नेपाली चलचित्र ‘सेतो सूर्य’लाई विश्वप्रशिद्ध साहित्यकार पाउलो कोएलोको बधाई 

२०७७ मङ्सिर १३ शनिबार ०९:४६:०० मा प्रकाशित

– विश्वप्रशिद्ध साहित्यकार पाउलो काएलोले नेपाली चलचित्र ‘सेतो सूर्य’लाई बधाई दिएका छन् । शुक्रबार राति ११ः०९ मा कोएलोले ट्वीट गर्दै महान् नेपाली चलचित्र सेतो सूर्य हेरेको र आफूलाई मन परेको भन्दै ट्वीट गरेका छन् । 


कोएलोले कर्णली ब्लुज र फिरफिरे जस्ता चर्चित किताबका लेखक बुद्धिसागरलाई मेन्सन गर्दै लेखेको ट्वीटमा भनिएको छ –
‘बुद्धिसागर, हिजो मैले महान नेपाली चलचित्र सेतो सूर्य हेरें (निश्चय नै मैले पिटुपी मार्फत हेर्नुप¥यो, अन्य उपाय नै थिएन) । यदी भेट भयो भने कृपया यसका निर्देशकलाई बधाई दिनुहोला ।’

 


पिटुपी एउटा भिडियो स्ट्रिमिङ सफ्टवेयर हो जहाँ पाइरेटेट भिडियो हेर्न सकिन्छ । 


कोएलो ट्वीटलाई फर्काउने क्रममा बुद्धिसागरले यो ऐतिहासिक क्षण भएको बताएका छन् । साथै उनले यस्तो क्षणबारे चलचित्रका निर्देशक र कलाकारलाई थाहा दिने पनि बताएका छन् । 


सेतो सूर्य चलचित्रका निर्देशक दिपक रौनियार हुन् । दिपकले पनि कोएलोको ट्वीट रिप्लाई गर्दै भनेका छन्– ‘धन्यवाद । तपाईले आफ्नो समय निकालेर चलचित्र हेर्नु भएको र यस्तो अभिव्यक्ति प्रकट गर्नुभएकोमा म आभारी छु ।’


साथै उनले कोएलोलाई मेन्सन गर्दै भनेका छन्– ‘म कामना गर्छु कुनैदिन म तपाईको रचना निर्देशन गर्न पाउँ ।’

 


यस्तै राप्रपाका अध्यक्ष कमल थापाले पनि कोएलोको ट्वीटमा लेखेका छन्– ‘विश्व विख्यात रचनाकार पाउलो कोएलोले नेपाली सिनेमाको बारेमा गर्नु भएको प्रशंसाले मन प्रफुल्ल भयो । धन्यवाद, पाउलो कोएलो ।’


सेतो सूर्य सन् २०१६ मा रिलिज भएको चलचित्र हो । चलचित्रमा द्वन्दकालिन परिवेशलाई कथाको आधार मानिएको छ । चलचित्रमा दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, आशा मगराती लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 
 

ताजा खबर