कोरोना खोप ९० प्रतिशत सफलताको अर्थ: नेपालमा आउन कति समय लाग्ला ?

२०७७ कार्तिक २९ शनिबार ०७:२९:०० मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोप निर्माण प्रतिस्पर्धामा रहेका दुई निर्माताले यसै साता आफूले बनाएका खोपको प्रभावकारिताको अन्तरिम नतिजा सार्वजनिक गरे। परीक्षणको प्रारम्भिक नतिजाले दुवै खोप कोरोना भाइरस संक्रमण रोक्न ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको दाबी गरिएको छ।

अमेरिकी औषधि निर्माण कम्पनी फाइजर र जर्मन साझेदार कम्पनी बायोएन टेकले कोरोनाविरुद्ध निर्माणाधीन खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको तेस्रो दिन बुधबार रुसले आफूले बनाइरहेको ‘स्पुतनिक–भी’ नामक खोप ९२ प्रतिशत सफल भएको ठोकुवा ग-यो। ११ महिनादेखि विश्व समुदाय कोरोना भाइरसविरुद्धको खोपको पर्खाइमा रहेका बेला यी दुवै समाचारले विश्वभर आशाको सञ्चार गराए। फाइजरले परीक्षणका क्रममा ४३ हजार मानिसमा खोप लगाएकोमा कसैमा पनि स्वास्थ्यमा कुनै जटिल समस्या नदेखिएको र खोप लगाएकामध्ये ९४ जनामा मात्र भाइरस संक्रमण देखिएको दाबी गरेको छ। रुसी कम्पनीले पनि खोप परीक्षण गरिएका १६ हजार मानिसमध्ये २० जनालाई मात्र संक्रमण देखिएको दाबी गरेको छ।

सन् २०१९ को डिसेम्बरमा चीनको बुहानबाट फैलिएको कोरोना महामारीले विश्वमा हालसम्म १२ लाख ९० हजार मानिसको ज्यान लिइसकेको छ भने ५ करोड २५ लाख मानिस संक्रमित भएका छन्।

हालसम्म कोरोना भाइरसको उपचारमा कुनै निश्चित औषधि र खोप नभएका कारण खोपसम्बन्धी यी दुई समाचार प्रिय बने। तर यी दुई खोपका तेस्रो तथा अन्तिम चरणको अन्तरिम सफलताले के अर्थ राख्छ, आगामी चरण के हुन्छन् र खोप कहिलेसम्म उपलब्ध हुन्छ भन्नेमा आमसमुदायमा तीव्र जिज्ञासा छ।

९० प्रतिशत सफलताको अर्थ
कुनै पनि खोप परीक्षणका क्रममा सहभागी गराइएका मानिसमध्ये आधालाई औषधिसहितको खोप लगाइन्छ भने बाँकी आधा (जसलाई कन्ट्रोल ग्रुप पनि भनिन्छ) लाई ‘डमी’ खोप दिइन्छ। ‘प्लासेबो’ भनेर चिनिने यो ‘डमी’ खोप वास्तविकजस्तो देखिए पनि यसमा स्वास्थ्यलाई असर गर्ने कुनै सक्रिय पदार्थ हुँदैन। खोप लगाएका मानिसलाई ‘डमी’ अथवा वास्तविक खोप के लगाएको हो भन्ने थाहा हँुदैन। कुनै खोप ९० प्रतिशतले प्रभावकारी भयो भनेको ‘डमी’ खोप लगाएका सतप्रतिशतमा भाइरसको संक्रमण देखिनु र ‘सही’ खोप लगाएका सयजनामध्ये मात्र १० जनामा संक्रमण देखिनु हो।

यी दुवै खोप निर्माताले दाबी गरेको सफलतालाई अपेक्षा गरेभन्दा राम्रो मानिएको छ। अमेरिकी सरकारको नियमनकारी निकाय ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)’ ले कुनै पनि खोप ५० प्रतिशतभन्दा बढी सफल भएमा त्यसलाई स्वीकृति दिइने बताएको छ। त्यसो त बालबालिकालाई दिइने दादुराको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ भने इन्फ्लुएन्जा खोपको सफलता दर ५० प्रतिशतको हाराहारीमात्र छ।

