ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

२०७७ कार्तिक २६ बुधबार ०८:२३:०० मा प्रकाशित

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन्। कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि ओलीलाई भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका छन्।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार दुवै अध्यक्षले बैठक राख्ने र त्यहाँ प्रस्ताव गर्ने अजेन्डालाई प्रतिष्ठाको विषय बनाउँदै गए झन् अप्ठेरो हुनेछ। अहिले ओली र दाहाल दुवै एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा यस्तो स्थिति सिर्जना भएको हो। पछिल्लो समय ओली सचिवालय बैठक बोलाउन लचिलो भए पनि उनले मिति तोक्न सकेका छैनन्। ‘ओलीले सचिवालय बैठकका लागि महासचिव विष्णु पौडेललाई तयारी थाल्न भन्नुभएको छ, तर बैठक बिहीबारै बस्छ भन्नेचाहिँ छैन, अर्को दिन पनि हुन सक्छ,’ स्थायी कमिटीका ती सदस्यको दाबी छ, ‘दाहालले भनेकै मितिमा बैठक बस्नुपर्छ भन्ने छैन। बैठक बोलाउन छलफल भइरहेका छन्।’ महासचिव पौडेलले पनि परामर्शमा बैठक बस्नुपर्ने भन्दै सबै शीर्ष नेताहरूसँग छलफल अघि बढाएका छन्। तर यो विषयमा नेताहरू खुलेर बोल्न चाहँदैनन्।

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा दुवै पक्ष एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा छन्।

दाहालले शनिबार दिएको समयसीमाभित्र ओलीले सचिवालय बैठक नबोलाएपछि मंगलबार फेरि भेटेर बिहीबार बैठक बोलाउन प्रस्ताव गरेका हुन्। ओली भने दाहालको प्रस्तावमा सहमत हुन सकेका छैनन्। त्यसैलै दुवै पक्ष बिहीबार बैठक बस्छ भन्नेमा निश्चित छैनन्। ओलीले बैठकका लागि सल्लाह गर्नुपर्ने बताएपछि दाहाल दोधारमा परेका छन्। ओली पनि दाहाल एक्लैले बैठक डाक्न सक्छन् कि सक्दैनन् भनेर अनुमान गरिहाल्न सक्ने अवस्थामा छैनन्। ‘दुवैजना एकले अर्काको हैसियत हेरेर बस्न खोजेजस्तो अवस्थामा पुग्नुभएको छ। सचिवालय सदस्यहरूले निर्णय गर्न सक्ने अवस्था रहे पनि ओलीलाई नै कुरेर बस्नुभएको छ। ओलीले बैठक बोलाउन सहमति दिन आलटाल गरिरहनुभएको छ। यसले गर्दा सचिवालयका नौ सदस्यकै कार्यक्षमतामाथि प्रश्न उठेको छ,’ नेकपा स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीको सन्देश बोकेर महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार र मंगलबार दाहालसँग भेटी स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने र दुई अध्यक्षले सहमतिमा सचिवालय बैठकका अजेन्डा तय गर्ने विषयमा कुराकानी गरेका थिए। तर दाहालले तत्कालै सचिवालय बैठक राख्नुपर्नेमा जोड दिएका थिए। उनले पोखरेलसँग सचिवालय बैठक राख्न ओलीलाई मनाउन भनेका थिए। यसबाट ओली केही लचक भएका हुन् कि भन्ने अनुमान दाहाल खेमाको छ। महासचिव पौडेलले केही दिनपछि बैठक बोलाउन सकिने जनाउ दिएका थिए। सोहीअनुसार दाहालले मंगलबार ओलीलाई भेटेर बिहीबारसम्म कुर्न सकिने बताएको स्रोतको दाबी छ। तर ओलीले बिहीबार नै किन बैठक बस्नुप¥यो र पहिला दुई अध्यक्ष बसेर अजेन्डामा सहमति गरौं अनि बैठक बसौं भनेका थिए। ‘ओली दाहालसँग बसेर सहमति गर्न चाहन्छन्, दाहाल भने सबै विषय सचिवालय बैठकमै गर्न चाहन्छन्, त्यसकारण पनि उहाँहरूबीच कुरा मिलिरहेको छैन,’ स्रोतले भन्यो।

दाहालले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा गएर ओलीसँग बिहीबारका लागि सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। त्यसपछि पार्टी कार्यालय पुगेर दाहालले नेताहरूलाई ओलीसँग भएको छलफलबारे जानकारी गराएका थिए। पार्टी कार्यालयमा बसेको सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकले बिहीबारसम्म पर्खने निर्णय गरेको छ। पार्टी प्रवक्ता श्रेष्ठले मंगलबार सचिवालयका पाँच सदस्यको अनौपचारिक बैठक बसेको बताए। उनले सहमतिको प्रयास भइरहेको र बिहीबार सहमतिमै सचिवालय बैठक बस्न सक्ने बताए। ‘सहमतिमै बैठक राख्न प्रयत्न गरिरहेका छौं। तर यसो गर्नु भनेको कमजोरी होइन।

 

पर्सि (बिहीबार) सहमतिमै बैठक बसौं भनेका छौं। सहमतिमा बैठक बसेन भने त्यसपछि के गर्ने भन्नेबारे सोच्न पनि चाहँदैनौं। बिहीबारसम्म बैठक बस्नेछ भन्ने अपेक्षा गरेका छौं। उहाँ (ओली) ले पनि सहमति जनाउनुहुन्छ भन्ने सोचेका छौं,’ श्रेष्ठले भने। उनका अनुसार कार्यकारी अध्यक्ष दाहालको बिहीबार बैठक राख्ने प्रस्तावमा ओलीले सहमति जनाएका छैनन्। ‘कार्यकारी अध्यक्ष प्रचण्ड (दाहाल) ले कात्तिक २७ गते बैठक बोलाउन माग गर्नुभएको छ तर उहाँले अहिलेसम्म सहमति जनाइसक्नुभएको छैन,’ श्रेष्ठले भने, ‘भोलि (बुधबार) उहाँ (ओली) उपत्यकाबाहिर जानुपर्ने भएकाले बिहीबारका लागि बैठक बोलाउन माग गरेका हौं, हामी बैठक बस्छ भन्नेमा आशावादी छौं।’ प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको, कर्णाली प्रदेशमा देखिएको पार्टीको आन्तरिक समस्या, पर्सामा पार्टीकै कार्यकर्ताको हत्या, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटघाट तथा कोरोना संक्रमणमा सरकारले गरेका कामकारबाहीबारे छलफल हुनेछ। (नागरिक न्यूजबाट)

ताजा खबर