मीठासे बानी छ भने यसरी पकाउनु तरकारी: यस्तो छ विज्ञको सुझाव

२०७७ कार्तिक ११ मंगलबार १०:३०:०० मा प्रकाशित

सागपात या अन्य तरकारी नै किन नहोस्, यदि गलत तरिकाबाट पकाइन्छ भने त्यसमा रेचक गुणको बदला कब्जकारक गुणको बिकास हुन्छ । आजभोलि तरकारीलाई अनेकन मसलाहरु र तेल राखेर यति तार्ने, भुट्ने गरिन्छ कि त्यसको पौष्टिकता त नाश हुन्छ नै, अत्यधिक तेल र मसलाको प्रयोगले त्यो भोजन शरीरको गुणधर्म विपरित हुन जान्छ । मसलाको अत्यधिक प्रयोग होटलहरुको देन हो । होटलमा आज एक प्रकारको खाद्य परिकार बनाइन्छ र बेलुकासम्म जब त्यो बिकेर सकिँदैन त्यसलाई अर्को दिन बिहान पुनः मसला र तेल राखेर  भुटी ताजा भनेर प्रस्तुत गरिन्छ । मसला र तेलमा तार्ने भुट्ने परम्परा प्रमुख होटल व्यवसाय, राजा महाराजा र मुसलमान बादशाहहरुको देन रहेको छ ।

स्वास्थ्य विज्ञान एवं पोषण विज्ञानका दृष्टिमा तरकारी पकाउने सही तरिका सर्वप्रथम सागपात वा अन्य तरकारीलाई थोरै पानीमा राखेर उमाल्ने या पानी आवश्यक नभए नराख्ने, केही समयपछि अदुवा, मरिच, बेसार, सौफ, मेथी धनियाँ जस्ता स्वस्थ्यकर मसलाहरुलाई तत्काल पिसेर पानीमा घोली आवश्यक नून पनि मिलाएर राखी पकाउने । पाकेपछि आवश्यकता अनुसार उपलव्ध भएसम्म नौनी या शुध्द घ्यू राखिदिने । स्वास्थ्य विज्ञानको क्षेत्रमा काम एवं अनुसन्धान गरिरहेका पोषणशास्त्रीहरु भन्दछन्– ‘सागपात र अन्य तरकारीहरु केवल पानी या बाफमा पकाउने, मसला त परै जावोस् नून मिलाउन पनि कुनै जरुरी छैन किनकि सागपात एवं अन्य तरकारीहरुमा शरीरका लागि आवश्यक प्राकृतिक नून र अन्य खनिज तत्व प्राकृतिक रुपमै रहेका हुन्छन् । यदि यसमा अतिरिक्त नून मिलाईयो भने त्यो शरीरको अवाश्यकता भन्दा बढी हुनजान्छ । यसको दुष्परिणामबाट अनेक रोगहरु हुन जान्छन् । 

तपाईंहरु स्वस्थ र आनन्दित जीवन बिताउन चाहनुहुन्छ भने सागपात र तरकारीहरु भुट्ने साथै मसलाहरुको अत्यधिक प्रयोग नगर्नुहोेस् । खुर्सानी र नून जस्ता उत्तेजक वस्तुको उपयोग नै नगर्नुहोस् । बट्टाबन्द मसलाहरु तेलमा भुटेर सो तेलमा विविध तरकारीहरु भुटी प्राकृतिक गुणविहीन बनाएर खाने गर्नाले अनेकन् रोगहरुको चंगुलमा पर्नुपर्दछ । आजभोलि अत्यधिक रुपमा पेटका रोगहरु बढ्नुको पछाडि प्रमुख कारण यो पनि हो  ।

पहिले पहिले केही लाभदायक मसलाहरु बेसार, अदुवा, मरिच, जाइफल, जाईपत्री, मेथी, सोफ, ल्वाङ, पिपलाजस्ता औषधिय गुण भएकालाई पानी मिलाएर ढुङ्गाको खलमा पिसी सागपात या अन्य तरकारीहरु पाक्ने बेलामा राखिन्थ्यो । यो चलन हितकर नै थियो । यो चलन अब लुप्त हुँदै गयो र बट्टाको तयारी मसलाले सो स्थान लियो । तयारी मसलाहरु एकतर्फ मिसावटबाट मुक्त हुन सकेनन् भने अर्कोतर्फ तार्ने,भुट्ने काममा प्रयोग हुनथाले । अतःउपर्युक्त कुराहरुलाई मनन गरी तरकारी ठीक विधिबाट पकाई रोगहरुबाट बचौं र बचाऔं ।

कसरी पकाउने तरकारी ?

१. तरकारी काटेपछि धेरै समयसम्म राख्नुहँदैन, तत्कालै पकाउनु पर्दछ र खानु पर्दछ ।

२. तरकारी सकेसम्म कम पानी राखेर ढाकेर पकाउनु पर्दछ । धेरै समयसम्म पकाइरहनु हुँदैन । पानी धेरै राखेर सुकाउनु छ भन्दै पकाउँदै गर्ने चलन धेरै ठाउँमा पाइन्छ तर यो पूर्णत गलत तरिका हो ।

३.  तरकारी पटक पटक तताउँदै खाँदै गर्ने चलन पाइन्छ । यसरी धेरै पटक ताइरहँदा स्वाद र पौष्टिकता दुबै नष्ट हुन्छन् ।

४.  तरकारी ठूलो ठूलो टुक्रामा काट्नु पर्दछ । सिंगै पकाउन मिलेमा सिंगै पकाउनु राम्रो हो । काटेपछि धुनुहुँदैन, धोएर काट्नुपर्छ । 

५.  गाजर, मुला, चुकन्दर, गाँठगोभी आदिको कमलो पात फ्याँक्नु हुँदैन । यसमा कब्ज निवारक गुण पनि छ ।

६.  तरकारीलाई धेरैबेर पानीमा भिजाएर राख्नुहुँदैन । काटेपछि त पानीमा भुलेर पनि भिजाउनु हुँदैन । धेरै समय पानीमा भिजाउनाले शरीरका लागि अत्यावश्यक पोषक तत्व पानीमा घुलेर नष्ट हुन्छ ।

७.  जुन तरकारीको बोक्रा एकदमै खान मिल्दैन त्यसलाई मात्र तास्ने, खान मिलेसम्म नतास्ने । बोक्रा तास्न नै परेमा अति पातलो गरी तास्ने किनभने अत्यधिक भिटामिन र खनिज तत्व बोक्राको बाहिरी तहसँगै त्यसको तल रहेको हुन्छ । भाण्टा, परवर, घिरौंला, तोरई जस्ता तरकारीको बोक्रा फ्याक्नु अहितकर हुन्छ ।

८. काँचो खानमिल्ने टमाटर, काँक्रो, पातगोभी, मूला, सलादको पात, गाजर, पालक आदि सफासँग धोएर काँचै खानु स्वस्थथ्यकर हुन्छ । यिनीहरुलाई पकाउनाले पौष्टिक तत्व नष्ट हुनुका साथै कब्ज निवारक गुण पनि नष्ट हुन्छ । उपयुक्त कुराहरु काँचो खानुभन्दा पहिले पोटास पानी या तातो पानीले राम्रोसँग सफा गरेर मात्र खानुर्दछ जसले किटाणु र फोहर दुबै फ्याँकिदिन्छ । (स्रोतः मानसाग्निको पुस्तक ‘आरोग्यको मूलबाटो)

ताजा खबर