सुनिलबहादुर थापा कांग्रेस सहमहामन्त्री मनोनित : केसीको ठाउँमा पाण्डे सांसद बन्ने

२०७७ कार्तिक २९ शनिबार ०७:२४:०० मा प्रकाशित

काठमाडौं : पटकपटक स्थगित हुँदै लामो समयपछि बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा मनोनित गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । 

 

त्यसैगरी उनीसँगै कांग्रेस प्रवेश गरेका ६ नेतालाई केन्द्रीय सदस्य र ३ नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय भएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

केन्द्रीय सदस्यमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगी मनोनित भएका हुन । त्यसैगरी आमन्त्रित सदस्यमा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह मनोनित भएका छन् । 

स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर साउन १३ गते  कांग्रेसमा प्रवेश गरेका थिए । 

सुनिल थापा दोस्रो संविधान सभाको चुनावमा धनकुटा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । थापा चुनावमा विजयी भएर दुई पटक मन्त्रीसमेत भइसकेका छन् । 

दोस्रो संविधान सभाको चुनाव पछि ज्येष्ठ नागरिकको हैसियतले संविधान सभाको सभामुख उनकै बुवा सूर्यबहादुर थापा भए। बुवा सँगै पार्लियामेन्टमा छिरेका थापाले उनी मन्त्रीहुँदा बुवाबाटै शपथ लिए । सुनिल सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भए। यस्तै उनी  शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भए।

राजनीतिमा आउनुअघि थापाले २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि काम गरे । उनले ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरिसकेका छन् । सन् २०११ मा राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर राजनीतिमा हाम्फालेका हुन । राजनीतिमा प्रवेश गरेसँगै उनले आफ्नो अनुभव देश विकास र निर्माण कार्यमा लगाउने बताउँदै आएका छन् । 

थापा वाणिज्ज तथा आपूर्तिमन्त्री हुँदा नेपाल आयल निगममा ‘अटो प्राइसिङ’ र भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको सम्झौता गरेका कारण उनको कामको चर्चा भएको थियो ।

थापाले राष्ट्रसंघीय उच्च आयोगबाट जागिर छोडेर आएपछि सन् २०१२ देखि २०१५ सम्म बुवा संगै बसेर राजनीति गरे। उनका बुवा सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा २०७२ वैशाख २ गते निधन भएको थियो। उनका बुवा धनकुटा जिल्लाको मुगामा जन्मिए थिए। सूर्यबहादुर ४ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।

कांग्रेसमा प्रवेश गर्नुअघि राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई थापासहित ३१ जनाले राजीनामा बुझाएका थिए।

त्यसैगरी कांग्रेसले स्वर्गीय सूर्यबहादुर केसीको स्थानमा मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने निर्णय गरेको छ । 

प्रतिनिधिसभाका समानुपातिक तर्फका सदस्य  केसीको निधन भएपछि रिक्त स्थानमा पाण्डेलाई पठाउने निर्णय भएको हो ।

पार्टी निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगमा पत्र पठाउने निर्णयसमेत कांग्रेसले गरेको छ । 

बैठकका १० निर्णय जस्ताको तस्तै : 

१. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (१) बमोजिम रिक्त प्रतिनिधि सभा सदस्यको पदमा सोही नियमावलीको उपनियम (२), (३) र (४) बमोजिम प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचित सदस्य श्री सूर्यबहादुर के.सी. को निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका श्री मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ । सोही अनुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार    गर्ने ।

२. नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्त कायम गर्ने ।

३. २०७७ साल श्रावण १३ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरुको उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको अवगत नै छ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरुको नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७  (संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देहाय बमोजिम समायोजन गर्ने ।
१. श्री सुनिलबहादुर थापा (धनकुटा) – सहमहामन्त्री
२. श्री रामप्रसाद भट्टराई (मोरङ) – केन्द्रीय सदस्य
३. श्री विष्णुविक्रम थापा (सिन्धुपाल्चोक) – केन्द्रीय सदस्य
४. श्री वावुराम बस्नेत (भोजपुर) – केन्द्रीय सदस्य
५. श्री वृजलाल यादव (बारा) – केन्द्रीय सदस्य
६. श्री किरण गिरी (काठमाडौं) – केन्द्रीय सदस्य
७. श्री टि.एन. योगी (ललितपुर) – केन्द्रीय सदस्य
८. श्री दिलिप राई (झापा) – आमन्त्रित केन्द्रीय सदस्य
९. श्री आशाराम चौधरी (कैलाली) – आमन्त्रित केन्द्रीय सदस्य
१०. श्री राजेशबहादुर सिंह (कपिलवस्तु) – आमन्त्रित केन्द्रीय सदस्य

४. चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाएको छ । साथै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका विपक्षी दलका नेता श्री जीवनबहादुर शाहीको सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा पनि दिएको छ ।

ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ ।

५. यसै बीच नेपाल स्थित चिनिया दुतावासले नोभेम्वर १३ मा नेपाली कांग्रेस पार्टीलाई लेखेको पत्रमा जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदनलाई आधारविहिन र झुठो भन्दै गैर जिम्मेदार र अमैंत्रीपूर्ण पनि भनिएको छ । यसप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  

