७५ फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

– भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा नेपाल आमाको मूर्ति बन्ने भएको छ । ७५ फिट अग्लो हुने मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग १० करोड ८१ लाख रूपैयाँको ठेक्का सम्झौता समेत गरिएको छ ।
निर्माण कम्पनीले नेपाल आमाको मूर्तिको तीन वटा नमूना तयार गरेको छ । काठमाडौंबाट आउने विज्ञ टोलीले मूर्तिको नमूनाको अवलोकन, अध्ययन र विश्लेषण गरी तयार गरेको प्रतिवेदनका आधारमा एउटा मूर्ति निर्माणका लागि छनोट गरिने महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका सचिव बिर्खबहादुर मल्लले बताए ।
सम्झौता भएको साढे तीन वर्षभित्र मूर्ति निर्माण गर्नुपर्ने छ । बालसन्त जगद्गुरुले नेपाल पैदलयात्रा गरेर संकलन गरेको दुई करोड, भीमदत्त नगरपालिकाले ५० लाख, प्रदेश सरकारको ५० लाख र संघीय सरकारको ५० लाख रूपैयाँ मूर्ति निर्माणमा लगानी भएको छ ।
निर्माण कम्पनीले दुई वर्ष नौ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्ने छन् ।
तीन रोपनी जग्गामा मूर्ति निर्माण हुने छ । मूर्तिको दाँयाबाँया गाई र बाघको मूर्ति, नेपालको नक्सा, नेपालका राष्ट्रिय प्रतीक चिह्न र नेपालको सबै तीर्थको प्रतिनिधित्व हुने गरी संग्रहालयसमेत निर्माण हुनेछ ।