चलचित्र छायांकनको गन्तव्य बन्दैछ इलाम

२०७७ मङ्सिर १५ सोमबार १२:२६:०० मा प्रकाशित

इलाम । चलचित्रको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने । पछिल्लो समय भने चलचित्रबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा ‘लोकेसन’ खोज्ने र चलचित्रमा समावेश चलन बढेको छ । चलचित्रमा आकर्षक ठाउँ देखेर नै पर्यटक झुम्मिने गरेको देखिन्छ  । इलाममा भने यो नयाँ उद्देश्यका साथ चलचित्र बनाउने क्रम बढेको छ । 

केही समयअघि इलामकै सेरोफेरोलाई आधार बनाएर चलचित्र ‘प्रेम दिवस’ र ‘म यस्तो गीत गाउँछु’ चलचित्र निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको थियो ।


 
प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो चलचित्रमा हालसम्म कुनै चलचित्रमा नदेखाइएका ठाउँ पनि छायाङ्कनमा परेकाले छायाङ्कन क्षेत्र केही राम्रो देखियो । चलचित्रको व्यापार औसत भयो तर पर्यटनको प्रवद्र्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित ‘यस्तो गीत गाउँछु’ चलचित्रबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिलेको पर्यटन व्यवसायीको अनुभव छ । यस्तै, पछिल्लो समय इलामकै भूभागमा नयाँ चलचित्र ‘कृषि लीला’ छायाङ्कन थालिएको छ । 
 
इलामकै ८० प्रतिशत भूभागमा छायाङ्कन गरिने यस चलचित्रले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगरलगायतका क्षेत्रमा छायाङ्कन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायाङ्कन पाँचथरका विभिन्न ठाउँमा गरिने छ । हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवद्र्धन गर्ने चलचित्रको उद्देश्य रहेको चलचित्रका निर्माता केवल तामाङ बताउँछन् ।
  
चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फेलगायतको भूमिका रहने बताईएको छ । “पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ”, नेपाल चलचित्रकर्मी सङ्घ प्रदेश नं १ का अध्यक्ष तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवद्र्धन गर्न गाह्रो भएको सुनाए । 
   
“हामीलाई केन्द्र सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छ”, तामाङले भने, “अहिले त चलचित्रको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन ।” चलचित्रका निर्देशक दीपक ओलीका अनुसार चलचित्रमा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा माया-प्रेम जोडेको आधार रहेछ । 

ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र निर्देशन गरिसकेका छन् । यसअघिका चलचित्र व्यावसायिकरूपमा कमजोर भए पनि ‘कृष्ण लीला’ भने दर्शकले मनपराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । “पैसा कम कमाए भनेर मात्रै पनि सबै चलचित्रलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ”, ओलीले भने । 
 
हुन त इलाममा चलचित्र छायाङ्कन हुने क्रम नौलो होइन । केही वर्षअघि जीवन लुइँटेल र नीता ढुङ्गाना अभिनित ‘नोट बुक’, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित ‘मुर्चुङ्गा’, प्रियङ्का कार्की र स्वस्तिमा खड्का अभिनित ‘नाइ नभन्नु ल–५’,लगायतका चानुचुन दर्जन चलचित्र छायाङ्कन भइसकेका छन् । चलचित्रमा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका चलचित्रमा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ ।

 
   
चलचित्रमा नयाँ क्षेत्र देखाउँदा चलचित्रका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने अपेक्षा गरिएको छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा चलचित्र छायाङ्कन थालेको चलचित्रका अर्का निर्माता रत्न श्रेष्ठले बताए । 
  
यता चलचित्रका नायक पुष्प खड्का उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर चलचित्रमा काम गर्दा नयाँ अनुभव हुने बताउँछन् । “पहिले एउटा चलचित्रमा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो ।” इलामको देउमाई नगरपालिकास्थित पानीटारमा चलचित्र छायाङ्कनमा व्यस्त खड्काले आफूले नयाँ ठाउँमा चलचित्र खेल्न पाएको अनुभव सुनाए । 
   
लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र आउँदो ‘भ्यालेन्टाइन डे’मा ‘रिलिज डेट’ तोकेको निर्माता तामाङले सुना, “स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौँ” । 

चलचित्रमा इलाममै छायाङ्कन गरिएका तीन वटा गीत रहने छन् भने चलचित्र दुई घण्टाभन्दा बढीको रहने बताइएको छ । (रासस)

ताजा खबर