प्रधानमन्त्री ओलीले जन्मदिनमा गरेको बाचा पूरा हुँदा स्थानिय हर्षित

२०७७ मङ्सिर २८ आइतबार ०९:००:०० मा प्रकाशित

– गत वर्ष फागुन ११ गते आफ्नो ६९ औं जन्मदिन आफ्नै जन्मस्थानमा मनाउने उद्देश्यसहित प्रधानमन्त्री केपी शर्मा ओली पुख्र्याैली घर आठराई–४ इवा आए । धेरैले आलोचना गरेको प्रधानमन्त्रीको जन्मदिनको कार्यक्रममा उनले इवामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेर फर्किए । 


त्यसपछि एकाएक तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकीको पुरानो भवनमा प्राविधिक शिक्षालय सञ्चालन हुने हल्ला गाउँभरी फैलियो । 'नेताकाे बाेली त हाे' भन्दै स्थानियले पटक्कै विश्वास गरेनन् । तर प्रधानमन्त्रीको घोषणाको आठ महिनापनि नबित्दै पुरानो भवन मर्मत सम्भार भयो । नवौं महिनामा यहाँ प्राविधिक शिक्षालयका आन्तरिक संरचना तयार पारियो । 


क्रमश प्राध्यापक आए, विद्यार्थी आए, आवेदन लिइयो, अध्ययन गर्न पाउने विद्यार्थीको सूची सार्वजनिक भयो । गत शुक्रबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट बहुप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन भयो । 


उद्घाटन पश्चात आश्चर्य र खुशी व्यक्त गर्दै स्थानिय गणेश प्रसाईं भन्छन्– ‘साँच्चै नेताहरुले चाहँदा जे पनि हुनेरहेछ । अब शिक्षालयले यहाँको अवस्था बदल्ने छ ।’ शिक्षालय स्थापनापछि तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकाका सबै स्थानियबासी खुशी भएका छन् । स्थानियको शंका विपरित ८० जना विद्यार्थीले बाली विज्ञान र पशु विज्ञान विषय पढ्न थालेका छन् । 


यहाँ स्थापित शिक्षालयले तेह्रथुमसहित छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका विद्यार्थीले समेत कम खर्चमा प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् । 


प्रधानमन्त्री ओलीले औपचारिक शिक्षाको शुरुवात गरेको इवास्थित प्रणामी माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकी यहाँ प्राविधिक शिक्षालय स्थापनाले पूर्वी पहाडका आम सर्वसाधारण खुशी भएको बताएका छन् । उनी भन्छन्– ‘यहाँका नानीहरु बाहिर गएर पढ्नुपथ्र्याे, विज्ञान संकाय कहीँ पढाइ हुँदैनथ्यो । अब आफ्नै ढिँडोरोटो खाएर आफ्नै ठाउँमा पढ्न पाएका छन् ।’


आफ्नी छोरीलाई करिब एक लाख ८० हजार रूपैयाँमा प्राविधिक शिक्षा पढाइरहेका प्रधानाध्याक बुढाथोकी आठराईमा करिब ५० हजार रूपैयाँमै सोही तह पठनपाठन हुने कुराले झनै दङ्ग छन् । 


शिक्षालयमा केही प्राध्यापक तथा कर्मचारी नियुक्त गर्न बाँकी छ । दुर्गम ठाउँ भएपनि ८० जनाको कोटामा एक सय ३६ विद्यार्थीले अध्ययनका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये माध्यमिक शिक्षा परीक्षा (एसइई)मा प्राप्त अकंका आधारमा ८० जना छनोट भएका हुन् ।
 

ताजा खबर