त्रिभुवन विश्वविद्यालयभित्रको नाटक र पात्रहरुको टिठलाग्दो कथा

२०७७ कार्तिक १८ मंगलबार ०९:०४:०० मा प्रकाशित

केही दिनयता त्रिभुवन विश्वविद्यालयका केही प्राडाहरूको टिठलाग्दो एउटा नाटक मञ्चन भइरहेको छ । वर्षौंदेखि एउटै विभागमा, एकै ठाउँमा काम गरेका प्राडाहरू पात्रका रूपमा देखापरेका छन्, झण्डै तीन दशकअघिको एउटा विषादयुक्त कथा लिएर । त्यसमा अनेक उपकथाहरू जोडिएका छन् । ती प्राडाहरू हुन् नेपाली केन्द्रीय विभागका ।


तीन दशकअघि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली विषयको विद्यार्थी छँदा कसले कसलाई बिहेको प्रस्ताव ग¥यो, कसले किन उक्त प्रस्ताव अस्वीकार ग¥यो र कसले किन स्वीकार ग¥यो भन्ने कथाको सिङजुरो पलाउँदै पलाउँदै अहिले एकले अर्काको पत्तासाफ गर्ने स्पर्धा चलेको छ । नाटक त्यही स्पर्धामा आधारित छ । 


त्यो विषादयुक्त नाटकका पात्रहरूमा कसले कति वर्षमा पिएचडी पूरा ग¥यो र कसले पिएचडीको थेसिसलाई अनेक किताबमा विभक्त गरेर प्रोफेसर हुने अन्तर्वार्तामा पेस ग¥यो भनेर पोल खोलाखोल चलेको छ । पात्रहरूको केन्द्रमा छन् प्राडा खगेन्द्रप्रसाद लुइँटेल । आरोपको शृङ्खला तीन दशक लामो छ । 


प्राडा लुइँटेलमाथि प्राज्ञिक चोरीको आरोप लगाएर धुवाँधार आलेख समाचार आएको छ । आरोप निकै गम्भीर छ । उनले हिन्दी ग्रन्थहरूबाट चोरी गरेर पिएचडीको थेसिस बनाए । किताब लेख्छु भनेर नेपाल प्रज्ञा प्रतिष्ठानलाई ठगे । आफैँले लेखेका भनिएका पुस्तकबाट थपघट गर्दै सारसुर गरेर बुझाए । अरूका कृतिबाट चोरी गरे । प्रज्ञा प्रतिष्ठानले यो आरोपमा छानविन गर्न एउटा समिति बनाएको छ अरे । 


प्राडा लुइँटेलमाथिको आरोपको शृङ्खला यतिमा सकिँदैन । उनले विज्ञ हुँ भनेर भारतको गुवाहाटी विश्वविद्यालयलाई पनि  ठगे । कतै नपढाउने आफ्नी पत्नी लीलालाई विशेषज्ञ बनाएर पाठ्पुस्तक लेख्न लगाए । अर्कैको लेख आफ्नी पत्नीको नाममा छपाए अनि लेखकले आपत्ति प्रकट गर्दा झुक्किएर भएको हो, ठूलो कुरा होइन भने । आफू नेपालमा प्राध्यापक नहुँदै प्राध्यापकको पगरी गुथेर गुवाहाटी विश्वविद्यालयलाई थाङ्नामा सुताए । श्रीमती पढाउँछिन् भनेर हुँदै नभएको क्याम्पसको एउटा नाम लेखाए । 


प्राडा लुइँटेलमाथि हुँदै नभएको पगरी गुथेको अर्को आरोप पनि छ भिजिटिङ कार्डसम्बन्धी । उनले आफूलाई नेपाली विभागको प्रमुखका रूपमा देखाएर भिजिटिङ कार्ड बनाएर बाँड्दै हिँडे । अरूले भाषा बिगारे, मैले आन्दोलन गरेर सपारेँ भन्दै अर्को पगरी गुथे । सवारी साधनको इम्बोस्ड नम्बरसम्बन्धमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्न देशविदेशबाट रकम सङ्कलन  गरे । न्यायाधीशहरूको अपमान गरेर अन्तर्वार्ता दिए । उनी सहलेखक रहेको ‘लोकवार्ता विज्ञान र लोकसाहित्य’ नामको कृतिमा तुलसी दिवसको ‘नेपाली लोककथा’ बाट ३८ पृष्ठ हुबहु सारेबापत दुई दिन हुनमानढोका हिरासतमा बसेर प्रकाशकलाई हर्जना तिर्न बाध्य पारे । 


