सिटौलाका कारिन्दा थिएनन् रामबाबु !

२०७७ कार्तिक ७ शुक्रबार १२:००:०० मा प्रकाशित

रामबाबु काङ्ग्रेस सभापति ! कृष्ण दाइ उपसभापति ! हामी नेबिसंघका फुच्चेहरुलाई सगरमाथा चोकमा पुस्तकालय खोल्ने धुन सवार भो ! सभापतिसँग भन्दा बढी हिमखिम र नजिकै समेत रहेकोेले टोलि उपसभापतिको घर पुगेर योजना बतायो । पाँच हजार जतिको आर्थिक विवरण पेस गरियो । उपसभापतिजीले रामबाबुका नाममा रकम उपलब्धिको पत्र लेखिदिएपछि राजन दाहाल, सुरेन्द्र प्रसाईं, बिश्व प्रकाश शर्मा र म सहितको टोलि बिर्तामोड प्रस्थान ग¥यो । सभापतिज्यूलाई पत्र हस्तान्तरण गरियो । सभापतिज्यूले पत्र पढिसकेपछि– ‘ए ! अब म कृष्णजीको कारिन्दा भएछु ? भन्दै धुजा धुजा पारेर पत्रको हाम्रै सामु अन्तेष्टि गर्दिनु भो !'

रकमको आशमा पुगेको टोलिको बहिरङ्ग वापसी भो ! रामबाबु प्रतिको हामीमा जागेको नकारात्मक सोचलाई केही मलजल गरेपछि तानतुन गरेर तीन सय जति दिनु भो उपसभापतिज्यूले ! पाँच हजारको अगाडि तीन सय हात्तीको मुखमा जिरा झै ! 

हाम्रो योजनाले बिरगती प्राप्त गर्ने प्रवल सम्भावना भो ! दाजु भरत (भरत भूर्तेल) लाई घटना सबिस्तार बतायौं ! रामबाबुको स्वभावका बारेमा बताउँदै उहाँ कसैको आदेश र दवाब नमान्ने तर उहाँ स्वयंलाई आग्रह गर्दा निरास नपार्ने जानकारी दिँदै केही दिन पछि फेरि गएर आग्रह गर्ने सल्लाह दिनु भो ! सोही अनुसार १५–२० दिनपछि टोलि पुगेर योजना बतायो !

ईस्टिमेट खै ? दाहिने हात हामीतिर पसार्दै सोध्नु भो ! लौ बित्यो ! ईस्टिमेट त छैन ! मुखामुख गर्यौ ! बोल्ती बन्द भो ! कहाँ बाट लिने फर्निचर ? कुन आईटम लाई कति कति पर्छ ? बिस्तृत विवरण खै त ?

सुरेन्द्रले स्थिति सम्हाल्न खोज्यो– बिर्तामोडबाट फर्निचर लिने ! अरु विविध कुराको मौखिक विवरणलाई रामबाबुले लिखित ईस्टिमेट ल्याउने आदेश दिँदै खारेज गर्दिनु भो ! बिर्तामोड चोक आएर ईस्टिमेटको खेस्रा बनाईयो ! फर्निचर साहु पनि तयार पारियो ! सबै कुरो रटाएर रामबाबु सामु उपस्थित गराएपछि रामबाबुले परीक्षा सुरु गर्नु भो ! कतिपय कुरा हामीले सिकाएको भरमा त कतिपय कुरा हाम्रो आँखा सन्काईको भरमा र कतिपय उत्तर हामीबाटै पाएपछि फर्निचरवाला पास भयो या भनौं हाम्रो टोलि पास भो ! रामबाबुले हाम्रो माग बमोजिमको रकम उपलब्ध गराईदिनु भो ! हामी खुशी हुँदै फर्कियौ ! रामबाबु प्रतिको हाम्रो अघिल्लो धारणा मेटियो ! दाजुको सल्लाहले काम ग¥यो ! पछि रामबाबुकै हातबाट उद्घघाटन समेत गराएर केही समय चलाईयो पनि ! अलि पछि पुस्तकालयमा काङ्ग्रेस पस्यो ! भनिरहनु नपर्ला पुस्तकालय बन्द भो !

