नेपाललाई फकाउँदै ओली: पार्टी अध्यक्ष बन्न सहयोग गर्ने आश्वासन

२०७७ कार्तिक २४ सोमबार ०८:३७:०० मा प्रकाशित

 काठमाडौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाल पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघु पन्तसहित नेता नेपालसँग आइतबार बालुवाटारमा सामूहिक छलफल गर्दै ओलीले आउँदो एकता महाधिवेशनमा पार्टी अध्यक्षमा आफ्नो समर्थन र सहयोग रहने आश्वासन दिएका हुन्। ‘आउँदो महाधिवेशनपछि तपाईं (नेपाल) नै अध्यक्ष हुने हो। त्यसमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ। प्रधानमन्त्री बन्ने हो भने आउँदो चुनावसम्म कुर्नुपर्छ तर अबको नेतृत्व भनेको चाहिँ तपाईं नै हो’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।

नेता नेपालले भने ओलीको आश्वासन विश्वासिलो नभएको भन्दै तत्कालको समस्या समाधानका लागि केन्द्रित हुन आग्रह गरेका थिए। ‘तपाईंको यो आश्वासनको कुनै अर्थ छैन, तपाईंको बोलीमा विश्वास गर्ने कुनै आधार छैन। तपाईं भन्नुहुन्छ एउटा र गर्नुहुन्छ अर्को। त्यसकारण यस्तो आश्वासन दिएर फकाउने काम नगर्नुस् बरु अहिलेको समस्या समाधान गर्ने ठोस प्रस्ताव ल्याउनुस्’, स्रोतले नेपालको जबाफ उद्धृत ग¥यो। नेपाल समूहले पार्टीको बैठक बोलाएर समस्या समाधान गर्न सुझाव दिएको थियो।

ओलीले पटकपटक मिलेर जान आग्रह गरेपछि नेपालले त्यसका आधार केके छन् भनी प्रश्न गरेका थिए। ‘तपाईंले अहिलेसम्म मिल्ने आधार कसरी तयार गर्नुभएको छ ? तत्कालीन महाधिवेशनमा मलाई वा मेरो समूहलाई समर्थन गरेको वा त्यतातिर ढल्केको आधारमा कतिपय नेता अहिले पनि जिम्मेवारविहीन छन्। अहिले आएर मिलेर जाऊँ भन्नुहुन्छ तर पार्टीभित्र प्रतिशोध लिनुहुन्छ। यसरी मिलौं भन्नुको कुनै अर्थ छैन। पार्टी एकता बलियो बनाउने गरी ठोस प्रस्ताव तयार गर्नुस्’, स्रोतले नेपालको भनाइ उद्धृत ग-यो, ‘मैले तपाईंलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ भनेको छैन, पार्टीको अध्यक्षबाट हट्नुपर्छ पनि भनेको छैन तर पनि तपाईंले सधैं प्रतिशोधको भावना मात्रै राख्ने हो भने मिलेर जाने प्रस्ताव मैले कसरी स्वीकार गर्नु ? बिनाकार्ययोजना छलफलमा बस्नुको के अर्थ ?’

पार्टी अध्यक्ष बन्न सहयोग गर्ने आश्वासनमा विश्वास गर्न नसकिने जनाउ दिँदै नेपाल पक्षले सामूहिक नेतृत्वको प्रस्ताव गरेको थियो। तर ओली यो प्रस्तावमा मौन रहे।

ओलीले नेता नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन यसअघि पनि आग्रह गरेका थिए। कात्तिक ४ र ११ गते भएको भेटमा ओलीले पूर्वएमालेका तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेका थिए। तर नेपाल त्यति बेला पनि ‘तपाईंको कुरामा विश्वास छैन’ भनेर फर्केका थिए।

आइतबारको छलफलमा सहभागी एक नेताका अनुसार ओलीसमक्ष चारैजनाले बुँदागत रुपमा धारणा राखेका थिए। सुरुमा ओली र नेपालबीच लामै संवाद भएको थियो। उनीहरु दुवैले आआफ्ना गुनासा राखेका थिए। नेपालले ओलीलाई आफ्नो विगत नियाल्न आग्रह गरेका थिए। ‘विगतमा तपाईं केके गर्नुहुन्थ्यो, त्यसको पनि ख्याल गर्नुहोला। आफैं सर्वेसर्वा हो भनेर हिँड्दा ठेस लाग्छ। ठेस लाग्दा पनि म ठीक छु भनेर भन्नु राम्रो होइन। ठेस लागेर घाउ भएपछि उपचार गर्नुपर्छ’, नेपालले भने।