अर्को एउटा आरोप झन् सङ्गीन छ । उनले उनको निर्देशनमा विद्यार्थीले बुझाएका शोधपत्रसमेत हुबहु सारेर आफ्नो नाममा रचनाहरू बनाए । उनले ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’ नामको पुस्तक हिन्दी भाषाका विभिन्न पुस्तकहरूबाट चोरी गरेर तयार गरेका हुन् । प्राडा लुइँटेलले नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत लेखेको ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ पुस्तकको सैद्धान्तिक खण्ड उनकै विद्यावारिधि शोधप्रबन्धको हुबहु हो । 


प्रज्ञा प्रतिष्ठानकै परियोजनाअन्तर्गत प्रकाशित उनको अर्को कृति ‘नेपाली उपन्यासको इतिहास’ पनि पूर्वप्रकाशित कृतिहरू र विद्यार्थीका थेसिसबाट चोरी गरेर तयार पारिएको हो । प्राडा लुइँटेलले लेखेका भनेर छापिएका विभिन्न पुस्तकहरू अरूका पूर्वप्रकाशित कृतिबाट र विद्यार्थीका थेसिसबाट चोरेर तयार पारिएका हुन् । 


प्राडा लुइँटेलले आरोपका यी शृङ्खलाहरूको धुवाँधार खण्डन गरेका छन् । आरोप लगाउने पक्षले प्रज्ञा प्रतिष्ठानले गठन गरेको छानविन समिति देखाएर उनलाई तह लगाइछाड्ने सन्देश प्रसार गरेको छ । छानविन समितिको विषयलाई लिएर प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिवहरू धु्रवचन्द्र गौतम र तुलसी भट्टराई पनि भुङ्ग्रोमा पारिएका छन् । यी दुई जना सोझाको खण्डनलाई प्राडा लुइँटेलको विपक्षले प्रचार सामग्री बनाएको छ । 


आरोपको यो शृङ्खलाका सूत्रधार नेपाली केन्द्रीय विभागकै प्राध्यापकहरू सुधा त्रिपाठी, रमेश भट्टराई र हेमनाथ पौडेल हुन् भन्नेहरू त्रिभुवन विश्वविद्यालयमै भेटिन्छन् । रमेश र सुधा पतिपत्नी हुन् र लुइँटेल रमेशका सहपाठी । तीन दशकअघिको बिहेको कथा यिनै तीनजनाको वरिपरि घुम्छ । के भने, एउटालाई बिहेको प्रस्ताव अस्वीकार गरेको सजायस्वरूप परीक्षामा अङ्क ठगेर दोस्रो बनाइयो र अर्कोलाई बिहे गर्ने शर्तमा नम्बर बढाएर प्रथम बनाएर स्वर्णपदक दिलाइयो । 


विदेशतिर बस्ने एक जनाले त प्रथम बनाउन पूर्णाङ्कभन्दा बढी अङ्क दिएको प्रमाण नै सार्वजनिक गरिदिन्छु भनेर पत्रिकामा चिठी छपाएका रहेछन् ।  


उमेर पुगेर बिहेको तम्तयारी गर्ने बेलाका तिनका सन्तान आफ्ना आमाबाबुका बिहेका घटनाका दिक्क लाग्दा कथा पढ्दा हुन् । सुन्दा हुन् । यी सबै प्राडाहरू उमेरले ६० माथि नै होलान् । त्रिभुवन विश्वविद्यालयमा ६३ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश हुन्छ । 


सबैभन्दा ठूलो र पुरानो भईकन पनि त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक छवि बद्नाम छ । बद्नामीको अवस्था त्यहीँका डा. र प्रा. हरूले सिर्जना गरेका हुन् । विश्वविद्यालयकी कुनै मेधावी शिक्षिकालाई बिहे गर्ने प्रस्ताव अस्वीकार र स्वीकार गरेको घटनाको बिउ झाङ्गिएर तीस वर्षपछि, उनीहरू आफू सेवा निर्वृत्ति नजिक हुँदा, एकले अर्कालाई ‘देखाइदिने र सिध्याउने’ घम्साघम्सी गर्छन् र आफ्नै आङ कन्याएर छारो उडाउँछन् भने तिनले पढाउने विश्वविद्यालमा प्राज्ञिक उन्नयनको के अपेक्षा गर्नु ! अनि त्रिभुवन विश्वविद्यालय किन बद्नाम नहोस् ! 