यस्तै यस्तै रोचक प्रसङ्गका भण्डार ! आदर्शवादी ब्यक्तित्व सत्यवादी नेता रामबाबुले असोज २३ गते देहत्याग गरि महाप्रस्थान रोज्नु भो ! काङ्ग्रेसले संबैधानिक  राजतन्त्र त्यागेपछि उहाँले पनि काङ्ग्रेस त्याग्नु भो ! गणेशमानजी, किशुनजी समेत नअटाएको र घिरांैले काङ्ग्रेस हाबी भएको काङ्ग्रेसमा रामबाबु किन चाहिन्थ्यो र ? चाहिएन वास्ता पनि भएन !

 तर उहाँ बितेपछि गत शनिवार झापा काङ्ग्रेसले उहाँको संम्झनामा शोक सभा ग¥यो ! जम्माजम्मी ४१ जनाको उपस्थिति रहेको शोक सभामा चार बजेसम्म हाजिर जनाउनेको संख्या ६५ पुगेछ ! एकाध पत्रकार सहित ! रामबाबुका बारेमा भाषणभूषण भो ! सबैले रामबाबुको सालिन चरित्रको अनुशरण गर्नुपर्ने अर्ति उपदेश छाँटे ! उहाँको महानताको चर्चा भो ! ०४५÷०४६ तिर रामबाबुलाई ढुङ्गा चढाउनेले समेत उहाँको तस्बिरमा फूल चढाए, गुणगान गाए ! भावुक भए !

शोकसभाबाट फर्कँदा बाटोमा एक काङ्ग्रेसी भेटिए, कार्यक्रमको बारेमा थाहा त थियोे तर कोरोनाका कारण उपस्थित हुन  सकिन ! स्पष्टीकरण दिए ! उनी तिनै काङ्ग्रेस हुन् जो केहीदिनअघि मेची क्राउनको उद्घघाटनमा कोरोनाको डर त्रास नमानी बहादुरीपूर्वक मदिरा सेवनमा सामेल थिए ! अर्का पत्रकार भेटिए, उनी पनि त्यस्तै । कोरोना त्रास ! उनलाई पनि मेची क्राउनको मदिरा सेवन र खाम ग्रहण कार्यक्रममा बाङ्गा खुट्टा पारेर चिकन चिल्लिमा चिप्लेर लड्न चैं रोकेन तर शोकसभामा सामेल हुन चै रोक्यो कोरोनाले !

सायद त्यो शोकसभामा खानपिनको राम्रै बन्दोबस्त हुन्थ्यो या आर्थिक राजनैतिक उन्नति प्रगतिको सम्भावना रहन्थ्यो भने सैकडौ बहादुर काङ्ग्रेसीको सामेली हुन्थ्यो होला ! कोरोना सोरोनाले रोक्ने थिएन ! खानपिनपछि खाम बितरणको कार्यक्रम रहन्थ्यो भने पाँच बोलाएको ठाउँमा पचास पत्रकारको उपस्थिति हुन्थ्यो होला ! फूल चढाउन र खवर लेख्न तँछाडमछाड हुन्थ्यो होला !
   तर त्यहाँ त रामबाबुको तस्बिरमा अर्पण गर्न राखिएको फूल र बिवेक प्रसाईंले राखिदिएको सादा पानी मात्र थियोे !  अनि किन र के का लागि हाजिरी बजाउनु ? केका लागि उपस्थित हुनु ?

जे होस, मृत्यु पर्यन्त ६५ जनाको झापाली काङ्ग्रेसको विशाल समुहले रामबाबुलाई सम्झेकोमा कृतज्ञता जाहेर गर्नैपर्छ ! रामबाबु जस्तै हुनुपर्ने भाषण गर्ने काङ्ग्रेसजनमा उहाँ जस्तो हुन नसके पनि उहाँको सद्गुणको केही अंशले मात्र भए पनि बास गरोस् !

भावपूर्ण श्रद्धाञ्जली रामबाबु !
 

ताजा खबर