नौ अर्ब भोजन र कलुवाको बर्बराहट 

२०७७ कार्तिक २ आइतबार १५:१०:०० मा प्रकाशित

गोरखातिरको कलुवा र चितवनतिरको भलुवाको दोस्ती प्रगाढ थियो ! साँच्चै आरिस लाग्दो थियो ! कलुवा पढाईमा अब्बल चतुर समेत ! भलुवाको पढाइ अलि कम भए पनि धुर्त्याईं कलुवाको बाउ !

प्रगाढ दोस्ती झन्झन् गाढा हुँदै जाँदा खानपिन रहन सहन सबै संयुक्त ! ब्यापार ब्यवसाय समेतमा समान सहभागिता ! ०५२ सालबाट सुरु गरेको रगत मासुको ब्यापारबाट अथाह सम्पत्ति आर्जन गर्न सफल ! कलुवा भारततिरै बसेर पढेको र उतैको ब्यापारीको ७४ नम्बर जागीरे पनि भएकोले ब्यापार फस्टाउन निकै मद्दत पुगेको हल्ला यदाकदा सुनिएकै पनि हो ! आफू पारिको पुरानो जागिरे भएकोले साहुलाई भनसुन गरेर भलुवालाई पनि उतैको जागीरे बनाईदिएको त दस बर्षे ब्यापारको क्रममा अधिकांश समय उतै बिताएको बिलासी जीवनबाटै प्रष्ट भएकै हो !

राजनीतिका नाममा ब्यापार र ब्यापारका नाममा राजनीति चल्दै गर्दा शहरिया जीवनमा प्रवेश पछि दुबैले चुनाव लडे ! जिते पनि !

फ्याट्ट भलुवा प्रधानमन्त्री भो ! कलुवाले पनि राम्रै जिम्मेवारी पायो ! ढुकुटीको चाबी नै भेट्यो ! तर तीतो सत्य– राजनीतिको नसा खतरनाक नसा ! मानवीय स्वभाव  आफैं मात्र शिखर चुमौं भन्ने भावना ! आरिसे जात ! त्यसमाथि दुईटा सज्जन पो मिल्न सक्छन् त दुईटा चण्डाल कसरी मिलुन् ? ब्यापारमा हुँदाको दोस्ती राजनीतिमा आईपुग्दा धमिरा प्रवेश भो र दिमागसम्मै आसन जमायो ! भलुवा माथि मैमत्तापन सवार हुन थाल्यो ! कटुवाल काण्ड, पूजारी काण्ड उसैका सनकका उपज हुन ! भलुवा आफ्नै मैमत्तापनका कारण ओरालो लाग्यो सडकमा आयो ! एक अर्कालाई सिध्याउने खेल सुरु भो ! त्यसलाई देशी बिदेशी मल ब्यापारीले मल हाल्न मद्दत गरे ! उनीहरुको आन्तरिक खिचातानी त प्रमुख रूपमा छँदैथियो !

समयको खेल– कलुवाका पनि दिन आए ! उ पनि प्रधानमन्त्री भो ! सुरुमै भ्यागुतो उफ्रेझैं महावाणी पस्क्यो ! दस बर्ष मिलेर समृद्ध मुलुक बनाउनु पर्ने प्रस्ताव ल्यायो तर सबै गफमा ! आफू साधारण मुस्ताङ्ग चढ्ने र स्वास्नी सहितको लावालस्कर पजेरोमा हुँईक्याउने नाटक उसैको पालामा देखिएको हो ! आफूलाई भेट्न आउनेलाई “उता पनि भेटेर जानुस है” भन्दै स्वास्नीको च्याम्बरतिर ईशारा गरेर द्रब्य कलेक्सनको चाँजोपाँजो मिलाउने गरिन्थ्यो भन्ने चर्चा व्यापक थियो ! कलुवाकी स्वास्नी दक्षिण एसियाकै भ्रष्ट महिलाको सूचिमा सुचिकृत समेत भएकी थिईन ! कलुवाको नाटक पनि खुब देखियो ! हेलिकप्टर चढेर लाखौं खर्च गरेर गरीबको झुपडीमा गएर काँधमा गम्छा बेरेर पिर्कामा बसेर गँगटाको अचार खानसम्म भ्यायो !

जतिसुकै फुर्ती लाएपनि कलुवाको पनि हावा खुस्कियो ! भलुवाकै ताल भो ! कलुवा र भलुवाको दोस्तीको  औपचारिक रुपमै अन्त भो ! धोती न टोपी भएर बाख्रा पाल्ने मनस्थितिमा पुगेको कलुवालाई शेरबहादुरको सनकका कारण सांसदको चिठ्ठा प¥यो ! गुन मान्नु त कता हो कता ? हिन्दी सिनेमाको प्रेम चोपडा पो निस्क्यो– काङ्ग्रेसलाई म्यूजियममा राख्नुपर्छ भन्दै बर्बराउन थाल्यो !

मुस्ताङ्ग नाटक र पिर्कामा बसेर गँगटो सेवन बाटै उसको नौटंकी प्रष्ट भैसकेकोमा पछि आएर होलिवाईन ओभरडोजको असर हो कि क्या हो ? धर्म संस्कृति माथिको प्रहार, टपरे बाहुन आदि ईत्यादि जस्तो छुद्र वचन अनि थर परिवर्तन गरि कामी दमाई लेखौं भन्ने बेमौसमी बर्बराहटले कलुवा मानसिक रूपमा निकै बिरामी भएको महसुस गरिएकै हो ! झन् अहिले आएर नौ अर्बको कथाले त उसका लागि “गेल भैंस पानीमें” भन्नुको विकल्प देखिएन ! 

अदालतभित्र हुँदा कलुवा कुनै प्रमाण देखाउँदैन केही बोल्दैन ! आफ्नै हातमा डाडु पुन्यु हुँदा समेत केही लछारपाटो लाउँदैन । जब होलिवाईनको ओभरडोजको असर सुरु हुन्छ बर्बराउन थाल्छ ! नौ अर्बको बर्बराहट पनि त्यसकै असर पो हो कि ?  (यो बिशुद्ध कलुवाको कथा हो ! लालध्वजको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ !)
 

ताजा खबर