दुवै पक्षलाई नजिकबाट चिन्ने जान्नेहरूको आफ्नै मत र आरोप छ । 


प्राडा लुइँटेल नेपाली भाषासाहित्यको विद्वान हुँ, मेरो औकात बराबरको अर्को केही छैन भन्छन् । यिनी बेहद अहङ्कारी र छुद्र छन् । विद्वताको घमण्डले फुल्नुसम्म फुलेका छन् । आफू ठूलो लेखक र अनुसन्धाता हुँ भन्छन् । आफूलाई मत्ता र अरूलाई मुसा ठान्छन् । नेपाली भाषामा सुधारका नाममा शब्द र हिज्जेमा गरिएको परिवर्तनको यिनले धुवाँधार विरोध गरे । यसमा उनी एक्लै थिएनन् तर उनले जसको पगरी आफूमा मात्रै गुथ्ने प्रयासमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ को खाली चेक भजाउनुसम्म भजाए । 


सुधारका नाममा नेपाली भाषा बिगारेको ठहर गरी नेपाल प्रज्ञा प्रतिष्ठानले ‘नेपाली बृहत् शब्दकोश’ परिमार्जन गरेर दशौँ संस्करण छापेपछि प्राडा लुइँटेलको अहङ्कार चुलिनसम्म चुलिएको हो भन्नेहरू त्रिभुवन विश्वविद्यालयमै भेटिन्छन् । किनभने, भाषा सुधारका नाममा शब्द र हिज्जेमा परिवर्तन गर्ने अभियानका नायकहरूमध्येका थिए प्राडा रमेश र प्राडा हेमनाथ । प्राडा दम्पती र प्राडा हेमनाथले नेपाली भाषामाथिको परस्पर विरोधी अभियानमा प्राडा लुइँटेलमा चढेको सेखी झार्नु जो छ । 


अहङ्कार र छुद्रताका भएजति सबै विशेषण प्राडा लुइँटेलमै अटाउँछन् । अनेक दुर्गुण भएर पनि उनको प्राज्ञिक व्यक्तित्व उम्दा छ भन्नेहरू पनि त्रिभुवन विश्वविद्यालयमै भेटिन्छन् । उनको प्राज्ञिक क्षमताको दायरा निकै फराकिलो छ । यसबाट उनी विनम्र बन्नुपर्नेमा उल्टो भयो । शायद उनले धेरै थोक पढ्दा पढ्दै ‘विद्या ददाति विनय’ पढ्न छुटाएछन् क्यारे ! कति त के पनि भन्दा रहेछन् भने लुइँटेलको प्राज्ञिक दक्षतामा प्राडा दम्पतीलाई ईष्र्या छ । प्राडा हेमनाथले त लुइँटेलको एकछेउ पनि भेट्दैनन् । 


अर्को पक्ष पनि अरोपविहीन छैन । प्राडा सुधा र प्राडा रमेशले विश्वविद्यालयमा राजनीतिक पहुँचको गर्नसम्म दुरुपयोग गरेका छन् । पत्नी सुधा शिक्षाध्यक्ष हुँदा दुवैले शिक्षाध्यक्षको पद र आफ्नो राजनीतिक पहुँचको गर्नुसम्म दुरुपयोग गरे । नेकपा एमालेसँगको पहुँचबाट लाभ हासिल गरेका प्राडा दम्पती निजी स्वार्थको लोभमा संविधानसभाको पहिलो निर्वाचनपछि दल बदल गरेर माओवादीमा रूपान्तरण भए भनेर कुरा काट्ने र खिसिट्युरी गर्नेहरू पनि त्रिभुवन विश्वविद्यालयभित्रै भेटिन्छन् । 
आठ—दश वर्ष लगाएर मुश्किलले पूरा गरेको पिएचडीको थेसिसबाट अनेक किताब प्रकाशन गरे । प्रोफेसर हुन त्यही किताब देखाए । माध्यमिक तहको नेपाली विषयको पाठ्यपुस्तकमा विषय समितिको अध्यक्ष भएर प्राडा रमेशले पत्नी प्राडा सुधाका रचना सात कक्षादेखि १२ कक्षासम्मका पाठ्यपुस्तकमा समावेश गराए । यस्ता सङ्गीन आरोपहरू छन् । 


