मैले चिन्न खोजेको कवि तिमी

२०७७ कार्तिक ३० आइतबार ११:५१:०० मा प्रकाशित

कोमल मन- विचारका धनी
पूज्य कवि लक्ष्मी तिमी 
युग परिवर्तनका  ‘चिराग' 
कलमका मालिक तिमी
तिमी त्यस युगका बाहुवली
अन्याय चित्कारका युगबाणी
रच्ने तिम्रो साहसिक प्रयास 
युग परिवर्तन अनि थिचाईका 
शंखनाद ध्वनी बजाउने 
अग्रगामी तिमी !

गरीब तिमी थिएनौ कहिल्यै पनि 
महाशैलीका धनी बहुभाषी तिमी 
रुन्थ्यो तिम्रो अन्तरात्मा 
मानवको पीड़ा चित्कार सुनी 
युगले तिमीलाई पागल करार गर्दा 
हाँसीहाँसी शब्दको प्रहार गर्ने तिमी 
क्रुर शासनको युगमा जन्म्यौ तिमी 
समाज-शोषणको पीड़ा सह्यौ 
मर्म आफूभित्र लुकाउॅंदै 
साहित्य धनी पार्ने तिमी
त्यसैले तिमी नै युगको 'प्रमिथियस'
करारी शब्दको आगो प्रहार गर्ने !

कसैले भने तिम्रो त्यहाँ जन्म नै
भौगोलिक त्रुटी भयो 
म भन्छु सायद हो 
तर युगकै त्रुटी पनि, 
किनकि म आज यस युगमा 
तिमीलाई पाउन चाहन्छु—
यस युगमा तिमीलाई ‘मिस ‘ गर्दछु !

पशुपतिको दर्शन गर्न जाँदा
आज पनि आर्यघाटमा लाग्छ 
सजल दुई नेत्रहरु पर्खिए जस्तो 
प्रिय कविज्यू, हजुरको शून्यता 
यस युगमा अतिनै महसुस गरिन्छ 
अनौठो रित्तोपना जब्बरजस्त खेल्दछ  !!

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा)

चर्च रोड, सिलगडी 
१२-११-२०१७

ताजा खबर