गम्भीर बिरामीको जीवन बचाउन ‘प्लाज्मा दान’ गर्न महानगर प्रमुखको अपील

२०७७ कार्तिक १५ शनिबार १५:३३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् ।


केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पून्य काममा सहयोग गर्न अपिल गरेका हुन् ।

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस् भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले    बताए ।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेका काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ ।


उनले अहिले काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आर्योवेदिक औषधीलगायतका सामग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको पनि जानकारी दिए ।

ताजा खबर