चुनावको मिति नजिकिँदै छ, कस्तो छ तयारी ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसबीचमा प्रचार समिति गठन गर्ने, विभिन्न ठाउँहरुमा कार्यालय विस्तार गर्ने, टोल भेला गर्ने, कार्यकर्तालाई परिचालन गर्ने, मतदाताको बीचमा पुगेर मत माग्ने लगायतका प्रकृयामा हामी अघि बढिसकेका छौं । घर दैलो सुरु गर्ने योजनाका साथ हामी लागेका छौं । विभिन्न क्षेत्रबाट उत्साहजनक प्रतिकृयाहरु आइरहेका छन् । ठाउँ ठाउँमा अन्य पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गर्नेहरुको लहर नै चलिरहेको छ । कथित बाम गठबन्धनलाई परास्त गर्ने अठोट आम मतदातामा देखिएको छ, जसले गर्दा यस क्षेत्रमा कांग्रेसको पक्षमा जनलहर बढेको पाईन्छ ।

यस क्षेत्रमा के कस्ता एजेण्डाहरु लिएर जनतामाझ जाँदैहुनुहुन्छ ?

संविधान निर्माण भएसँगै अबको मुख्य एजेण्डा भनेको नै आर्थिक क्रान्ति रहेको छ । यस क्षेत्रलाई आर्थिक रुपमा नै सवल र सक्षम बनाउने मेरो मुख्य उदेश्य छ । ७० सालदेखी यता नेपाली कांग्रेसले यस क्षेत्रको नेतृत्व गरिरहेको छ । यो समयमा मावा, बोक्रा, मोरङ्गे, चिसाङ खोलामा पक्की पुलहरु निर्माण कार्य भइरहेका छन् । त्यसलाई पुर्णता दिने मुख्य प्राथमिकता हाम्रो एजेण्डा रहेका छन् । सिन्धुली–चतरा हुँदै झापाको बाहुँनडाँगीसम्म जोड्ने चुरे फेदी वैकल्पिक मार्गलाई लक्षित गरेर केरावारीको खदम खोला, भलुवा खोलामा पक्की पुल निर्माण गर्ने, पूर्वपश्चिम राजमार्गबाट उत्तर जोडिने किसानचोक–टाँडी–रमितेखोला, लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला–ओख्रे सडक, जाँते–साम्लिङ–वारंगी  सडकहरूको स्तरोन्नति र कालोपत्रे लगायत प्रतिवद्धता छन् । यस क्षेत्रका सुकुम्बासीहरुलाई धनिपूर्जा प्रदान गर्नूका साथै यहाँका खोलानालामा बलियो तटबन्धन गर्ने पनि मेरा योजनामा रहेका छन् ।  

  मिक्लु खोलामा पुल निर्माण गर्न सकिन भने राजनीति गर्दिन भनेर सार्वजनिक कार्यक्रममा भन्नुभाको रहेछ ? यस विषयमा तपाईको भनाई के छ ?

मिक्लु खोलामा जसरी भएपनि पुल बनाउँछु, यदि बनाउँन सकिन भने म आउँदिन भनेर वाचा गरेको हो तर राजनीति नै गर्दिन भनेर कहिले पनि भनेको छैन् । यो मेरो विरुद्ध गलत प्रचार गरिएको छ । दिलो ज्यान दिएर यो पुल निर्माणमा लाग्दालाग्दै पनि राजनीतिक अस्थिरताका कारणले गर्दा यो पुल बन्न सकेको छैन् । यो पुल निर्माणका लागी भ्याट सहित साढे ११ करोड बराबरको डिपिआर तयार भइसकेको छ । मैले चुनाव हारे पनि जिते पनि निर्वाचन लगत्तै त्यो काम सुरु हुनेछ ।

 तपाई यस क्षेत्रको निवर्तमान सांसद पनि हुनुहुन्छ, आफ्नो क्षेत्रमा के कस्ता काम गर्नुभयो विगतमा ?

