कोरोनाको त्राश: के संक्रमण दोहोरिन्छ ?

२०७७ मङ्सिर २१ आइतबार ११:००:०० मा प्रकाशित

काठमाडौं : पत्रकार खगेन्द्र दाहाललाई दोस्रो पटक कोरोना पोजिटिभ देखिएको छ। तर, पहिलो र दोस्रो भाइरस एकै प्रकृतिको हो÷होइन, यकिन छैन। पहिलो पटक सहजै निको भएका उनलाई यसपटक गाह्रो महसुस भइरहेको छ। भेरी अञ्चल अस्पतालको शय्याबाट उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘यसपटकको संक्रमण खतरापूर्ण लाग्दै छ। तैपनि जितेर निस्कनु नै छ।’

उनले पहिलो पटक साउन २१ गते पीसीआर परीक्षण गराएका थिए। साउन २३ गते आएको रिपोर्टले कोरोना पोजिटिभ देखायो। स्थानीय होटलमा १४ दिन र घरमै ७ दिन आइसोलेसनमा बसे। उनले एक महिनामा पूर्ण स्वास्थ्यलाभको महसुस गरे। त्यसपछि प्लाज्मा दान गरे। पूर्ववत् दिनचर्यामा फर्किए। तर, सुरक्षा मापदण्ड अपनाउँदा–अपनाउँदै पुनः संक्रमण भयो।

 

उनले दोस्रो पटकको संक्रमणमा फरक अनुभूति गरेका छन्। मंसिर १५ गतेदेखि ज्वरो आउन थाल्यो। लगातार ज्वरो आएपछि १७ गते पीसीआर परीक्षण गराए। मंसिर १८ गते पोजिटिभ भएको रिपोर्ट आयो। ‘१०२ डिग्री ज्वरो आयो’, उनले भने, ‘विस्तारै शरीर दुख्ने भयो। टाउको दुख्न थाल्यो। खानाको स्वाद हरायो। सास फेर्न पनि गाह्रो हुन थाल्यो।’ पहिलो पटक संक्रमण हुँदा सामान्य रुघाखोकी थियो। 
०००

काठमाडौंका एक व्यक्तिमा पनि दोस्रो पटक पोजिटिभ रिपोर्ट आएको छ। ‘पहिला कुनै लक्षण थिएन। आइसोलेसनमा बसेर डिस्चार्ज भइयो। दोस्रो पटक भने ज्वरो पनि आयो। सामान्य लक्षण देखियो’, निजी अस्पतालमा भर्नारत ती संक्रमितले भने।

उनको उपचारमा संलग्न संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पुनः संक्रमण भएकामा शंका व्यक्त गर्छन्। ‘सायद पहिलो प्रयोगशालाको रिपोर्ट 

त्रुटिपूर्ण  थियो कि जस्तो लाग्छ। पहिलो पटक संक्रमण हुँदाको स्वाब र दोस्रो संक्रमण हुँदाको स्वाबसहित जिन सिक्वेन्सिङ गर्नुपर्छ’, डा. सुवेदी भन्छन्, ‘अहिल्यै संक्रमण दोहोरिएको प्रमाणित गर्ने कार्य गाह्रो हो।’  

डा. सुवेदीका अनुसार प्रयोगशालाबाट हुने गलत रिपोर्टका कारण पनि रिपोर्ट त्रुटिपूर्ण हुन सक्ने सम्भावना रहन्छ। ‘साँच्चिकै दोस्रो पटक पनि संक्रमण भएको हुन सक्छ। तर, त्यो पुष्टि गर्न गाह्रो छ’, उनी भन्छन्।
०००

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत एक नर्समा पनि दोस्रो पटक कोरोना संक्रमण देखियो। ३७ वर्षकी यी नर्समा वैशाख ३१ गते पहिलो पटक कोरोना देखिएको थियो। त्यसबेला लक्षण देखिएन। दोस्रो पटक साउन अन्तिम साता पोजिटिभ भएको  रिपोर्ट हात परेको थियो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी नेपालमा पनि पुनः संक्रमण भएको हुन सक्ने आशंका व्यक्त गर्छन्। ‘संक्रमणबाट मुक्त भएको समय जति बढ्दै जान्छ, पुनः संक्रमणको जोखिम उत्तिकै रहन्छ’, डा. मरासिनी भन्छन्, ‘एकपटक पोजिटिभ भएका व्यक्ति पुनः संक्रमित भएको फाट्टफुट्ट केस देखिन थालेको छ।’ कोरोना संक्रमणपछि शरीरमा विकसित एन्टीबडी कोरोना भाइरसविरुद्ध लड्न लामो समय (महिनौंसम्म) सक्रिय रहँदैन भन्ने पुष्टि हुन थालेको डा. मरासिनीको भनाइ छ।
०००

