आज नवरात्रीको पाँचौ दिन: स्कन्द माताको पूजा  

२०७७ कार्तिक ५ बुधबार ०९:३९:०० मा प्रकाशित

काठमाडौं । आज नवरात्रीको पाँचौ दिन । शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरी मनाईँदै।

 नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुनुहुन्छ । कमलको फूल आसन गर्नुभएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उहाँलाई स्कन्दमाता भनिएको हो ।

यी देवीको काखमा सुपुत्र स्कन्दकुमार रहनुहुन्छ । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह हुने धार्मिक मान्यता छ ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।
 
चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यी देवी पद्मासन सहित सिंहमा सवार हुनुहुन्छ ।

ताजा खबर