गयो दशैं

२०७७ कार्तिक १३ बिहीबार १०:०७:०० मा प्रकाशित

हावा कुमालको मझेरीमा पनि पसेको थियो दशैं
पस्दापस्दै चिमबाट सुटुक्क बाहिरियो 
उसका नानीहरूले एक मुट्ठी चिउरा र दही पनि भेटेनन्
न त खसी, न त सुँगुर
साविकको ढीँडो खाए
यसरी माननीय सांसदज्यूकै छिमेकमा उसले दशैं मनायो 
पुरानै कछाड बेरेर ।

माननीय त केन्द्रतिरै छन् तीन बर्षदेखि
तर उनका आफन्तको पोसाक
खानपिन र खेलबाड तासका पत्ताहरू
खालका कौडाहरू उसले पनि हेर्यो,
जितौरीको लोभमा निन्द्रा पनि बिगार्यो
अँ, बेलाबेला तीनपाने भने उसले पनि लायो
अबेला बिहानसम्म र घरको सिकुवामा दिनभरी ढल्यो
यसरी उसले पनि दशैं मनायो । 

नानीहरूले सधैं जस्तो बालुुवाको घर बनाउँदै 
ढाल्दै गरे
यो कला पूर्ब मन्त्रीबाट सिकेका उनीहरूले 
उनी छिमेकी भएको नाताले त्यति चैं सिके,
पहिला पहिला हावाकी श्रीमतीले 
थुप्रैपटक थुप्रै ऐलेका मन्त्रीहरूलाई
सुँगुरको सितनसँग ढीँडो खुवाएकी नै हो 
तीनपाने पियाएकी पनि हो 
गुप्तबास बसेका बेला । 


तर मन्त्री बनेपछि एकैपटक देखा परेनन् 
उसले अब त पस्लानकी भनेर बाटो हेर्न पनि छाडिसकेकी छे,
यस्तै हो जाबो दशैं आउँछ जान्छ
जाबो मन्त्री आउँछ जान्छ 
अब त दुई हात जोडिन छाडे तिनलाई देखेर
लाउके र चम्चेहरूले नमस्ते खोजेको बिचार नगरेकी पनि होइन उसले
तर पिठ्युँ देखाउन मनलाग्छ उसलाई 
भात रातरात पकाई खुवाएको सँझन्छे ऊ
गर्धनेले टर्च बालेर बाटो लुकि लुकि कटाउँदै
अर्को सेल्टर पुर्याएको पनि सम्झन्छे ऊ
र गम्छे मनैमन धत्तेरिका !

यसरी धत्तेरिकामा नै यसपटकको दशैं पनि गयो 
अर्को अर्को र अर्को पटक पनि यसरी नै आउनेछ दशैँ
र जानेछ सुटुक्क चिमको भित्ताबाट
एकोहोरो हेरिरहन्छे त्यो चिमे भित्तालाई !
 

ताजा खबर