पर्यटक भित्र्याउन ‘घुमौं सौराहा’ अभियान 

२०७७ मङ्सिर १४ आइतबार ०९:५९:०० मा प्रकाशित

 – कोरोनाका कारण बन्दाबन्दीले थला परेकाे सौराहाको पर्यटनलाई उकास्न ‘घुमैं सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । 


नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । 


क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैंअघि नै अभियान चलाउन छलफल भएपनि कोरोनाका कारण स्थगित गरिएको बताएका छन् । उनका अनुसार देशका विभिन्न शहरमा सौराहा आउन निमन्त्रणा दिनेदेखि यहाँका पर्यटकीय गतिबिधिको दृश्य समेत देखाइने छ । 


‘दशैं तिहारमा ठूलो अपेक्षा थियो तर पर्यटक आएनन् । स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर पर्यटकलाई सुरक्षित साथ राखिरहेका छौं तर आवगमन निकै कम छ’, भट्टराईले बताए ।

 
यो समय सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याई हुन्थ्यो । 


पर्यटक आवगमन बढाउन होटल तथा रेष्टुराँहरुले कोभिड प्याकेज अन्तर्गत २५ देखि ३० प्रतिशतसम्म छुट दिइरहेका छन् । तर अन्य समयको तुलनामा हाल केवल पाँच देखि सात प्रतिशत पर्यटकमात्र आएका छन् । 


लामो समयदेखि बन्द रहेका यहाँका होटल तथा रेष्टुराँहरु पर्यटन दिवसको दिनदेखि खुलेका थिए । सौराहामा साना ठूला गरेर एक सय ४० होटल छन् भने, करिब ५० वटा रेष्टुराँ सञ्चालनमा रहेका छन् ।  
 

ताजा खबर