कुरा यतिमा सीमित छैन । एमएमुनिको विद्यार्थीकालदेखिका परिचित हुन् प्राडा लुइँटेल र प्राडा रमेश । एउटै सङ्गठनबाट एकजना धनकुटामा र अर्को विराटनगरमा स्ववियुका सभापति थिए । एमएका विद्यार्थी हुँदा छात्रावासका सहवासी थिए । त्यति बेलाको उरन्ठेउलो जीवनका एकअर्काका आन्द्राभुँडी दुवैलाई थाहा छ । त्यसैले दुवै पक्ष हातमा तरबार लिएर मैदानमा खडा छन् । 


बुझ्नुपर्ने एउटा ठाडो सत्य के हो भने प्राडा लुइँटेलको प्राज्ञिक चोरी प्रमाणित गर्ने एकोहोरो ढिपीको तरबारमा दुवैतिर धार छ । चोरेका पनि होलान् तर प्रमाणित गर्नु त्यति सजिलो छैन जति उनको विपक्षले सोचेको छ । व्यक्तिगत आचरण र छुद्र आनिबानीका आरोप—प्रत्यारोपले प्रमाण पुग्दैन । यस्तो कुरा त मेलापातलाई मात्रै काम लाग्छ । तथ्य जुटाउन लिखितम चाहिन्छ, बकितमले हुँदैन । लहरो तान्दा पहरो गर्जिन्छ, जुन पहराको टाकुराको साँघुरो मैदानमा दुवै पक्ष उभिएका छन् । अनि तेस्रो पक्ष पनि त्यहीँ छ, जसले यी सबैलाई डा. र प्रा. उपाधि दिएको थियो । 


डा. र प्रा. उपाधिका भित्री कथा र दाउपेच जेजस्ता भए पनि विश्वविद्यालयका प्राडाहरूको प्रतिष्ठा उचो हुन्छ । उसको प्रतिष्ठा मानक हुन्छ । उनीहरू राज्य प्रणालीका अनेक अङ्गहरूका लागि योग्य ठहरिन्छन् । सुन कहिल्यै खिया नलाग्ने चम्किलो धातु भएर यति महत्वको र मँहगो भएको हो । खिया लाग्ने भए त्यो पनि शौचालयको छानोमा प्रयोग हुन्थ्यो होला । 


साँच्चैका प्राडाहरू सुनजस्तै हुनुपर्ने हो तर यिनमा बाक्लो खिया देखिन थालेको छ । नेपाली केन्द्रीय विभागका केही प्राडाहरूबाट मञ्चित नाटकको पटाक्षेप हुन केही पनि बाँकी छैन । पर्दा उघ्रिसकेको छ तर नाटक मञ्चन यथावत छ किनभने दर्शकहरूलाई मजा आइरहेको छ । प्राडा दम्पतीका बारेमा केही सञ्चारमाध्यममा छापिएका छारस्ट कुराले त धेरैलाई झन् धेरै मजा आइरहेको छ । किनभने, सत्ताका निटकस्थहरू आमरूपमा कहिल्यै पनि प्रिय हुँदैनन् । 


प्राज्ञिक समुदायमा यी सबै प्राडाहरू कति उपहास, खिसीट्युरी र हँस्यौलीका पात्र भएका छन् भन्ने यिनले थाहै पाएनन् शायद । यी दुवै पक्ष षड्यन्त्रको साँघुरो घेरामा छन् । 