नेपालमा खोप कहिलेसम्म आउला भनेर निश्चित भन्न नसकिए पनि समग्र अवस्था र प्रयास अपेक्षित रहेमा आगामी तीनचार महिनामा पहिलो लट उपलब्ध हुने विश्वास गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार मार्चसम्म नेपालमा सीमित मात्रामा खोप उपलब्ध हुन सक्छ।

स्मरणीय छ, यो साता सार्वजनिक दुवै खोपको नतिजा अन्तरिम हो, अन्तिम होइन। फाइजरले खोप लगाएकामध्ये १ सय ६४ जना संक्रमित नभएसम्म परीक्षण जारी राख्ने र त्यसपछि मात्र खोपको अन्तिम प्रभावकारिताको दर निक्र्याेल हुने बताएको छ। रुसी खोपको परीक्षण पनि आगामी ६ महिनासम्म जारी राखिने जनाइएको छ। सामान्यतया कुनै पनि रोगविरुद्धको खोप बनाउँदा अनुसन्धानदेखि आपूर्तिसम्मको चरण पार गर्न ५ देखि १० वर्ष लाग्ने गरेकोमा कोरोना भाइरस रोकथामको खोप निर्माण केही महिनाभित्रै सक्न कम्पनीहरू जुटेका छन्। न्युयोर्क टाइम्समा शुक्रबार प्रकाशित एक लेखमा फाइजरको खोपबारे केही प्रश्न महत्वपूर्ण रहेको विषय उठाइएको छ। यो खोप लगाएपछि कति समयसम्म मानिस सुरक्षित हुन्छन्, के यो खोपले सबैभन्दा बढी जोखिममा रहेका समूहलाई सुरक्षित गर्ला एवं अत्यन्त चिसो तापक्रममा राख्नुपर्ने हँुदा कार्यान्वयन पक्ष कति सहज होला भन्ने प्रश्न सो लेखमा उठाइएको छ।

अब के होला
कुनै पनि औषधि निर्माता कम्पनीले लाइसेन्स पाउनुअघि खोपको नतिजा नियमनकारी संस्थाले अनुमोदन गर्नुपर्ने हुन्छ। फाइजरले यसै साता सार्वजनिक गरेको अन्तरिम नतिजाको आधारमा नोभेम्बरभित्रै खोपको आपत्कालीन प्रयोग अनुमति प्रदान गर्न एफडिएसँग अनुरोध गर्ने र डिसेम्बरसम्म डेढ करोड देखि २ करोड मानिसलाई चाहिने खोप बनाइसक्ने बताएको छ। आपत्कालीन प्रयोग अनुमति प्राप्त गरेपछि खोपको उत्पादन सुरु हुनेछ र थप परीक्षण पनि जारी रहनेछ।

खोप खरिदमा प्रतिस्पर्धा र गरिब राष्ट्रलाई सुविधा
विश्व स्वास्थ्य संगठनको सहसंयोजनमा महामारीमा खोपको वितरण योजनालाई न्यायपूर्ण बनाउन खोपसम्बन्धी स्थापना गरिएको विश्वव्यापी सञ्जाल (गाभी) अन्तर्गत नेपालसहित निम्न तथा निम्नमध्यम आय भएका राष्ट्रलाई खोप उपलब्ध गराइनेछ। यो सञ्जालमा सहभागी देशलाई सहयोग गर्ने प्रतिबद्धता ७६ वटा धनी राष्ट्रले गरेका छन्। विश्व स्वास्थ्य संगठन, सेपी र गाभीले स्थापना गरेको कोभ्याक्स सुविधाअन्तर्गत कुनै पनि राष्ट्रको सुरुमा ३ प्रतिशत र पछि २० प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने तयारी छ। खोपको विकास हुनेबित्तिकै कोभ्याक्समा सहभागी सबै देशको समान पहुँच हुने व्यवस्था गरिएको छ। कुनै देशले पर्याप्त मात्रामा पाउने र कुनै देशले नपाउने स्थिति नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो। कोभ्याक्सले २०२१ को अन्तिमसम्म कोरोनाविरुद्धको खोप २ अर्ब डोज खरिद गरी आपूर्ति गर्ने उद्देश्य लिएको छ।

