यस्तो थियो कांग्रेसको शक्ति प्रदर्शन: कुन नेताले के भने ?

२०७७ मङ्सिर ३० मंगलबार ११:०२:०० मा प्रकाशित

काठमाडौं : सरकारप्रति नरम भएको आरोप लाग्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ। उसले सरकारको कार्यशैलीविरुद्ध विरोध प्रदर्शनलाई पार्टीको प्रतिष्ठाका रूपमा लिएको थियो।

प्रमुख प्रतिपक्षीका रूपमा कमजोर भूमिका निर्वाह गरेको भन्दै निरन्तर आलोचना खेपिरहेका बेला कांग्रेसले सरकारविरुद्ध सडकबाट शक्ति प्रदर्शन गरेको हो। कोरोना महामारीबीच ‘सांकेतिक’ विरोध प्रदर्शनमा देशभर उल्लेख्य सहभागितापछि कांग्रेस हौसिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनलाई कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्धको जनमत भनेका छन्। सभापति देउवाले प्रदर्शनमा व्यापक जनसहभागिता भएको दाबी प्रेस विज्ञप्तिमार्फत गरेका छन्। ‘एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत प्रकट भएको छ’, उनले भनेका छन्।

उनले विरोध प्रदर्शनले कांग्रेसलाई नवीन ऊर्जा प्रदान गरेको उल्लेख गरेका छन्। ‘यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गर्न चाहन्छु’, प्रदर्शनपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु।’ देउवाले मकवानपुरको हेटौंडामा सम्बोधन गरेका थिए।

तनहुँमा मंसिर १७ गते पुल उद्घाटनका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले दुव्र्यवहार गर्दै तीन घण्टा हिरासतमा लिएपछि कांग्रेस सरकारसँग चिढिएको थियो। लगत्तै बसेको कांग्रेस शीर्ष नेतासहितको पदाधिकारी बैठकले सरकार ‘अधिनायकवादको बाटो’मा अगाडि बढेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। देशव्यापी विरोध प्रदर्शनलाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए।

वरिष्ठ नेता पौडेलले काठमाडौं शान्तिवाटिकामा आयोजित विरोधसभामा यो सरकारले पञ्चायतको झल्को दिएको आरोप लगाए। तनहुँमा पुल उद्घाटनका क्रममा आफूमाथि भएको दुव्र्यवहारलाई नेता पौडेलले पञ्चायतमा रूख रोप्दा तत्कालीन सत्ताले टाउको फुटाउने गरेको स्मरण गर्दै भने, ‘अहिले कम्युनिस्ट शासनमा पुल बनाउँदा करङ भाँचिएको छ। पञ्चायत र कम्युनिस्ट सरकारमा फरक के भयो ?’

पौडेलले सरकारकै कारण लोकतन्त्र, संघीयता, गणतन्त्र र समावेशिता संकटमा परेको दाबी गरे। ‘गाउँ–गाउँमा विशेष अधिकार प्राप्त, कुनै कानुन नलाग्ने नयाँ कम्युनिस्ट वर्ग जन्माउन खोजिएको छ’, उनले भने, ‘सरकारले राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने काम गरिरहेको छ।’

केन्द्रीय सदस्य नवीन्द्राज जोशीले लोकतन्त्र बचाउन कांग्रेस सडकमा आएको बताए। जोशीले सरकार सर्वसत्तावादतर्फ अगाडि बढेको आरोप लगाए। उखु किसानसँगको सहमति कार्यान्वयन नगर्दा फेरि आन्दोलनमा आउनुपरेकामा उनले आक्रोश पोखेका थिए।

काठमाडौंमा शान्तिवाटिकामा भेला भई जुलुससहित बागबजार, पुतलीसडक, कमलादी हुँदै शान्तिवाटिकामै पुगेर विरोधसभामा परिणत भएको थियो।

उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा सम्बोधन गरेका थिए। निधिले यो सरकार शासन गर्न असफल भइसकेको दाबी गरे। सरकार मुलुकका लागि कोरोना महामारीभन्दा पनि खतरनाक भएको उनको जिकिर थियो। ‘नेपालीमा एउटा उखान छ, तस्बिर आफैँ बोल्छ’, निधिले भने, ‘ओली नेतृत्वको कम्युनिस्ट सरकार असफल भइसकेको पुष्टि गर्न उनकै समकक्षी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पन्ने प्रस्ताव नै पर्याप्त छ। त्यसले पुष्टि गर्दैन र ?’ सरकार असफल भए पनि सरकारविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने उनको भनाइ थियो।

महामन्त्री डा. शशांक कोइरालाले प्रदेश १ को राजधानी विराटनगरमा आयोजित सभालाई सम्बोधन गरेका थिए। महामन्त्री डा. कोइरालाले नेकपा नेतृत्वको सरकारसँग मुलुकको समृद्धिका लागि कुनै योजना नभएको दाबी गरे। उनले तीन वर्षसम्म सरकारको कतै पनि उपस्थिति नहुँदा नागरिकमा असन्तुष्टि बढ्दै गएको बताए। ‘मुलुकमा कांग्रेसको पालामा भएको आयोजनाको उद्घाटन गर्ने क्रममा दमन गर्न मात्र सरकारले आफ्नो उपस्थिति देखाउँछ’, उनले भने, ‘मुलुकमा कोरोनामा संक्रमण बढेको बेला जनतालाई राज्यको उपस्थिति महसुुस गराउन पनि सरकार असफल भएको छ।’

उनले प्रतिपक्षीको सदासयतालाई सरकारले कमजोरीका रूपमा लिएको बताए। ‘स्वास्थ्य सामग्री खरिदमा समेत करोडौं भ्रष्टाचार गरेको छ सरकारले। तीन वर्षभन्दा बढी समय सरकारलाई काम गर्न दिँदासमेत काम गर्न नसकेपछि बाध्य भएर हामी विरोधमा उत्रिएको हो,’ उनले भने।

झापामा विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले सुतेको बाघलाई सरकारले जिस्क्याउने काम गरेको टिप्पणी गरे। ‘कांग्रेस बाघ हो, सुतेको बाघलाई कम्युनिस्ट सरकारले उठाउने काम गरेको छ’, डा. महतले भने, ‘बाघ ब्यँुतिएपछि के गर्छ ? त्यो सरकारले थाहा पाइराखोस्।’ यो सरकारले कामभन्दा गफ दिएर जनतालाई भ्रममा पारिरहेको उनको आरोप थियो। 

चितवन कांग्रेसले भरतपुरको चौबिसकोठीबाट विशाल र्‍याली निकालेको थियो। प्रदर्शनमा सहभागी हुन चितवनका सात स्थानीय तहबाट कार्यकर्ता भरतपुर केन्द्रित भएका थिए। त्यहाँ कांग्रेस नेता डा.रामशरण महतले कम्युनिस्ट सरकार असफल भएको जिकिर गरे। सरकारले संविधान कार्यान्वयनमा प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो। ‘नेकपाले नेपालीलाई झुटा आश्वासन दिएर बहुमत प्राप्त गरेको हो। सरकार अधिनायकवादी बन्दै गएको छ’, उनले भने, ‘कांग्रेसले त्यसलाई कहिल्यै पूरा हुन दिँदैन।’

पोखरामा विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्र जोगाउन आन्दोलन गर्नुपर्ने बेला आएको बताए। कांग्रेसले सुरु गरेको विरोध कार्यक्रम कास्टिङ मात्र भएको उनको भनाइ थियो। उनले सरकारको अकर्मण्यताविरुद्ध जनता सडकमा उत्रन बाध्य भएको बताए।

पूर्वसभामुख तारानाथ रानाभाटले यो सरकारले सत्ता टिकाउन सर्वभौमसत्तामाथि नै आँच आउने काम गरेको बताए। पूर्वमन्त्री यज्ञबहादुर थापाले सरकार भ्रष्टाचारमा डुबेको भन्दै जनताको विश्वास गुमाउँदै गएको दाबी गरे।  

