एआईजीको दरबन्दी थप्दा गृहमन्‍त्री र आईजीपीलाई थाहै भएन !

२०७७ मङ्सिर ५ शुक्रबार ०८:५१:०० मा प्रकाशित

काठाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले थाहै नपाई नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी सुटुक्क थपिएको छ। 

नेपाल प्रहरीमा पाँचजना प्रहरी नायब महानिरिक्षक (डीआईजी) को दरबन्दी माग भएकोमा सरकारले एक एआईजीसहित पाँच डीआईजीको दरबन्दी स्वीकृत गरेको हो। गृह मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको दरबन्दी स्वीकृतिको फाइलमा एआईजीको एक दरबन्दी थपेर बुधबार स्वीकृत भएको हो। 

प्रहरी मुख्यालय तथा गृहबाट प्रस्ताव वा माग नै नभएको पदको दरबन्दी मन्‍त्रिपरिषद्‌बाट थपिएको खबर पाउनसाथ गृहमन्‍त्री, गृहसचिव र आइजीपी अचम्मित भएका थिए। आईजीपी क्षेत्रीले गृहमन्त्रीसँग चासो राख्दा यो विषयबारे आफूसमेत अनविज्ञ रहेको गृहमन्त्री थापाले बताएका छन्। उनले यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जानकारी समेत दिएका छन्। स्रोतका अनुसार यो निर्णयप्रति प्रहरी नेतृत्व र गृहमन्त्री थापासमेत असन्तुष्ट छन्।

प्रहरी मुख्यालय र गृह मन्‍त्रालयलाई समेत गुमराहमा राखेर निकै रहस्यमय रुपमा एआइजी पद थपिएको विषयले प्रहरी मुख्यालय र गृह दुवैतिर असन्तुष्टी छ। प्रधानमन्त्रीलाई समेत यो विषयमा गुम्राहामा राखिएको स्रोतको दाबी छ। हालै रक्षामन्त्रीको जिम्मेवारीबाट हटाइका उपप्रधानन्त्री ईश्वर पोखरेलको विशेष पहलमा यो निर्णय भएको स्रोतको दाबी छ। बालुवाटारमा बसेर उपप्रधानमन्त्री पोखरेलले सुरक्षा निकाय र गृहमन्त्रालयको स्वयत्तता खोस्‍ने प्रयास गरेको आरोप गृहले लगाएको छ। 

यो निर्णयले संगठनको नेतृत्व तहमा व्यापक असन्तुष्टि मात्र होइन, निराशा निम्त्याउने प्रहरीका उच्च अधिकृतहरु बताउँछन्। 'नेतृत्वमा पुग्ने चाहना र आशमा प्रतिस्पर्धीहरुले कार्यक्षमता देखाउने र जागरका साथ काम गर्ने प्रहरी भित्र जुन परम्परा थियो, प्रतिस्पर्धाको त्यो बाटोलाई बन्द गर्ने प्रयास भएको छ। यो निर्णयले संगठनमा रहेका अधिकृतको मनोबल र चेन अफ कमाण्डमासमेत नकारात्मक असर पर्नेछ, एक पूर्व एआइजीले भने । 

‘यसले प्रहरीको मनोबलमा मात्र असर गर्दैन प्रतिस्पर्धा नै नहुने अवस्थाको सिर्जना गर्छ’,नेपाल प्रहरीका एक पूर्व डीआईजीले भने, ‘प्रहरीको चेन अफ कमाण्डमा असर गर्छ र राजनीतिकरण बढी हुन्छ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको रोलक्रम सुरक्षित गर्ने नियोजित योजनाअनुसार रहस्यमय रुपमा दरबन्दी थपिएको स्रोतको दाबी छ। अहिले पनि संगठनमा उनीभन्दा अघिल्लो ब्याचका वरिष्ठ डिआइजीहरू छन्। आईजीपी क्षेत्रीकै ब्याची डीआईजीहरुमा ईश्वरबाबू कार्की, घनश्याम अर्याल,  वसन्त पन्त र प्रकाशजंग कार्की छन्। 

यसअघि पोखरेललाई डिआइजी बनाउँदा पनि बढुवाको स्वभाविक रोलक्रम र वरिष्ठता मिचिएको थियो। सिनियरहरूलाई पाखा लगाउँदै उनलाई एक्लै डिआइजीमा बढुवा गरिएकोमा त्यतिबेला उच्च अधिकृतहरूले असन्तुष्टी जनाएका थिए। तत्कालीन डिआइजी सुशील भण्डारीको दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा उनलाई बढुवा गरिएको थियो।  (अन्नपूर्णपोष्टबाट)

 

ताजा खबर