सेवाग्राहीको रोजाइमा अनलाइन राजस्व प्रणाली

२०७७ मङ्सिर २० शनिबार १०:२०:०० मा प्रकाशित

– काठमाण्डौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रू ४३ करोड २६ लाख ५५ हजार पाँच सय ७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व संकलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रू २१ करोड ५० लाख असुल गरेको छ । 


यस्तै सम्पत्ति करमा रू १० करोड ७१ लाख र व्यवसाय करमा रू चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ । अहिलेसम्ममा सबैभन्दा बढी वडा नं १ बाट रू तीन करोड सात लाख ५५ हजार संकलन भएको छ । 


सबैभन्दा कम वडा नं १८ बाट रू चार लाख ९८ हजार असुल भएको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए । 


उनका अनुसार अनलाइन प्रणालीबाट राजस्व संकलन कार्यलाई नागरिकले सहजसाथ लिएका छन् । कर तिर्नका लागि कार्यालय आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ । यहीअनुरुप कर संकलन भए लक्ष्यभन्दा बढी असुल हुनेछ । गत आर्थिक वर्षमा ८३ प्रतिशत रकम असुल भएको थियो । 


अनलाइन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउनु हो । 


यसमा करदाताले बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांकन करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली इ सेवा, कनेक्ट आइपीएस, फोन पे, आइएमइ पे, प्रभु लगायतबाट भुक्तानी गर्न सक्छन् । 

ताजा खबर