जहाँसम्म श्री जीवनबहादुर शाहीको हुम्लामा सीमा अतिक्रमण भएको प्रतिवेदनको सन्दर्भ छ, उहाँले ७ वुँदे सार सहितको निष्कर्ष र ति निष्कर्षहरुलाई पुष्टि गर्ने १८ वुँदे प्रमाण र आधारहरु समेत प्रस्तुत गर्नु भएको छ । यस सम्बन्धमा श्री शाहीले नेपाल सरकारलाई आफ्नो टोलीले निकालेको निष्कर्षका आधारमा नेपाल सरकारले गर्नु पर्ने कामका सम्बन्धमा ३ वुँदे सुझाव र सिफारिश पनि दिनु भएको छ र उहाँको प्रतिवेदन सीमा सुरक्षाको सरकारको जिम्मेवारीप्रति लक्षित छ ।

यदि चिनिया सरकारले भने जस्तै हुम्लामा नेपालको कुनै भूमि अतिक्रमण नभएको हो भने यसको निक्र्योल दुई सरकार बीचको संयुक्त सीमा निर्धारण टोलीले स्थानीय सरोकारवालाहरुको भनाई र ऐतिहासिक भोगचलनको तथ्य सहित आएको तथ्य, सीमा स्तम्भहरुको अवस्था लगायतको प्राविधिक मूल्याङ्कनको आधारमा टुङ्गो लगाउन आपत्ति हुनु पर्ने कुनै कारण छैन । यसले नेपाली जनता माझ रहेको आशंका निवारण गर्न मद्दत गर्नेछ ।

नेपाली कांग्रेस के स्पष्ट गर्न चाहन्छ भने सन् १९५९ मा नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले सीमा सम्बन्धी जुन सम्झौता चीन सरकारसँग गर्नु भएको थियो, त्यसकै आधारलाई टेकेर दुई देश बीच एक अर्का बीच अहस्तक्षेप र एक अर्काको भू–भागलाई सम्मान गर्ने नीति पालन गर्दै आएको छ । आगामी दिनमा पनि पालना गर्नेछ । नेपाली कांग्रेस दुई देशको मैंत्रीपूर्ण सम्बन्धलाई सत्तामा रहँदा र नरहँदा पनि सधै उच्च प्राथमिकतामा राख्दै आएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री जीवनबहादुर शाहीले सार्वजनिक गर्नु भएको प्रतिवेदन सम्बन्धमा काठमाडौं स्थित चिनिया राजदूतावासको आधारहिन आरोप लामो समयदेखि नेपाली कांग्रेस तथा चिनिया सरकार र जनता बीच रहेको मैंत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत भएको कुरामा सम्बन्धित पक्षको ध्यानाकृष्ट गर्दछ ।

६. हुम्लामा नेपाली भू–भागमा अतिक्रमण भएको भन्ने समाचारहरु सार्वजनिक भएपछि नेपाल सरकारको हुम्लामा रहेको प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस सम्बन्धमा प्रतिवेदन दिनु पूर्व नै परराष्ट्र मन्त्रालयले कुनै अतिक्रमण नभएको विज्ञप्ति सार्वजनिक ग¥यो । यस सम्बन्धमा नेपाली कांग्रेस पार्टीले तत्कालै सरकारको ध्यानाकर्षण गराएको थियो । यसै बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता श्री जीवनबहादुर शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी त्यहाँ नेपाली भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि नेपाल सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु र अर्को तर्फ चिनिया सरकारले हुम्लामा कुनै नेपाली भूमि नमिचिएको विज्ञप्ति आएको स्थितिले नेपाली जनतामा थप अन्यौलता छाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यस्तो गैर जिम्मेवार प्रवृत्तिको निन्दा गर्दछ ।

नेपाली कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्याङ्क र श्री जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ स्थिति सार्वजनिक गर्न माग गर्दछ । यसले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुनेछ । साथै, यसबाट दुई देशको जनता बीच आउन सक्ने अनावश्यक तिक्ततालाई पनि समाप्त पार्न मद्दत पुग्नेछ ।

७. कोभिड—१९ को प्रकोप दिनानुदिन बढिरहेको छ । आम नागरिकहरुको जीवन कष्टकर हुँदै गएको छ । कोभिड—१९ को परिक्षण र उपचार समेत गर्न सक्दिन भनेर सरकार आफ्नो न्यूनतम जिम्मेवारीबाट समेत पन्छिन खोज्दैछ । नेपाली कांग्रेस लगायतका राजनीतिक दल, संचार माध्यम, नागरिक समाज, वुद्धिजीवीहरुको चौतर्फी दवाव तथा सर्वोच्च अदालतको निर्णयपछि सरकार कोरोना परिक्षण र उपचार सरकारी खर्चमा गर्ने निर्णय गर्न वाध्य भएको छ । तथापि उक्त निर्णय कार्यान्वयन गर्ने मानसिकतामा सरकार अहिले पनि छैन । अहिले पनि परिक्षण र उपचार खर्च आफैले बेहोर्नु पर्ने अवस्था छ । संक्रमितको उपचारका लागि अस्पताल र बेड लगायतमा न्यूनतम सुविधामा पनि अभाव छ । एकातर्फ नागरिकहरु महामारीले आक्रान्त भएका छन् भने अर्कोतर्फ वजारमा कालाबजारी, कृतिम अभाव, मूल्यवृद्धि लगायतका कारण चाडपर्वको वेलामा पनि जनताले दैनिक छाक टार्न समेत समस्या भएको छ । महामारी, मृल्यवृद्धि, अभाव र वेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदैछ । पछिल्लो समयमा आत्महत्याको घटनामा भएको वृद्धिले आम नागरिकमा चरम निराशा छाएको पुष्टि हुन्छ । किसानहरुले खेतीको समयमा मलखाद नपाएर आफ्नो उत्पादनको रकम प्राप्त गर्न आन्दोलन गर्नु पर्ने अवस्था आएको छ ।