रुपन्देहीको भैरहवामा आयोजित सभामा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए। पाण्डेले भ्रष्टाचारमा लिप्त सरकारले महामारीका बेला जनतालाई सडकमा आउन बाध्य पारेको बताए। किसान, गरिब, विपन्नका लागि सरकारले कामै नगरेको भन्दै उनले आफ्नै समूहको आर्थिक विकासमा जुटेको आरोप लगाए।

बर्दियाको गुलरियामा भएको सभामा केन्द्रीय सदस्य डा. गोपाल दहितले कोरोना भाइरसलाई सरकारले कमाइ खाने भाँडो बनाएको आरोप लगाए। नवलपरासीको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले एकपछि अर्का काण्डमा मुछिँदै गएको सरकारले संवैधानिक संकट निम्त्याउन खोजेको आरोप लगाए। आफ्नै पार्र्टीका नेताहरूको घेराबन्दीमा पर्दै गएका प्रधानमन्त्रीले चालेका हरेक कदम सर्वसत्तावादतर्फ उन्मुख भएकाले त्यसविरुद्ध कांग्रेसले सांकेतिक आन्दोलन मात्र थालेको उनको भनाइ थियो। कांग्रेसले बाकेको नेपालगन्ज, कपिलवस्तुको तौलिहवा, पाल्पाको तानसेन, गुल्मीको तम्घास, अर्घाखाँचीको सन्धिखर्क, दाङको घोराहीमा प्रदर्शन गरेको छ।

केन्द्रीय सदस्य गगन थापाले मनपरी रूपमा अगाडि बढ्न खोजेको सरकारलाई ठेगान लगाउन आफ्नो पार्टी सडकमा उत्रिएको बताए। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजित विरोधमा सभामा नेता थापाले प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको आरोप लगाए। 

‘सरकार बेलगाम भयो, सरकारलाई ठेगान लगाउन कांग्रेस सडकमा उत्रिएको छ, सरकार ठेगानमा नआउँदासम्म कांग्रेस सडकबाट फर्किंदैन’ थापाले भने। उनले भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि व्यवहारमा ठीक उल्टो भएको दाबी गरे। ‘बाहिर भ्रष्टाचार पनि गर्दिनँ, भ्रष्टाचार सहन्नँ पनि भन्ने तर वाइडबडी, बालुवाटारको जग्गा, सेक्युरिटी प्रेसजस्ता ठूला घोटालामा सरकारले नेपाललाई विश्वमै लज्जित पार्ने काम गरेको छ’, पूर्वमन्त्रीसमेत रहेका थापाले भने।

कञ्चनपुरमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको आरोप लगाए। ‘जताततै भ्रष्टाचार मौलाएको छ तर सरकार त्यसको संरक्षण गरिरहेको छ’, नेता पौडेलले भने, ‘दुई तिहाइ सरकार निकम्मा छ, नेकपाले केपी ओलीको विकल्प दिन सकेन।’

बैतडीमा सरकारविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गरेको छ। पार्टी कार्यालयबाट सुरु भएको र्‍याली गोठलापानी, शाहीलेक हुँदै गढीमा कोणसभामा परिणत भएको थियो। बाजुरामा पनि सरकारको विरोध गरिएको छ।

अन्नपूर्ण पोष्टमा खगेन्द्र भण्डारी लेख्छन्- डोटीमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले सरकारको ज्यादतीविरुद्ध जनता एकसाथ सडकमा उत्रिनुपर्ने बताए। अछामको विरोध सभालाई केन्द्रीय सदस्य एनपी साउदले सम्बोधन गरे। उनले यो सरकार पूर्णरूपमा असफल भएकाले शीघ्र निर्वाचन हुनुपर्ने जिकिर गरे। पूर्वमन्त्री साउदले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्न नसक्ने भएकाले सरकार विघटन हुनुपर्ने बताए। बझाङमा कांग्रेस कार्यकर्ताको निधनका कारण विरोध कार्यक्रम भएन।

ताजा खबर