गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा क्रिकेट प्रतियोगिता हुँदै 

२०७७ मङ्सिर २५ बिहीबार ०९:३८:०० मा प्रकाशित

– भरतपुर महानगरपालिकको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा गौतमबुद्ध कप, २०२० हुने भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा मंसिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो ।

 
प्रतियोगिता खेल निर्माणाधिन रंगशालाको नमूना मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउने तीन टोलीको खेलाडी सहित नाम सार्वजनिक भएको छ । 


प्रतियोगितामा टिम बागमती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने छन् । बागमतीको कप्तानीमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै नारायणीको कप्तानी राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले गर्नेछन् । राप्तीको कप्तानीमा भने विनोद भण्डारी रहेका छन् । 


प्रतियोगिताको पहिलो खेलमा मंसिर २७ गते बागमती र नारायणी भिड्नेछन् । दोश्रो खेलमा मंसिर २८ गते बागमती र राप्ती भिड्नेछन् । यस्तै तेश्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । 


शीर्ष दुई टोली फाइनलमा मंसिर ३० गते भिड्नेछन् । सबै खेलहरु राष्ट्रियस्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । कोरोना संक्रमणका कारण दर्शकदीर्घा भने खाली हुनेछ । 


प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले प्राविधिक सहयोग गर्नेछ । यस्तै बागमती प्रदेश खेलकुद विकास समिति र भरतपुर महानगरपालिकाको आर्थिक सहयोग रहनेछ । 
 

ताजा खबर