छलफलमा रावल, पाण्डे र पन्तले पनि बैठक बोलाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरुले विगतमा स्थायी कमिटीले दिएको कार्यादेश कार्यान्वयन गरे मात्रै पनि धेरै विषय समाधान हुने सुझाव दिएका थिए। जवाफमा ओलीले स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर जाने, बैठक पनि राख्ने बताए। ‘बैठक राखिन्छ तर झगडा गर्नका लागि होइन, विषय र अजेन्डा टुंगो लगाउनका लागि बैठक राख्ने हो। बैठक राख्दा पनि झगडा हुन्छ, नराख्दा पनि झगडा हुन्छ। यसले राम्रो गर्दैन’, स्रोतले ओलीको भनाइ उद्धृत ग-यो।

नेता नेपालले पार्टी एकजनाले बनाएको नभई सबैको उत्तिकै भूमिका भएको बताएका थिए। ‘पार्टी बनाउन सबैको योगदान छ त्यसकारण पार्टीको नेतृत्व भनेको सामूहिक हुनपर्छ। एक्लै दौडेर कहीं पुगिन्न भन्ने तपाईं हामी सबैलाई थाहा छ। समस्या छ भन्ने तपाईंलाई अहिले महसुस भयो भने त्यसको समाधान पनि तपाईंले नै गर्नुपर्छ, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको नाताले अलि बढी नै जिम्मेवार र अग्रसर हुनुपर्छ’, नेता नेपालले ओलीलाई सम्बोधन गर्दै भनेका थिए। नेता नेपालले सामूहिक नेतृत्वमा जोड दिएका थिए। तर यस विषयमा ओली मौन बसे। नेपाल समूहले अन्तरपार्टी निर्देशनविपरीत मदन भण्डारी फाउन्डेसनको नाममा कार्यक्रम भइरहेको कुरा उठाउँदा प्रधानमन्त्रीले त्यसको गतिविधि रोक्न नमिल्ने जवाफ दिएका थिए। त्यसपछि नेताहरुले अन्य गतिविधिचाहिं किन रोक्न भनेको भनेर प्रश्न गर्दा ओलीले जबाफ दिएनन्।

छलफलमा सहभागी नेता रावलले विवाद समाधान कार्यदलले दिएको सुझावअनुसार सरकार सञ्चालन गर्न ओलीले उदासीनता देखाएपछि समस्या आएको बताए। छलफलमा सबैले आआफ्नो कुरा राखेको बताउँदै उनले थपे, ‘प्रधानमन्त्रीले मिलेर जाऊँ भन्नुभयो। तर कुनै ठोस प्रस्ताव ल्याउनुभएन।’ संवाद नै नहुने परिस्थितिमा छलफल हुनुलाई सकारात्मक मान्नुपर्ने उनले बताए। उनका अनुसार पार्टीभित्र देखिएको समस्या बुँदाबँुदामा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। ‘एकीकरण प्रक्रिया भाँडेर कसैलाई उपलब्धि हुँदैन भन्ने कुरा राखियो। पूर्वएमाले मात्रै मिलौं भन्ने प्रधानमन्त्रीको धारणा देखिएन, सबै मिलेर पार्टी बनाऔं भन्ने धारणा आयो। एकता प्रक्रियालाई सबै ढंगले अघि बढाउनुपर्छ भन्ने उहाँको चाहाना देखिन्छ’, रावलले भने।

नागरिक न्यूज लेख्छ- प्रधानमन्त्रीले पार्टीएकता मजबुत बनाउने र नेताहरुबीच सहकार्य गर्ने विषय निकै प्राथमिकताका साथ उठाए पनि त्यसको खाकाबारे छलफल नभएको पाण्डेले बताए। प्रधानमन्त्री ओलीले आइतबार नेपाललाई फोन गरेर बालुवाटार बोलाएका थिए। नेता नेपालले एक्लै भेट नगर्ने भनेपछि ओलीले नै रावल, पाण्डे र पन्तलाई पनि बोलाएका थिए।

ताजा खबर