पटाक्षेप भइसकेको नाटकको मञ्चबाट पात्रहरू ओलिर्नु नै राम्रो । प्रष्टै छ, एकअर्काले भित्तैमा पु¥याउँछु भन्ने हो भने बाँकी वस्त्र पनि झर्ने छ । बचेखुचेको मानमनितो ध्वस्त हुनेछ । म हुँ भनेर अनुहार देखाउने ठाउँ बाँकी रहने छैन । कमसे कम आआफ्नो लाज ढाक्न र त्रिभुवन विश्वविद्यालयको बचेखुचेको इज्जतको हुर्मत नलिन पनि एकअर्कालाई सिध्याउने अभियान फिर्ता लिनु राम्रो । 


मौका पर्दा भएगरेका सानातिना खत देखाएर आफ्नो आङको छारो नउडाएको राम्रो । प्राडाज्यूहरू ! कमसे कम आआफ्नो लाज लुकाउनुहोस् । इज्जत जोगाउनुहोस् । ईष्र्या र अहङ्कारको भुमरीबाट बाहिर आउनुहोस् । विश्वविद्यालयबाट सेवा निर्वृत्तिपछि सम्मानित जीवन बाँच्नुहोस् । पहाडमा पसिना बगाएर तपाईंहरूलाई पढाउने बाबुआमाको र आफ्ना कुलको मान ख्याल राख्नुहोस् । तपाईंहरूलाई तलबभत्ता र निर्वृत्तिभरण खुवाउन कर तिर्ने नागरिकहरूतिर पनि एक नजर लगाउनुहोस् । 
र, अझ मुख्य कुरा, तपाईंहरूका कनिष्ठहरू र विद्यार्थीहरू यो नाटक मञ्चनबाट के सिक्दैछन् भन्ने ख्याल राख्नुहोस् । 


मै हुँ भन्ने हो भने खती हुने तपाईंहरूकै हो । अहिले तपाईंहरूलाई उचाल्ने र तपाईंहरूका पछि कुद्नेहरूले पनि अन्तिममा रामराम भन्ने हुन्, काँध थाप्ने होइनन् । दाह्रीजुँगा फुलेजस्तै बुद्धि पनि ढकमक्क फुल्ल्नुपर्छ । खोइ कुरा बुझ्या प्राडाज्यूहरू ! 
प्राडाहरूले त बुझ्नुपर्ने हो, रछ्यान चलाउँदा आफ्नै मुखमा छिटा पर्छ । कठै ! तीस वर्षअघिदेखिको रछ्यान किन उधिनेका होलान् !


अनि, यो आलेख पनि धेरै भित्र पस्नु उचित नठानेर टिनटापनमात्रै हो नमागेको सुझाबका लागि । उल्लिखित आरोपहरू उनीहरूकै हुन् । आलेख लेखक निरपेक्ष छ । 


हालै अन्नपूर्ण पोष्ट दैनिकको शनिबारे ‘फुर्सद’ मा ‘बेकामे पिएचडी’ शीर्षकमा साँच्चैका प्राडा माधवप्रसाद पोखरेलको एउटा आलेख फुर्सदले पढ्न पाइयो । यसको पहिलो अनुच्छेद यहाँ उद्धृत गरेर यो आलेख बिट मारिन्छ ।


‘जसले जीवनभरमा कुनै आदर्श शोध पत्रिकामा एउटा पनि लेख प्रकाशित गरेको छैन, त्यस्तो मान्छे नेपालमा चाहिँ प्राध्यापक पनि हुन पाउँछ, विश्वविद्यालयको शिक्षाध्यक्ष र सङ्कायाध्यक्ष पनि हुन पाउँछ, अनुसन्धान परिषदको सदस्य पनि हुन पाउँछ, शोध निर्देशक, शोध विशेषज्ञ र शोध परीक्षक पनि हुन पाउँछ अनि विश्वविद्यालयका प्राध्यापकहरूको मूल्याङ्कनकर्ता पनि हुन पाउँछ । यस्तो बेथिति संसारभरका आदर्श विश्वविद्यालयमा कल्पनै गर्न नसकिने कुरो हो ।’ 


यति पढेपछि हाम्रा विश्वविद्यालयका डा. हरूको मान कसरी गर्न सकिन्छ !
 
 

ताजा खबर