महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी 

२०७७ मङ्सिर १४ आइतबार ०९:३१:०० मा प्रकाशित

– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गरेका हुन् । 


महासंघको निर्वाचन समितिका अनुसार विजयी भएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा पाँच सय २२ मत प्राप्त गर्दा प्रधानले तीन सय ७५ मत प्राप्त गरेका थिए । 
वस्तुगतमा भने २० प्रतिशत मत भार रहेकोमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरेका थिए । सबैभन्दा बढी ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरेका थिए । 


निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका छन् । 
यससँगै ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था रहेको छ । 


सोही विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।


वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भए । दुबै उम्मेदवारले प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए । 


वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरेका थिए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गर्दा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरेका थिए । 


यस्तै एसोसिएटतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले चार सय ५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी सौरभ ज्योतीले चार सय ३४ मत प्राप्त गरेका थिए । 


महासंघको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भएका छन् । 


यस्तै गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् । 


मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासंघलाई बलियो र सबल संस्थाको रुपमा अगाडि लैजाने प्रतिबद्धता जनाएका छन् । उनले भने– ‘अब चुनावसँगै प्यानलपनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यावाद दिन चाहन्छु ।’


महासंघको निर्वाचन शनिबार भएको थियो । 
 

ताजा खबर