पुनः संक्रमण पुष्टि चुनौतीपूर्ण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनलाई केही संक्रमितले आफूलाई दोस्रो पटक संक्रमण भएको जानकारी दिँदै सल्लाह माग्न थालेका  छन्। डा. पुन भन्छन्, ‘दोस्रो पटक कोरोना पोजिटिभ भनिहाल्न गाह्रो छ। पुष्टि गर्नै गाह्रो भइरहेको छ। वैज्ञानिक ढंगले परीक्षण नगरी दोस्रो पटक पनि संक्रमण भएको भनिहाल्न सकिँदैन।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोरोना संक्रमण दोस्रो पटक हुने सम्भावना न्यून रहेको बताउँछन्। पहिलो र दोस्रो पटक भएको संक्रमणबीचको भिन्नताबारे फरक छुट्याएपछि मात्र पुनः संक्रमणबारे यकिन थाहा हुने उनको भनाइ छ। ‘दोस्रो पटक पनि कोरोना पोजेटिभ आएको हो भने पहिलो पटकको रिपोर्ट गलत (फल्स रिपोर्ट) पो थियो कि ? दोस्रो पटक कोरोना संक्रमण हुनै सक्दैन भन्न पनि सकिँदैन’, उनी भन्छन्, ‘पुनः संक्रमण पुष्टि गर्नका लागि जिन सिक्वेन्सिङ गर्नुपर्छ। सम्पूर्ण विवरण र परीक्षण एवं जाँचपछि मात्र यकिनसाथ भन्न सकिन्छ।’

उनी पीसीआर परीक्षणको गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन्। भन्छन्, ‘अहिले ल्याबको विश्वसनीयतामा पनि प्रश्न उठेको छ। पीसीआर परीक्षण गरिरहेका सबै ल्याबको अनुगमन एवं नियमन गर्न जरुरी छ।’

नेपालमा २ लाख ३९ हजार ८ सय ८५ जनालाई कोरोना संक्रमण भइसकेको छ। संक्रमणबाट निको भएकाहरूको संख्या २ लाख २४ हजार ५३ जना पुगेको छ। तर, कोरोना पुनः संक्रमणको पुष्टि कतैबाट भएको छैन। यद्यपि, निको भएर पूर्ववत् दिनचर्यामा फर्केकाहरू पनि पुनः संक्रमणको रिपोर्ट हातमा लिएर बसेका छन्। पहिले र दोस्रो पटक संक्रमण गराउने भाइरस एकै प्रकृतिको हो कि फरक प्रकृतिको नेपालमा अध्ययन भएको छैन। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली पहिलो र दोस्रो पटक गराएको संक्रमण एउटै भाइरसले हो कि होइन भन्ने अध्ययन गर्नुपर्ने बताउँछन्। ‘अर्को कुनै फरक खालको भाइरस (जिन)का कारण संक्रमण भएको  पनि हुन सक्छ। निमानिया वा इन्फ्लुएन्जाका कारण पनि पोजिटिभ देखिएको हुन सक्छ’, डा. ज्ञवाली भन्छन्, ‘त्यसैले एउटै खालको भाइरसले गर्दा पोजिटिभ रिपोर्ट आएको हो भन्ने ठोकुवा गर्ने र हचुवाका भरमा पुनः संक्रमण भएको भन्न मिल्दैन। तथ्यका आधारमा बोल्नुपर्ने हुन्छ।’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे हालसम्म पुनः संक्रमणको घटनाबारे कुनै जानकारी नभएको बताउँछन्। ‘कोभिड–१९ को पुनः संक्रमण भएको कुनै प्रमाण हामीसमक्ष  छैन’, डा. पाण्डे भन्छन्।

जिन सिक्वेन्सिङको खाँचो
नेपालमा कति प्रकारका जिन बोकेका कोरोना भाइरस छन् भनेर अनुसन्धान भएको छैन। परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवाली अध्ययन भइनसकेकाले नेपालमा कोरोनाको पुनः संक्रमण पुष्टि नहुने बताउँछन्। ‘पहिले संक्रमण भएको भाइरस (जिन)को सिक्वेन्सिङ गरेपछि मात्र थाहा हुन्छ’, उनी भन्छन्, ‘पहिले र दोस्रो पटकको संक्रमणमा एउटै भाइरस पुष्टि भएपछि मात्र पुनः संक्रमण भन्न मिल्छ।’

विकसित मुलुकमा जिन सिक्वेन्सिङ गरेर भाइरसको प्रकार पत्ता लगाउन शुरु गरिएको छ। अमेरिका र युरोपेली मुलुकमा भने पुनः संक्रमणका केस पुष्टि भएको डा. सुवेदी बताउँछन्। ‘कोरोना महामारी भएका मुलुकमा एकदमै थोरै संख्यामा मात्र पुनः संक्रमण भएको छ। जिन सिक्वेन्सिङ गरेरै पुनः संक्रमण पुष्टि भएका केस पनि पाइएका छन्’, उनी भन्छन्।

अन्नपूर्ण पोष्टमा दिनेश गौतमको रिपोर्टमा लेखिएको छ- डा. पुनका अनुसार भारतमा पुनः संक्रमण पुष्टि भएका केस कडा पाइएका छन्। ‘संक्रमितलाई लामो समय उपचार गर्नुपरेको छ। भारतमा पुनः संक्रमितमा पहिलो र दोस्रो पटकको भाइरसको जिनमा भिन्नताबारे केही सार्वजनिक भएको छैन। 

ताजा खबर