तर विभिन्न राष्ट्रले द्विपक्षीय हिसाबले उत्पादक कम्पनीसँग सीधा डिल गरेर खोप खरिद प्रक्रिया अगाडि बढाएका छन्। संसारका विभिन्न देशले खोपको अन्तिम नतिजा नआउँदै खरिदमा प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुले यसमा अर्बौं लगानीसमेत गरेका छन्। बेलायतले परीक्षण क्रममा रहेका ६ वटा विभिन्न खोप खरिद गर्न निर्माता कम्पनीसँग सम्झौता गरिसकेको छ। अन्य राष्ट्रले पनि खोप निर्माता कम्पनीसँग स्वतन्त्र रुपमा यस्तो सम्झौता गरेका छन्।

नेपालको तयारी
नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी प्रयोग गर्न पाइने गरी आवश्यक कानुनी व्यवस्था संशोधन गर्न आवश्यक छ।

नेपालले निम्न तथा मध्यम आय भएका राष्ट्रले पाउने सुविधाअन्तर्गत खोप पाउनका लागि विश्व स्वास्थ्य संगठनलगायत अन्य निकायसँग लगातार सम्पर्कमा रहेको र आवश्यक प्रक्रिया अगाडि बढाएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। अर्काेतिर निजी क्षेत्रलाई खोप आयात गर्न दिन पनि कानुन संशोधन आवश्यक छ। स्मरणीय छ, अन्तरिम नतिजामा ९२ प्रतिशत सफल दाबी गरिएको रुसी खोप ‘स्पुतनिक–भी’ आयात गर्न रुसको सम्बन्धित निकाय र नेपालको एक औषधि आयातकर्ता कम्पनीबीच सम्झौता भैसकेको छ।

यसैबीच केही अन्तर्राष्ट्रिय कम्पनी र भारतीय औषधि निर्माता कम्पनी कोरोना खोप भारतमा उत्पादन गर्ने अन्तिम तयारीमा जुटेका सन्दर्भमा नेपाल सरकारले प्रभावकारी कूटनीतिक प्रयासमार्फत नेपालमा खोप उपलब्ध गराउन ठोस प्रयास गर्नु आवश्यक रहेको विज्ञ बताउँछन्। अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको खोप भारतको सेरम इन्स्टिच्युटले पनि उत्पादन गर्ने सम्झौता भैसकेको छ भने भारतमा अन्य ६ वटा कम्पनी खोप निर्माणको दौडमा छन्।

नेपालमा खोप कहिलेसम्म आउला भनेर निश्चित भन्न नसकिए पनि समग्र अवस्था र प्रयास अपेक्षित रहेमा आगामी तीनचार महिनामा पहिलो लट उपलब्ध हुने विश्वास सम्बन्धित अधिकारीहरूको छ। ‘आपत्रकालीन प्रयोगका लागि विश्व स्वास्थ्य संगठनले कुनै खोपलाई अनुमति दिँदासाथ नेपालमा खोप उपलब्ध गराउने प्रयासमा हामी जुटेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल भन्छन्। पोखरेलका अनुसार आगामी मार्चसम्म नेपालमा सीमित मात्रामा खोप उपलब्ध हुन सक्छ। उनले खोप उपलब्ध भएपछि कसलाई प्राथमिकता दिने भन्नेमा पनि गृहकार्य भैइरहेको बताए। (नागरिक न्यूजबाट)

ताजा खबर