका अनुसार नेपालमा भेटघाटको समयतालिका चौथाइवालेकै इच्छा अनुसार बनेको हो। नेकपाभित्रैबाट प्रचण्ड र नेपाललाई उहाँसँगको भेटघाटभन्दा बाहिर राखिएको कुरामा सत्यता छैन् ।

भट्टराई भन्नुहुन्छ, “कसलाई भेट्ने, कसलाई नभेट्ने विषयमा उहाँले आफै तालिका बनाउनु भयो। हामी त्यसमा संलग्न छैनौँ। को मान्छे भ्रमणमा आउने भन्ने पार्टीको एजेन्डा बन्छ र ? त्यो पनि अनौपचारिक भ्रमण भनिसकेपछि त्यसलाई धेरै ठूलो विषय बनाउनु पर्ने औचित्य देख्दिनँ।”

अनौपचारिक रूपमा कसैले आउने चाहना व्यक्त गरेपछि निमन्त्रणा दिने र त्यस्तो अवस्थामा पाहुना आफ्नो तालिका अनुसार आउने, बस्ने र भेटघाट गरेर जाने अन्तर्राष्ट्रिय अभ्यास रहेको उहाँको भनाइ छ।

चौथाइवालेको चासोमा नेकपा

चौथाइवालेले विपक्षी नेताहरू नेपाली कांग्रेसका शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग पनि भेटवार्ता गर्नुभएको थियो।

उहाँकै आग्रहमा काठमाडौंमा उपलब्ध नेताहरूले भेट गरेको नेता महतोले जानकारी दिनुभएको छ।

महतोले भन्नुभयो, “पार्टीबारे, सम्बन्ध विकास गर्ने र दुई देशको सम्बन्धमा सामान्य कुराकानी भएको थियो।”

नेपालमा राजनीतिक अस्थिरता गहिरिने सम्भावनाबारे पनि चौथाइवालेले केही चासो राखे कि ?

महतोले कुटनीतिक भाषामा ूखुला सिमानाका कारण यहाँको अस्थिरताको असर आफूलाई पनि पर्ने भएकाले नेपालमा अस्थिरता नहोस् भन्ने मान्यता भारतले पहिल्यैदेखि राख्दै आएकोू बताउनुभयो।

तर चौथाइवालेले नेकपा विवादको गम्भीरताबारे चासो राखेको उहाँसँग भेट गर्नुभएका एक नेताले बताउनुभयो।

मोदी निकट चौथाइवाले

नेताहरू ठाकुर र महतोले उनीसँग होटलमा भेटवार्ता गरेका थिए
नेताहरू ठाकुर , महतो र चौथाइवाले

चौथाइवाले यसअघि पनि नेपाल भ्रमणमा आउने गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि पनि उहाँ आउनुभएको थियो।

उहाँ मोदीकै गृहराज्य गुजरातका हुनुहुन्छ। उहाँ प्रधानमन्त्री मोदी र अर्का शक्तिशाली मानिने नेता तथा गृहमन्त्री अमित शाहका विश्वासपात्र मानिनुहुन्छ।

मोदीको अमेरिका भ्रमणमा निकै चर्चित बनेको ‘हाउडी मोदी’ कार्यक्रमको श्रेय पनि चौथाइवालेलाई दिइन्छ। (बीबीसी)

ताजा खबर