‘म सभापतिको उम्मेदवार बन्न सक्छु’– डाक्टर रामशरण महत

२०७७ मङ्सिर २६ शुक्रबार १६:३६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले आफू पार्टी सभापति पदको सम्भावित उम्मेदवार भएको बताएका छन् । उपयुक्त समयमा निर्णय गरेर पार्टीको नेतृत्वमा उत्रिन सक्ने नेता महतको भनाई छ । 

केन्द्रीय सदस्य महत भन्छन्– ‘पार्टीका कार्यकर्ता र साथीहरुले चाहेको खण्डमा म नेतृत्वमा आउन सक्छु । तर म मात्रै हुनुपर्छ भन्ने दावी मेरो छैन, पार्टीको नेतृत्व सम्भव भएसम्म निर्विरोध हुनुपर्छ भन्ने मेरो बिचार हो ।’

पार्टीमा योगदान, वरियतामा वरिष्ठता र सरकारमा संलग्न भएको अनुभवका आधारमा आफू नै सभापति पदका लागि उपयुक्त पात्र भएको समेत उनले बताए । तर अहिलेदेखि ‘यही चाहिन्छ’ भन्दै अघि बढ्दा पार्टीमा गुटबन्दी हुने नेता महतको भनाई छ ।

यस्तै नेता महतले आफ्नो पार्टी नेपाली कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निभाउन नसकेको पनि खुलेर चर्चा गरेका छन् । सरकारमा सुशासनको अभाव रहेको र भ्रष्टाचार मौलाउँदा पनि प्रतिपक्षको भूमिका गौण भएको भन्दै आफ्नै पार्टीको नेतृत्व र व्यवस्थापकीय पंक्तिलाई इङ्गित गरेर उनले आलोचना गरेका छन् । नेता महतले सरकारको मूल्यांकन पनि गरेका  छन् । उनी भन्छन्– ‘यो सरकार दाबी ठूलो ठूलो गर्छ, धाक ठूलो ठूलो दिन्छ, तर क्रियाकलाप चाहिँ धाक र दाबीको विपरित छ ।’

नेता महतले संघीयता र देशमा बढ्दो राजावादी आन्दोलनको प्रसंगमा पनि स्पष्ट विचार व्यक्त गरेका छन् । उनले नेपालमा संघीयता मात्र नभएर विकेन्द्रीत संघीयता भएको हुँदा यसलाई ‘पोलिटिकल सुपरस्ट्रक्चर’को रुपमा व्याख्या गरेका छन् । तर आर्थिक रुपमा धान्न मुस्किल पर्ने हुँदा व्यवस्थापनमा सुधार हुन जरुरी रहेको समेत बताएका छन् । 

बढ्दो राजावादी आन्दोलनको विषयमा भने नेता महत थोरै लचक देखिएका छन् । उनी भन्छन्– ‘नयाँ पद्दति र नयाँ संविधानसँग जनताको ठूलो आस थियो । त्यो पूरा हुन नसकेकैले राजा फेरी चाहियो भन्ने आवाज सुनिएको हो । यी विरोधहरुका लागि सरकार जिम्मेवार छ । तर तत्कालै सत्ता परिवर्तन गरिहाल्न जरुरी छैन ।’

उनले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको बताउँदै नेपाली कांग्रेसले नै संविधानको रक्षा र कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

उनले आगामी आम निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो अवसर भएको बताउँदै त्यसका लागि अहिलेदेखि नै तयारी गर्न जरुरी रहेको बताएका छन् । दृश्य टेलिभिजनसँग नेता महतको रोचक वार्तालाप हेर्न तलको भिडियोमा क्लिक गर्नुहोला-

 

ताजा खबर