पूर्व राजाको शुभकामना र सरकारको हैसियत

२०७७ कार्तिक ७ शुक्रबार १३:१७:०० मा प्रकाशित

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहको दशैं शुभकामना सन्देशले सत्तारुढ दल नेकपा र अरु राजनीतिक दलका मुखियाहरुको ध्यान कत्तिको खिच्यो, यसै भन्न सकिँदैन । तर दशैं शुभकामना सन्देशमा अन्तरनिहीत वर्तमान परिस्थितिको विश्लेषण र राजकीय कमजोरीको गतिलैसँग चिरफार गरिएको छ । राजनीतिमा क्रियाशील सचेत व्यक्तिहरुले यो शुभकामना सन्देशमा आफ्नो अनुहार नियाल्न सक्नेछन्, नागरिकप्रति आफूले निर्वाह गरेको दायित्वको समीक्षा पनि गर्न सक्नेछन् ।

नेपाली जनताले दुःखकष्टका समयमा अभिभावक पाउन नसकेको भनी गरिएको विश्लेषण वर्तमान अवस्थाको तीतो यथार्थवादी टिप्पणी हो भन्नलाई कुनै आईतबार पर्खिरहनु पर्दैन । कम्तिमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका मुखिया र उनका अनुयायीले यसबारेमा निधार खुम्च्याएर मन्थन गरेमा उनीहरुकै चित्तशुध्दि हुने देखिन्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहबाट नेपाली नागरिकको जीवन रक्षाप्रति चिन्ता गर्दै सरकारी रवैयाको खुलेर आलोचना भएको छ । कोरोना भाईरस संक्रमण पीडित नागरिकको जीवन रक्षाप्रति उदासिन र गैरजिम्मेवार देखिएको सरकार नेपाली जनताको अभिभावक बन्न नसकेको गम्भीर आरोप पनि पूर्व राजाबाट लागेको छ । कोरोना भाईरस संक्रमित नागरिकको उपचार नगर्ने सरकारको निर्णयप्रति सर्वत्र आलोचना भैरहँदा पूर्वराजाबाट आलोचना भएको हो ।

बडा दशैंको शुभकामना सन्देशमा पूर्व राजाले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयप्रति आपत्ति प्रकट गर्दै सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको निष्कर्ष निकालिएको छ । ‘जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने’ यथार्थप्रति सचेत हुन पूर्व राजाबाट सबैसँग आग्रह गरिएको छ ।

शुभकामना सन्देशमा चर्चा गरिएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्दछ । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’

वर्तमान राजनीतिक नेतृत्व आपसी समन्वय, सद्भाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाउँदै पूर्व राजाबाट यसले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको विश्लेषण गरिएको छ ।

‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्य बृद्धि अभाव र गुणस्तरीयतामा ह्रास जस्ता बिषयले हाम्रो जनजीवन पिरोलिएको छ,’ पूर्व राजाको सन्देशमा भनिएको छ, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’

परिवर्तन पछि अर्को परिवर्तन अनि फेरि अर्को परिवर्तन पछि नयाँ परिवर्तनबाट पनि किन आज नेपाली जनता अभिभावकविहीन नै भैरहनु परेको हो त ? व्यवस्था परिवर्तन, राज्यको पुनर्संरचना, स्थानीय देखि संघसम्म जननिर्वाचित निकायको गठन अनि बलियो जनमत सहितको सरकार ! तर राज्य सञ्चालनमा अस्पष्टता, अनियमितता, भ्रष्टाचार, शक्ति पृथकीकरणको सिध्दान्तमा विचलन, परराष्ट्र सम्बन्धमा तनाव र नेतृत्वको उडन्ते भाषणबाजी । अहिलेसम्म यिनै हुन् नेपाली जनताले निशुल्क देख्न सुन्न पाएका चिजहरु । तर जब प्राकृतिक विपत्ति आयो, महामारीले जीवन चरम संकटमा पर्यो तब सरकार नामको संस्था कसैको रहँदैन । कोरोना भाईरस संक्रमणकालमा जनताले यही नै त हो भोग्नुपरेको सरकारको अभिभावकीय व्यवहार । 

यसबेला पूर्व राजाले सम्झाउनु परेको छ– ‘सरकार तिमी नेपाली जनताको अभिभावक बन्न सकेनौं !’
 

ताजा खबर