शिक्षा आयोग परीक्षा भदौ ३ गते 

२०७४ असार ६ मंगलबार ०८:३५:०० मा प्रकाशित

भक्तपुर, ६ असार ।  अस्थायी शिक्षक ब्यवस्थापन गर्न शिक्षक सेवा आयोगले तय गरेको मिति सारेको छ । यस अघि असार २४ गतेका लागि तय भएको परीक्षा आगामी भदौ ३ गतेका लागि सारिएको आयोगका अध्यक्ष ताना गौतमले बताए । परीक्षामा सहभागि हुनका लागि दरखास्त हालेका शिक्षकहरुको फारममा केही त्रुटि फेला परेपछि मिति सारिएको उनको भनाई छ ।

संकलित फारम माथि छानवीन गरिरहेका थियौं तर केही त्रुटि फेला परेपछि हामीले परीक्षा नै सार्नु पर्ने भयो उनले भने परीक्षार्थीकै हितका लागि हामीले मिति सारेका हौं । अस्थायी शिक्षक ब्यवस्थापनका लागि गत चैत १८ गते ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलिएको थियो ।

उक्त विज्ञापनमा परेको दरखास्त माथि आयोगले छानविन शुरु गरेको थियो । कतिपय उम्मेद्वार दोहोरिन सक्ने, अस्थायी शिक्षकहरुले पटक पटक हालेका मुद्धामा अदालतले गरेको आदेशको अध्ययन गर्नु पर्ने, शैक्षिक योग्यता लगायतका विषयलाई आधार मानेर आयोगले छानविन गरेको थियो । लाईसेन्स नभएको, तालिम पनि नलिएको र लियन शिक्षकका सन्दर्भमा अदालतबाट जारी आदेशलाई ख्याल गर्नु पर्ने भएकोले संकलित दरखास्त माथि मिहिन छानविन गर्दा केही त्रुटि फेला परेको गौतमले बताए ।

दरखास्त रुजु तथा छानवीन हुँदा केही उम्मेदवारहरुको विज्ञापन नम्बर, तह, विषय परिवर्तन भएको देखिन आएकोले उम्मेदवारहरुको हितलाई ध्यानमा राखी परीक्षा सारेको आयोगले जारी गरेकोसूचनामा उल्लेख छ । अस्थायी शिक्षक ब्यवस्थापनका लागि शिक्षा ऐनमै तीनवटा बर्ग छुट्याईएको छ । २०४९ पुस २० भन्दा अघि, ०४९ पुस २१ देखि २०६१ साउन २१ सम्म र २०६१ साउन २२ देखि संविधान जारी भएको मिति २०७२ असोज २ गते सम्म नियुक्त अस्थायी शिक्षकलाई ब्यवस्थापन गर्ने ऐनमा ब्यवस्था छ ।

सोही अनुसार आयोगले पनि हरेक तहका लागि ३ वटा वर्गमा छुट्टा छुट्टै संकेत राखेर  विज्ञापन गरेको छ । जस अनुसार प्राथमिक तहका लागि १०१, १०२ र १०३ विज्ञापन संकेत छ भने निमाविका लागि २०१, २०२, २०३ र माविका लागि ३०१, ३०२ र ३०३ विज्ञापन संकेत उल्लेख छ । अहिले सम्मको ट्रेण्ड हेर्दा ०१ बर्गमा ८० प्रतिशत, ०२ बर्गमा ५० देखि ६० प्रतिशतले सुविधा लिने अपेक्षा गरेर आवेदन नहालेको आयोगले प्रारम्भिक अनुमान गरेको छ । ०३ वर्गका भने लगभग पुरै अस्थायी शिक्षक आयोग लड्ने तयारीमा छन् । यो बर्गमा २०६१ साउन २२ देखि संविधान जारी भएको मिति २०७२ असोज २ गते सम्म नियुक्त अस्थायी शिक्षक पर्छन् ।
 

ताजा खबर