कोरोना विरुद्धको खोप: सबै उमेरका व्यक्तिमा प्रतिरोधि क्षमता विकास गरेको दावी

२०७७ कार्तिक ११ मंगलबार १०:१६:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोपले युवा तथा ज्येष्ठ नागरिक दुबैमा प्रतिरोधि क्षमता विकास गरेको बताइएको छ । बेलायती संस्था ड्रग मार्करका अनुसार सो खोपले निकै कम नकारात्मक असर देखाएको पनि जनाएको छ ।

सो विश्वविद्यालय अन्तगर्तको अस्ट्रा जेनिकाले सो खोपको विक्री तथा उत्पादनका लागि धेरै देश तथा कम्पनीसँग सम्झौता गरी सकेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण विरुद्धको लडाँइमा यो ठूलो फड्को हुन सक्ने अनुमान गरिएको छ । एस्ट्रा जेनिकाका एक प्रवक्ताका अनुसार युवा र पाको उमेरका व्यक्तिमा रोग प्रतिरोधि क्षमताको विकास एकै किसिमले भएको तथा खोप लगाए पछि देखिने असर पनि पाको उमेरका मानिसमा निकै कम भएको पाइएको थियो । प्राविधिक नाम ‘एजेडडी १३२२’ नाम दिइएको सो खोपको पछिल्लो अनुसन्धान परिणामले सुरक्षा र प्रतिरोधि क्षमता दुबै राम्रो भएको थप प्रमाणहरु दिएको समाचारमा उल्लेख छ ।

एस्ट्रा जिनिकाले सो भनाइलाई पुष्टि गर्ने खालका विस्तृत तथ्यहरु भने सार्वजनिक गरेको छैन । साथै धेरै मानिसले प्रतीक्षा गरिरहेको र सो खोप प्रयोगका लागि अनुमित लिन गरिएको तेस्रो चरणको परीक्षण हाल अन्तिम क्षणमा रहेको र यसबाट आउने परिणाम पछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।

खोपबारे बेलायती स्वास्थ्य मन्त्री म्याट ह्याकोकले सो खोप अहिले नै तयार नभए पनि आगामी वर्ष २०२१ को पहिलो छ महिनामै उत्पादन गर्ने गरी आवश्यक तयारी गरीरहेको बताएका छन् । विबीसीले यो वर्षनै केही मानिसले खोप पाउन सक्छन भनि राखेको जिज्ञासामा उनले त्यो कुरालाई आफूले नकार्न नसक्ने बताए । उनले सो कार्यक्रम निकै राम्रोसँग अघि बढिरहेका भए पनि यसको टुङ्गो भने लागि नसकेको बताए ।
 

ताजा खबर