यस्तो विषम परिस्थितिमा पनि कम्युनिष्ट पार्टीको सरकार जनताको पीरमर्का प्रति संवेदनशील हुनुको सट्टा सत्ताको छिनाझपटीमै व्यस्त छ । महामारीको रोकथाम र नियन्त्रण लगायत सबै काममा सरकार असफल भएको छ । जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन । जनताबाट प्राप्त मतको घोर अपमान र अवमूल्यन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नियन्त्रित केन्द्रदेखि स्थानीय तहसम्मको सरकारहरुमा सर्वत्र वेथिती, अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार छाएको छ । नेपाली कांग्रेसको यो वैठक देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालावजारी, कृतिम अभाव, वेरोजगारी, किसानका समस्या लगायत देशमा व्याप्त वेथिति यो सरकारको अकर्मण्यता, गैर जिम्मेवारी र अलोकतान्त्रिक चिन्तनको उपज भएको ठहर गर्दछ ।

नेपाली कांग्रेस पार्टी सरकारसँग तत्काल विद्यमान भ्रष्टाचार र कोभिड–१९ संक्रमणको रोकथाम, समुचित उपचार र राहतको सुनिश्चित गर्न माग गर्दछ ।

८. इलाम, उदयपुर, सिरहा, रुकुम पश्चिम लगायतका जिल्लामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट स्थानीय तहका विभिन्न पदमा निर्वाचित व्यक्तिहरु नेपाली कांग्रेस परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७४ को व्यवस्था बमोजिम निजहरु निर्वाचित भएको पद रिक्त गरिदिनका लागि निर्वाचन आयोगलाई लेखी पठाउने र सोको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत दिने ।

९. कोभिड—१९ संक्रमणबाट असामयिक निधन हुनु भएकाहरुप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरुका शोकाकूल परिवारजनहरुमा कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ । साथै, संक्रमित हुनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु लगायत नेता एवं पार्टी सदस्य, अन्य राजनीतिक दलका नेता÷कार्यकर्ता र संक्रमित हुनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको यो बैठक शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

१०. नेपालीहरुको महान चाड तिहार, नेपाल सम्वत् ११४१ र छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।  

शोक प्रस्ताव
नेपाली कांग्रेसका पूर्व सांसद, पूर्व राज्यमन्त्री, लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष श्री ओमकारप्रसाद गौचन, नेपाल इञ्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष ई. सरोज देवकोटा, सप्तरी निर्वाचन क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि रामभरोषी गुप्ता, नवलपरासी जिल्ला रामग्राम नगर कार्यसमितिका सभापति नारायण रेग्मी, ललितपुरका प्रजातन्त्र सेनानी अमिरमान मुल्मी, मोरङका महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित संघका केन्द्रीय सदस्य भीमलाल गहतराज, नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिका सदस्य प्रकाश थापा, बाराका महासमिति सदस्य एवं तरुण विभागका सदस्य मेदनी महतो धानुक (मदन मण्डल), प्रजातन्त्र सेनानी एवं मोरङका पूर्व महाधिवेशन प्रतिनिधि खड्गबहादुर श्रेष्ठ, मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं. १ निवासी मोरङ जिल्ला कार्यसमितिका सदस्य एवं पूर्व महाधिवेशन प्रतिनिधि लक्षुमण बस्नेत, नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङका पूर्व सदस्य तथा पूर्व कार्यालय सचिव सीतारामप्रसाद वर्मा, नेपाली कांग्रेस धनुषाका पूर्व जिल्ला सदस्य, पूर्व महासमिति सदस्य एवं अग्रज व्यक्तित्व श्री दिलिप सहगल, मोरङ क्षेत्र नं. २ गोविन्दपुर रतुवामाईका दुर्गानन्द ताजपुरिया र तनहुँ व्यास नगरपालिका वडा नं. १ का नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य अमृत विश्वकर्माको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्त गर्नु हुने पदाधिकारी एवं सदस्यहरु
आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, कमला पन्त, धनराज गुरुङ, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र कर्णबहादुर बुढाले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो-अन्नपूर्णपोष्ट लेख्छ ।

जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

ताजा खबर