किन चुनावी मैदानमा उत्रिए यी कलाकार

२०७४ कार्तिक २७ सोमबार १३:०५:०० मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन तयारीको लागि राजनीतिक दलका कार्यकर्ता मात्र होइन, कलाकार पनि क्रियाशील हुन थालेका छन् । आफू निकटका राजनीतिक दलका उम्मेदवारलाई जिताउन थुप्रै कलाकार दिनरात खट्ने गरेका छन् । अभिनेत्री करिश्मा मानन्धर, अभिनेता नवल खडका र निर्माताहरु प्रदीपकुमार उदय,उद्धव पौडेल र मधुकुमार श्रेष्ठ लगायतलाई त सम्बन्धित पार्टीहरूले सांसद उम्मेदवारका रूपमा चुनावी मैदानमै उतरेका छन् ।

अभिनेत्री करिश्मा मानन्धर नयाँ शक्ति पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार बनेकी छन् । पार्टीले थ्रेसहोल्ड कटाउन सके करिश्मा अब प्रतिनिधिसभा सांसद बन्ने छिन् । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा नयाँ शक्तिबाट करिश्माको नाम पहिलो नम्बरमा आउँदा निकै चर्चा चलेको थियो । पार्टीको केन्द्रीय समिति सदस्य रहेकी नायिका करिश्माले आफ्नो पार्टीको बिचार र उद्देश्यलाई बुझेर पार्टीलाई सहयोग गर्न आग्रह गरेकी छन् । उनी भन्छिन् –‘ म समानुपातिकबाट उम्मेदवार बनेकी छु, त्यसैले एकै ठाउँमा मात्र बस्ने कुा भएन । अहिले पार्टीका प्रत्यक्ष उम्मेदवारहरूलाई सहयोग गर्न विभिन्न जिल्ला पुग्ने क्रममा छु ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष उद्धव पौडेल पनि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । गोपीकृष्ण हलका मालिक निर्माता पौडेल हिजोआज पार्टी र साथी भाइलाई जिताउन मतदाताको घरदैलामा व्यस्त देखिन्छन् । यसभन्दा पहिला २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट उठेका थिए पौडेल तर उनले हार व्यवहोर्नु परेको थियो  ।

‘भीमदत्त’ ‘दशगजा’, जस्ता राजनीतिक विषयमा फिल्म बनाएका निर्माता एवं कलाकार नवल खड्कालाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश नम्बर १ बाट प्रदेश सभातर्फ समानुपातिकको बन्दसूचीमा समावेश गरेको छ । वाम गठबन्धनलाई विजयी गराउन सामाजिक सञ्जालमार्फत मतदातालाई अनुरोध गरिरेहका खड्का अहिले चुनावी सभाहरूमा भाग लिन व्यस्त देखिन्छन् ।

नेपाली कांग्रेस मार्फत धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ प्रदेश सभासद उम्मेदवार बनेका छन् निर्माता मधुकुमार श्रेष्ठ । ‘स्पष्ट बिचार, साझा सरोकार र जनहितमा कार्य सम्पादन गरिनुपर्छ भन्ने मान्यताका साथ नेपाली कांग्रेसले बहुमत प्राप्त गर्नुपर्छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत्लगायत आधारभूत कुराबाट कोही पनि नेपाली वञ्चित हुन नपरोस् ।’

चलचित्र संघका अध्यक्ष एवं निर्माता प्रदीपकुमार उदयलाई पनि राप्रपा प्रजातान्तित्रकले प्रदेश नम्बर ५ बाट समानुपातिक उम्मेदवार बनाएको     छ । विसं. २०४२ देखि राजनीतिमा लागेका उनी राप्रपा प्रजातान्त्रिकका प्रवक्ता पनि हुन् ।

राप्रपाबाट एमाले प्रवेश गरेकी गायिका कोमल वलीले प्रत्यक्ष निर्वाचनतर्फ टिकट पाउने धेरै नै आशा राखेकी थिइन् । तर, उनको आशा निराशामा बदलियो ।  पार्टीले टिकट नदिएपछि उनले दाङ ३ बाट स्वतन्त्र उम्मेदवारी पनि दिइन् तर पछि पार्टीको आग्रहमा उनले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।

यता अभिनेता रवीन्द्र खड्काले आफ्नो पहिलो पार्टी राप्रपाले टिकट नदिएपछि पार्टी परित्याग गर्दै एमालेका उम्मेदवारहरूलाई सघाउने घोषणा गरे । अहिले उनी एमालेका कार्यक्रमहरूमा सक्रियताका साथ लागिपरेका देखिन्छन् ।


 

ताजा खबर