प्रसारण लाइनको सबै टावर ठडियो

२०७७ मङ्सिर १७ बुधबार १०:३७:०० मा प्रकाशित

– म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाबाट पर्वतको खुर्काेट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत दाना र खुर्काेटमा सबस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 


प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण पनि अन्तिम चरणमा पुगेको छ ।


आयोजना प्रमुख चन्दनकुमार घोष भन्छन्– ‘टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान गरिएको छ । फिनिसिङ र परीक्षण सकेपछि एक हप्ताभित्रै प्रसारण लाइन र सबस्टेशन सञ्चालन गर्न सकिन्छ ।’


दानाबाट खुर्काेटसम्म करिब ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएको हो । 


म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्काेटमा सबस्टेशन निर्माण भएको हो । 


आयोजनाको निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजनाको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्याक्ष डमबहादुर पुनले बताए । 


प्रसारण लाइन र सबस्टेशन बनेपछि अनुमति लिएर बसेका अन्य आयोजनाले पनि गति लिने अध्यक्ष पुनले बताए । 
 

ताजा खबर