उपत्यकामा कोरोना महामारी: काठमाडौं अति प्रभावित, भक्तपुरमा आइसोलेसन बेड, भेन्टिलेटर र आईसीयू अझै खाली

२०७७ असोज २७ मंगलबार १३:३२:०० मा प्रकाशित

काठमाडौं । उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दैछ । सबैभन्दा धेरै उपत्यकामा काठमाडौं जिल्लामा संक्रमितहरु छन् । त्यसपछि लतिलपुर र तेस्रोमा भक्तपुर जिल्ला छ ।

नेपालमै पहिलो पटक चीनको बुहानबाट उद्धार गरिएका विद्यार्थीहरुलाई ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो भने विदेशबाट ल्याएर राखिने अधिकाशं होल्डिङ सेन्टर भक्तपुर जिल्लामै छन् । भक्तपुरमा तीन हजार सात जना संक्रमितहरु रहेकोमध्ये आइतबार साँझसम्ममा निको भएर एक हजार ६७२ जना घर फर्किएका छन् । सकृय संक्रमितमध्ये ३९१ जना भक्तपुर जिल्लामा संचालित आइसोलेशन सेन्टरमा रहेर उपचार गरिरहेका छन् भने अरु होम आइसोलेशमा बसेका छन् । भक्तपुर जिल्लामा पाँच जनाको आइसियुमा राखेर उपचार भैरहेको छ । भक्तपुर जिल्लामा कोरोना संक्रमणको कारण ३५ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख डा।कृष्णबहादुर मिजारले भक्तपुर जिल्लामा अहिलेसम्म तीन हजार सात जनामा संक्रमण देखिएको बताए। आइतबार साँझसम्ममा एक हजार ६७२ जना निको भइसकेको उनले स्पष्ट पारे।

‘हामीले संक्रमितको स्वास्थ्य अवस्था हेरेर अस्पताल लैजाने गर्छौ,अहिले लक्षण नभएका र होम आइसोलेसनमा बस्ने अवस्था भएका संक्रमित घरमै बस्नुभएको छ’ मिजारले भने।

कुनै संक्रमितको होम आइसोलेसनमा बस्ने वातावरण नभएका संक्रमितलाई पनि आइसोलेसनमै लैजाने गरेको उनले बताए । लकडाउन खुलेपछि घर गएकाहरु उपत्यका फर्कने क्रममा संक्रमण बढ्ने भएसँगै जिल्ला स्वास्थ्य कार्यालयले आइसोलेसन निर्माणमा निक्कै सकृयता देखाएको छ । भक्तपुर जिल्लामा मात्रै ८७१ बेडको आइसोलेसन रहेको छ । त्यसमध्ये ३९१ वटा बेड प्रयोगमा छन् भने ४८० बेड आइसोलेसन भक्तपुर जिल्लामा खालिनै छन् । त्यसमा तत्कालै संक्रमित राख्न सकिने उनी बताउँछन् ।

भक्तपुर जिल्लामा स्वास्थ्यका मापदण्ड पालना नगर्ने, जथाभावि घुमफिर गर्ने, समुहमा बस्ने, मास्क लगाउने, हातको सरसफाई नगर्ने जस्ता कारण संक्रमण रोक्न थप चुनौति देखिएपछि त्यसलाई रोक्न निगरानी गर्ने समुह समेत भक्तपुर जिल्लामा परिचालन भएका छन् । त्यसमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा राष्ट्रिय अनुशन्धान, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी, स्वास्थ्य कार्यालयका कर्मचारीले निगरानी गरिरहेका छन् ।

संक्रमितको संख्या बढ्न थालेपछि व्यवस्थापनमा कठिनाई भएकाले मानिसको व्यवहारमा परिवर्तन गर्न नसक्दा संक्रमण नियन्त्रणमा पनि चुनौति बढेको मिजार बताउनुहुन्छ । तर भक्तपुरमा हामीले आवश्यकता अनुसार आइसोलेसन वार्ड बनाएका छौ ।

