बहराइनका राजकुमारले मनासलु हिमाल आरोहण गरे

२०७७ असोज २९ बिहीबार ११:३३:०० मा प्रकाशित

काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले आज बिहान मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

 राजकुमारसहितको टोलीले आज बिहान ६ बजे मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ । टोलीमा राजकुमारसहित ५० जना सहभागी थिए ।

मनास्लु हिमाल ८ हजार १ सय ६३ मिटर अग्लो छ । मनास्लु आरोहणका लागि राजकुमारको टोली गत असोज २० गते गोरखाको सामागाउँ पुगेका थियो । राजकुमारको आरोहणको बन्दोबस्त सेभेनसम्मिट ट्रेक्स प्रालिले नै मिलाएको थियो । 

राजकुमारसहितको सो टोलीले यसअघि असोज १९ गते सोलुखुम्बुको ६ हजार १ सय १९ मिटर अग्लो लुबुचे हिमाल सफल आरोहण गरेको थियो । हिमाल आरोहणका लागि खलिफासहितको टोली भदौ ३१ गते नेपाल आएको थियो ।

कोरोना रोकथामका लागि गत चैतमा गरिएको लकडाउनपछि हिमाल आरोहण गर्ने सो टोली पहिलो हो । भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले राजकुमारसहितको टोलीलाई हिमाल आरोहणका लागि नेपाल आउन अनुमति दिएको थियो ।

सरकारले लकडाउनपछि नेपालमा पहिलो पटक हिमाल आरोहण अनुमति दिएको हो ।

ताजा खबर