काठमाडौंले बल्ल पाउने भयो ‘फोहर फाल्ने ठाउँ’

२०७७ मङ्सिर २३ मंगलबार ०९:५५:०० मा प्रकाशित

– महानगरबासीको प्रमुख समस्याको रुपमा रहेको फोहरको समस्या अब समाधान हुने चरणमा रहेको छ । अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणधीन दीर्घकालिन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । 


पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको छ । केही समय कोरोना भाइरस संक्रमणका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्र गतिमा भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । 


उनका अनुसार ल्याण्डफिल साइट निर्माणको काम अन्तर्गत अहिले माटो मिलाउने काम भइरहेको छ । दुई साताअघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा यही मङ्सिर १५ देखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका थिए । 


हाल निर्माण भइरहेको दीर्घकालिन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।  करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहित फोहर विसर्जनस्थल २०७६ वैशाख २२ गतेबाट कोशी एण्ड न्यौपाने जेभी कम्पनीले बनाउने सम्झौता भएको थियो । विसर्जन स्थल निर्माण गर्न ३४ करोड ६८ लाख ७४ हजार आठ सय ९५ रूपैयाँको सम्झौता भएको थियो । 


विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा विसर्जन गरिँदै आएको थियो । अव्यवस्थित र वातावरण प्रतिकुल भएकाले बारम्बार स्थानियले विरोध गरेपछि सरकारले बन्चरेडाँडामा दीर्घकालिन फोहर व्यवस्थापन स्थल बनाउने निर्णय गरेको थियो । 


हाल उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर निस्कन्छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी दुई सय गाडी फोहर सिसडोल लगिने गरिएको छ ।


 

ताजा खबर