संगीतको बजारमा चर्चामा छिन् सत्य–स्वरुपकी ‘मैसाब’ 

२०७७ मङ्सिर १५ सोमबार १२:०४:०० मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको कवाली शैलीको रोमान्टिक गीत ‘मैसाब’ म्यूजिक भिडियोसहित भर्खरै बजारमा आएको छ ।

  सत्य र स्वरुपको स्वर तथा संगीतमा मैसाबले ‘घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली स्वादको गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएसँगै यसले मिश्रित चर्चा पनि बटुलिरहेको देखिन्छ ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बनेको यो म्यूजिक भिडियोमा दरवारको भेषभूषा र परिवेश झल्किनेगरी दृश्यहरु समेटिएका छन् । विवाहको प्रसंगमा राजकुमारीको मुख हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि सुरु हुने कवालीमा चक्लेटी हिरो कहलिएका पल शाहको दोहोरो भूमिका छ । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनयसँगै नृत्य पनि गरेका छन् । त्यसैगरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पाको अभिनय आकर्षक छ । केही म्यूजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको मञ्चमा उक्लिने क्रममा यो गीतको म्यूजिक भिडियोमा उदाएकी छन् ।

होटल याक एण्ड यतीलाई आलिसान दरवारको रुपमा प्रस्तुत गरिएको छ । आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरिएको छ ।   गायक दाजुभाई सत्यराज र स्वरुपराजले गाएको कवाली भिडियोमा समेटिएको छ । प्रकाश व्यबस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई राम्रो बनाउन सघाएको छ । आलिया गिरीको श्रृंगारप्रशाधनले   दरवारभित्रको सांगीतिक प्रस्तुतिलाई सार्थक बनाएको छ । 

गीतको शव्द रचना अमृत खतिवडा (भाञ्जा भाई) तथा सत्यराज र स्वरुपराजको छ भने संगीत संयोजन उदयराज पौडेलको हो । कैलाश राई (सिक्किम)ले निर्माण गरेको भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिश फागोले सजाएका छन् ।

 कविराज गहतराजले गीतअनुसार लोकेशन र ड्रेस छनौट गरेको सुनाए । यो भिडियो आफ्ना लागि चुनौति भएको उनको अनुभव छ । ‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो । अर्कोतिर सिक्कीमबाट आएको नयाँ अनुहारलाई प्रोफेसनलरुपमा प्रेजेन्ट गर्नु चानुचुने कुरा थिएन । निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छ भन्ने लागेको छ’ कविराजले सुनाए । गायक सत्यराज आचार्यले यो म्यूजिक भिडियो आफूहरुको सांगीतिक करियरमा निकै रोचक सिर्जना महसुस भएको सुनाए ।

‘यसका उच्च आदरार्थी शव्द प्रयोग गरिएका छन् । रोयल तामझामका साथ सुटिङ गरिएको छ । हामीलाई प्रायः स्याड सङमा मन पराइएको थियो । धेरैपछि रोमान्टिक
डान्सिङ नम्बर ल्याएका छौँ’ सत्य भन्छन् ।

‘यो हाम्रो ३ वर्षपछिको एलबम होे । वास्तवमा हामीले यो गीत अमेरिकाको सांगीतिक यात्राका क्रममा बनाएका थियौँ । यसको कम्पोज कवाली गजल टाइपको छ, एरेञ्जमेन्ट मोडर्न डान्सिङ नम्बरमा गरिएको छ । लामो समयपछि आएको भएर हामीले मास र क्लासलाई ध्यान दिएका छौं, स्वरुपराज भन्छन् । 

म्यूजिक भिडियोका छायाँकार सुदीप बराल गीतअनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो निर्माण गरिएको बताउँछन् । निर्माता कैलाश राईले सिक्किमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत यसको म्यूजिक भिडियो तयार बताए । 

मैसाबको म्यूजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट बिहीबार अपरान्ह सार्वजनिक गरिएको हो ।
 

ताजा खबर