यस क्षेत्रका विभिन्न स्थानहरुमा पुल तथा बाँध निर्माण भएका छन् । चिसाङ, तेली, लोन्द्रा, खदम लगायतका खोलाहरुमा बाध निर्माणका लागी    ५–५ करोडको कार्यक्रम अघाडि बढेका छन् । शैक्षिक क्षेत्रका सुधारका निम्ति करौडौको बजेट भित्राउन सफल भएभने सडक निर्माण, विद्युत विस्तार, खानेपानी, शिक्षा, सामुदायिक भवन निर्माण लगायत विकास निर्माणका काम विगतमा मैले यस क्षेत्रका लागी गरेका काम हुन् ।   
उर्लाबारी–मधुमल्ला–रवि सडक, पूर्वपश्चिम राजमार्गबाट उत्तर जोडिने किसानचोक–टाँडी–रमितेखोला, केराबारी–लेटाङदेखि ६ नं बुधबारे सडक, याङशिला–ओख्रे लगायत विभिन्न स्थानका सडकको स्तरोन्नति र कालोपत्रे गरिएका छन् भने कतिपयमा कालोपत्रे हुने प्रकृयामा रहेका छन् ।

 तपाईको पुरानै प्रतिष्पर्धी घनश्याम खतिवडासँग चुवान लड्दै हुनुहुन्छ, यो क्षेत्रलाई बाम गठबन्धको बलियो क्षेत्रका रुपमा पनि हेरिएको छ यसलाई कसरी लिनुभएको छ ?

सर्वप्रथम त नेकपा एमाले र माओवादीबीच भएको चुनावी एकतालाई बाम गठबन्धन भन्ने पक्षमा म छैन । यो दुई कमुनिष्ट पार्टीबीचको गठबन्धन मात्रै हो । अन्य धेरै कमुनिष्ट पार्टीहरु गठबन्धन बाहिर नै  छन् । यदि सबै कमुनिष्ट पार्टीहरुबीच एलान्स हो भने मात्र बाम गठबन्धन भन्न मिल्छ । घनश्यामजी मेरा पुरानो मित्र पनि हुनुहुन्छ, राननीतिक रुपमा हामीले सँगै काम पनि गरका छौं । उहाँको उम्मेदवारीका बारेमा मेरो केही भन्नु छैन तर कमुनिष्टहरुको गठबन्धनले साम्यवादी बिचार अगाडी सार्ने, अधिनायकवाद लाद्ने, बहुलबाद र लोकतान्त्रिक मुल्यमान्यतालाई समाप्त पार्ने संकेत देखिएकाले हामी लोकतन्त्रबादीहरु त्यसको रक्षाका लागी एकजुट भएर उभिएका छौं । जनताले लोकतन्त्रको संस्थागत बिकास चाहेका छन् र यसलाई संस्थागत गर्न पनि जनताले कांग्रेसलाई नै मतदान गर्नेमा म बिस्वत छु ।

 यस क्षेत्रमा आदिवासीहरुको बाहुल्यता छ, उनीहरुको कला, संस्कृति संरक्षणमा के छन् तपाईका योजना ?

नेपाल बहुभाषिक, बहुजाती, बहुधार्मिक मुलुक हो । यहाँको जातिय, संस्कृति विभिधता नै नेपालको सम्पति हो । नेपाल सबै जाती, भाषा र धर्म मान्नेहरुको साझा फूलबारी हो यहाँ सबैलाई फुल्न पाउनु पर्दछ । यो नै नेपालको सुन्दरता पनि हो । यहाँ रहेका मठमन्दिर,चर्च, गुम्बा लगायतका धार्मिक क्षेत्रका स्तर उन्नति र विकास निर्माणका लागि बजेट विनियोजन गर्नु मेरो अहम भूमिका हुनेछन् ।
 
मोरंगस्थित सरल पत्रिका संवाददाता किशोर श्रेष्ठले गरेको कुराकानीमा आधारित ।
 

ताजा खबर