नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

२०७४ कार्तिक २६ आइतबार ०६:३८:०० मा प्रकाशित

रत्ननगर, चितवन, २६ कात्तिक ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार  राति ९ः३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको हो । 

सबै चट्टान फोरेर हटाउन नसक्दा दुईतर्फी गाडी सञ्चालन गर्न नसकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए । 

शनिबार बिहानैदेखि रोकिएका मोटरसाइकल र साना सवारीहरु अहिले गन्तव्यतर्फ पठाईएको छ । ठुला गाडी छिर्न अझै केही ढुंगा पन्छाउनुपर्ने भएकाले रातिदेखि मात्रै सकिने आयोजनाले जनाएको छ । 

सार्वजनिक सूचना जारी गरेर शनिबार विहान १० देखि ५ बजेसम्म सडक बन्द गरी चट्टान हटाउने कार्य गरिएको आयोजनाले जनाएको थियो । 

निर्धारित समयमा काम नसकिंदा सडकको दुईतर्फ नै विहानदेखि रोकिएका सयौँ सवारी तथा यात्रुहरु दिनभर प्रभावित भएका थिए । यात्रुहरुको समस्यालाई ध्यान दिंदै शनिबार रातीबाट एकतर्फी सडक खुलाईएको आयोजनाले जनाएको छ । 

दिनभरको प्रयासमा शनिबार अपरान्ह ४ः४५ बजे ढुंगालाई भित्ताबाट बल्ल सडकमा झारिएको थियो । त्यसपछि फुटाएर ढुंगो हटाउने काम शुरु गरिएपनि अझै सकिएको छैन । 

आजबाट सडकमा भने कालोपत्रे गर्ने स्थानमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने स्थानमा विचविचमा सडक रोक्दै काम अघि बढाइनेछ । 

आइतवारदेखि एकहप्ता परिक्षण स्वरुप विहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । 

उक्त सडकको ३६ किलोमिटर क्षेत्रमा तीन व्लक छुट्याएर सडक चौडापार्ने काम जारी छ । रासस

ताजा खबर