कारागारभित्र बिरामी नै बिरामी

२०७७ मङ्सिर २३ मंगलबार १०:४७:०० मा प्रकाशित

– कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये एक सय ६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । 


उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत बिरामी कैदीबन्दीलाई यहाँ पठाउँदा बिरामीको संख्या धेरै भएको हो । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर, नवलपरासी, धादिङ, गोरखा, मकवानपुर, पोखरा, भोजपुर, काठमाडौंलगायत जिल्लाबाट चितवन कारागारमा बिरामी कैदीबन्दी पठाउने गरिएको छ । 


हाल कारागारमा उच्च रक्तचापका ७३, मधुमेहका ६२, थाइराइडका ११, मुटुरोगी ६, एचआइभीस संक्रमित तीन, छारेरोगका दुई, पक्षघातका दुई, तथा नसा, कुष्ठरोग र क्षयरोगका एक÷एक जना रहेको काफ्लेले बताए । 


उनका अनुसार बिरामीमध्ये सबैभन्दा धेरै चितवनका छन् । जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण स्वास्थ्यमा समस्या देखिएसँगै कैदीबन्दीलाई यहाँ पठाउने गरिएको छ । 


हाल कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी छन् । दुई सय ५५ जना पुरुष क्षमताको कारागारमा हाल ६ सय ४४ पुरुष छन् । यस्तै २५ जना क्षमताको महिला बन्दीगृहमा ५५ जना महिला र दुई आश्रित बालबालिका छन् । 


उनीहरुको स्वास्थ्य उपचारका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा ४८ लाख ७५ हजार खर्च गरेको थियो । हाल कोभिडका १९ का कारण बजेटमा कटौती भएको छ । अहिले उपचारका लागि २२ लाख रूपैयाँ विनियोजन गरेको काफेलेले जानकारी दिए ।

ताजा खबर