भक्तपुर जिल्लामा आइसोलसन बेडको संख्या निक्कै राम्रो छ । खरिपाटी तथा नेपाली सेनाको प्रत्यक्ष निगरानीमा होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टर संचालनमा छन् । तर जिल्ला अस्पतालमा पाँच शैयाको आइसियु बाहेक अरु थप बेडहरु संचालनमा छैनन् ।

कोरोनाको हटस्पट बन्दै गएको र सकृय संक्रमितहरुको सख्यामा दैनिक बृद्धि भैरहेको काठमाडौमा रहेका तीनवटा सरकारी कोभिड विशेष अस्पतालसँगै अरु अस्पताल संक्रमितले भरिएका छन् । तर त्यसको विकल्पमा हुन सक्ने भक्तपुरका अस्पतालमा रहेको आइसियु तथा भेन्टिलेटर भने संचालन भएका छैनन् ।

सबैभन्दा धेरै बिरामीको उपचार हुने काठमाडौंका टेकु, वीर र बलम्बु अस्पताल कोभिडका बिरामीले भरिएको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

काठमाडौंमै धेरै संख्यामा कोरोना संक्रमितका बिरामीको उपचार भएको ललितपुरको पाटन अस्पतालमा पनि कोभिडका बिरामीको चाप उच्च रहेको छ । शिक्षण लगायतकाका अस्पतालमा पनि संक्रमितको चाप छ काठमाडौं र ललितपुरमा कोरोना संक्रमितले अस्पताल भरिँदा भक्तपुरमा भने आइसोलेसन बेड तथा आइसियु बेड खाली छन् । तिनीहरुको प्रयोगको तयारीमा लागेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुर जिल्लाका रहेका विभिन्न अस्पतालले पाँच शैयाको बेड भरिएको छ । भक्तपुरमा रहेको २० आईसीयू शैयालाई प्रयोगमा ल्याउने तयारी गरिएको मिजारले बताए। स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट पत्र आएसँगै आईसीयू बेड संचालन गर्न सकिन्छ उनले भने।

भक्तपुरमा १२ वटा भेन्टिलेटर तत्कालै चलाउन सकिने अवस्थामा छन् । मन्त्रालयले अब कोरिया मैत्री अस्पताललाई तत्कालै कोभिड अस्पतालको रुपमा संचालन गर्न सकिने उनले बताए।

भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल दुवाकोटमा सात र नेपाल कोरियामैत्री अस्पताल थिमिमा आठ शैया आईसीयू कोभिड–१९को उपचारका लागि छुट्याइएको छ तर मन्त्रालयको पत्र आएपछि मात्रै प्रयोगमा आउने छन् । तीमध्ये भक्तपुर अस्पतालका पाँच आईसीयू मात्र भरिएका छन् ।

भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्ड खाली छन । भक्तपुरमा एकै पटक सयौं जना बिरामीलाई धान्न सक्ने संस्थागत आइसोलेसन केन्द्रसमेत खाली भएकाले एकै पटक सयौ संक्रमितलाई राख्न सक्ने पूर्वाधार भक्तपुरसँग छ ।

जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन् नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन् । खानेपानी कार्यालयको तेलकोटस्थित तालीम केन्द्रमा २३ आइसोलेसन वार्ड,कृषि विकास बैंकको तालीम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन् । सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्ड, सूर्यविनायक ब्यारेकका ७५, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन्। भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये केही वार्ड खाली नै छन् ।

 सरकारले आइसोलेसन वार्डमा रहेका बिरामीहरुलाई प्रतिदिन एक बिरामी बराबर दुई हजार, आइसियुमा रहेको बिरामीलाई आठ हजार तथा भेन्टिलेटरमा राखेर उपचार गराउने बिरामीलाई १५ हजार उपलब्ध गराउने भएपनि मन्त्रालयबाट पत्र नआउँदा त्यहाँ बिरामी राखेर उपचार हुनसकेको छैन । मन्त्रालयसँग समन्वय भएको र भक्तपुरमा रहेका आइसियु र भेन्टिलेटर समेत प्रयोगमा ल्याउने मिजारले बताएको गोरखापत्रमा केशबराज पौडेलको रिपोर्टमा उल्लेख छ।

ताजा खबर