सुर्खेतमा समातिए आठजना नक्कली परीक्षार्थी 

२०७७ मङ्सिर २५ बिहीबार ०९:०५:०० मा प्रकाशित

– जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान संगीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका ७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका २ दैलेख बस्ने रणबहादुर रावलको स्थानमा सोही ठाउँका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । 


त्यस्तै भगवती गाउँपालिका ७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका ७ दैलेखका चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ दैलेखका २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए । 


त्यसैगरी भेरी नगरपालिका १० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका २ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका १० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका १ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको उनले बताए । 


प्रहरीले नक्कली प्रशिक्षार्थी मिलाइदिे पञ्चपुरी नगरपालिका २ सुर्खेतका २१ वर्षीय दीपक कँडेललाई पनि पक्राउ गरेको छ । यही मंसिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको र उनीहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 

ताजा खबर